४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

छात्रालाई निःशुल्क सेनेटरी प्याड

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरण सुरु गरेको छ। महिनावारी भएको अवस्थामा विद्यालय छाड्न बाध्य किशोरीलाई ध्यानमा राखेर नगरपालिकाले ८ देखी १० कक्षामा अध्ययनरत छात्रालाई निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउन सुरु गरेको हो। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माविबाट छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरण सुरु गरिएको हो। नगरपालिकाका मेयर दिपनारायण रिजाल र उपमेयर विणादेवी राईले कालिका माविका छात्रालाई सेनेटरी प्याड वितरण गर्दै अभियानको सुरु गरेका हुन्।  

१५ वटा वडा रहेको नगरपालिकाले २१ वटा मावि र १४ वटा आधारभूत विद्यालयमा पढ्ने ३ हजार ३ सय १० छात्रालाई सेनेटरी प्याड वितरण गरिने नगरपालिकाले जनाएको छ। सम्बन्धित विद्यालयका सम्पर्क व्यक्तिको रूपमा शिक्षिकालाई सेनेटरी प्याड वितरण, भण्डारण, डिस्पोजलगायतका अभिमुखीकरण तालिम दिएपछि प्याड वितरण सुरु गरिएको हो।  

महिनावारी भएको समयमा पनि किशोरीले नियमित विद्यालयमा पुगेर पढ्न सहज होस् भन्ने उद्धेश्यले विद्यालयमै प्याडको व्यवस्था गरिएको नगरपालिकाका शिक्षा शाखा संयोजक तिर्थ विश्वकर्माले बताए। नगरपालिकाको २९ लाख बजेटमध्येबाट पहिलो चरणमा १६ लाखको सेनेटरी प्याड खरीद गरिएको र बाँकी बजेटको पनि प्याड खरिद गरिने नगरपालिकाले जनाएको छ।  

गाउँघरमा महिनावारी भएको समयमा कतिपय किशोरी ३÷४ दिनसम्म विद्यालय नआउने, आए पनि कक्षामा पछाडी बस्ने, लजाउने, अन्ततः कक्षा नै छाडेर घर जाने समस्या रहँदै आएको छ। महिनावारी भएको समयमा सेनेटरी प्याडकै अभावमा कक्षा छाड्न बाध्य छात्रालाई विद्यालयमा नियमित उपस्थित हुने वातावरण निर्माणका लागि निःशुल्क प्याड वितरण सुरु गरिएको उपमेयर राईले बताइन्।  

प्रकाशित: २ चैत्र २०७७ ०२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App