४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

२० वर्ष नपुग्दै बिहे अनि गर्भवती !

नेपालमा २० वर्षमुनिका किशोर–किशोरी र बालबालिकाको विवाह कानुनी रूपमा बर्जित छ । तर, जिल्लामा २० वर्ष उमेर नपुग्दै गर्भवती भएका विवाहित किशोरी र बालिकाको संख्याले समाजमा झाँगिएको बालविवाह र कलिलै उमेरमा भइरहेको गर्भाधारणको निकै जोखिमपूर्ण अवस्था छर्लंङ्ग बनाएको छ ।  

सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउने किशोरी र बालिकाको संख्याले ‘खतरा’को जनाउ दिएपनि तथ्यांक राख्नेबाहेक नियन्त्रणको पहल शून्य छ । गर्भ जाँच गराउन आउने किशोरी–बालिकाको संख्याले समाजमा बालविवाहको अवस्था भयावह देखाउँछ तर कानुनी रूपमा यस्तो विवाह संख्यामा देखिँदैन । विवाहित बालिका गर्भवती भएर जाँच गराउन स्वास्थ्य संस्थासम्म त आउँछन् तर त्यसमा पनि समयमै र नियमित (प्रोटोकलअनुसार) गर्भ जाँच गराउनेभन्दा नगराउनेकै संख्या दोब्बरभन्दा धेरै छ । अधिकतर गर्भवती किशोरी र बालिकाले गर्भको अवधिमा १ पटक, त्यो पनि प्रोटोकलबिनै गर्भ जाँच गराउँछन् । र, किशोरी–बालिका तथा उनीहरूले जन्माउने शिशुमा सबैभन्दा बढी शारीरिक र मानसिक जोखिम हुने कारण पनि यही देखिएको छ ।

२० वर्ष उमेर नपुगी गर्भवती हुनु नै गम्भीर अवस्था हो भने नियमित रूपमा गर्भ जाँच नगर्नु त्योभन्दा गम्भीर शारीरिक र मानसिक रूपमा जोखिम भएको चिकित्सक बताउँछन् । आएका गर्भवती किशोरी–बालिकाको जाँच गर्ने र फर्काउनेबाहेक स्वास्थ्य संस्थाले पनि त्यसको रोकथाम र नियन्त्रणका लागि केही गर्न नसक्दा जोखिम अझ चुलिएको छ ।  

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका स्वास्थ्य संस्थामा चालू वर्षको साउनदेखि माघसम्म २ सय ५५ किशोरी र बालिकाले आफ्नो गर्भ रहेको अवधिमा १ पटकमात्र जाँच गराएका छन् । तर, त्यो पनि प्रोटोकलअनुसार होइन । साउनमा ४४, भदौमा ४५, असोजमा ४३, कात्तिकमा २१, मंसिरमा २८, पुसमा ४४ र माघमा ३० किशोरी र बालिकाले प्रोटोकलबिनै गर्भ जाँच गराएको कार्यालयको तथ्यांक छ । १ सय ९३ किशोरी र बालिकाले पहिलोपटकको जाँच प्रोटोकलअनुसार गराएका छन् भने १ सय ५७ जनाले चारैपटक जाँच गराएका छन् । गर्भवती महिलाले गर्भ रहेको चौथो, छैटौं, आठौं र नवौं महिना गरी कम्तीमा ४ पटक नियमित गर्भ जाँच गराउनु प्रोटोकलअनुसारको जाँच हो ।

 जिल्लाका १० वटै स्थानीय तहमा कानुनविपरीत बिहे भएका किशोरी र बालिका गर्भवती भएर जाँच गराउन सरकारी स्वास्थ्य संस्था आइरहेका छन् । सदरमुकामसमेत रहेको इलाम नगरपालिकामा चालू वर्षको ७ महिनामा सबैभन्दा बढी ६५ किशोरी र बालिकाले गर्भको पूरा अवधिमा १ पटकमात्र गर्भ जाँच गराए । ४१ जनाले प्रोटोकलअनुसार पहिलो जाँच गराए भने ३२ जनामात्रै चारैपटक जाँच गराए । माई नगरपालिकामा गर्भअवधिभर १ पटकमात्र गर्भ जाँच गराउने किशोरी र बालिकाको संख्या ४३ छ । यो नगरमा ४२ जनाले प्रोटोकलअनुसार पहिलो जाँच गराएको र ४२ जनाले चारैपटक जाँच गराएको पाइएको छ ।  

सूर्याेदय नगरपालिकामा ३० किशोरी र बालिकाले १ पटक गर्भ जाँच गराए भने १९ जनाले प्रोटोकलअनुसार पहिलो र १५ जनाले ४ पटक जँचाए । चुलाचुली गाउँपालिकामा २७ किशोरी र बालिकाले १ पटक जाँच गराए । यहाँ प्रोटोकलअनुसार पहिलो पटक जाँच गराउनेको र चारै पटक जाँच गराउनेको संख्या ४२/४२ छ । साउनयता देउमाई नगरमा २१, फाकफोकथुम गाउँपालिकामा २०, माङ्सेबुङ गापामा १८, रोङ गापामा १४, सन्दकपुर गापामा १० तथा माइजोगमाई गापामा ७ किशोरी र बालिकाले गर्भअवधिभर १ पटकमात्र आफ्नो गर्भ जाँच गराए ।  

आर्थिक वर्ष २०७६/०७७ मा जिल्लामा २० वर्षमुनिका ६ सय ५६ किशोरी र बालिकाले गर्भको पूरा अवधिमा १ पटकमात्र जाँच गराएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यो अवधिमा ४ सय ८ जनाले पहिलो जाँच प्रोटोकलअनुसार गराए भने २ सय ६३ जनाले चारैपटक गर्भ जाँच गराएको कार्यालयले जानकारी दिएको छ ।  

तथ्यांकमा गर्भवती किशोरी र बालिकाको संख्या ठूलो देखिएपनि स्वास्थ्य कार्यालय प्रमुख बृजकुमार दास यो संख्या पनि उमेर नपुगी गर्भवती हुनेहरूको कुल संख्या चाहिँ नभएको दाबी गर्छन् । ‘जिल्लाका करिब ४० प्रतिशत गर्भवतीले मात्र जिल्लाभित्रका सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउँछन्,’ उनी भन्छन्, ‘६० प्रतिशत गर्भवती त पहिलो जाँचदेखि प्रसूति हुँदासम्म जिल्लाबाहिरकै स्वास्थ्य संस्था पुग्छन् ।’ प्रमुख दासको भनाइअनुसार गर्भवती भएका किशोरी र बालिका पनि त्यही हाराहारीमा जिल्लाबाहिरका स्वास्थ्य संस्था गइरहेका छन् । उनीहरूको कुनै यकिन तथ्यांक छैन । जिल्लाका स्वास्थ्य संस्थामा २ देखि ३ चोटीसम्म नियमित गर्भ जाँच गराइसकेका कतिपय महिलासमेत प्रसूति गराउने बेला जिल्लाबाहिरका अस्पताल पुग्ने भएकाले प्रसूति भएका महिलाको वास्तविक तथ्यांक आउन नसकेको कार्यालले जनाएको छ ।  

मुलुकी अपराध संहिता–२०७४ को दफा १७३ मा २० वर्ष उमेर नपुगी बिहे गर्नु÷गराउनुलाई बालविवाहको अपराध मानिएको छ । यसरी गरिएको बालविवाह बदर हुने, बालविवाह गर्ने/गराउनेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिमानाको व्यवस्थासमेत छ । तर, यसरी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउने किशोरी र बालिका सबै विवाहित नै भएको कार्यालय प्रमुख दासले बताए । ‘काननुले २० वर्षभन्दा कम उमेरमा बिहे गर्न रोक लगाएपनि यत्रो संख्याका बालिका बिहे भइवरी गर्भवती भएर जाँच गराउन आउनु अनौठो हो,’ उनी भन्छन्, ‘यो तथ्यांकले गाउँमा बालविवाह भइरहेको तर गुपचुप रहेको तथ्य झल्काउँछ ।’

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.प्रभु शाह २० वर्ष पूरा नभई शिशु जन्माउनुलाई निकै गम्भीर र खतरापूर्ण अवस्था ठान्छन् । ‘कानुनले त बर्जित गरेको छ नै, २० वर्ष नपुगी शिशु जन्माउनु शारीरिक र मानसिक हिसाबले पनि निकै खतरापूर्ण हुन्छ,’ उनले भने, ‘उमेर नपुगी बच्चा जन्माउँदा आमा र शिशु दुवैलाई जोखिम हुन्छ ।’ उमेर नपुगी प्रसूति गराउँदा महिला परिपक्व नहुने भएकाले रक्तचाप बढ्ने, काम्ने, बेहोस हुनेलगायतका समस्या पनि देखिनेगरेको उनले बताए ।

प्रकाशित: १३ फाल्गुन २०७७ ०४:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App