नेपाल सरकारको सय वटा गन्तव्यको सूचीमा समावेश गरिएको खोटाङको बराहपोखरीमा तीन वर्षअघि डुंगा परीक्षण हुँदा पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेमा स्थानीय आशावादी थिए। तर बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा रहेको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा सञ्चालनका ल्याइएका डुंगा परीक्षणमै सीमित हुन पुगेको छ। करिब ३३० मिटर लम्बाइ र २१० मिटर चौडाइ भएको बराहपोखरीमा जलयात्रा गर्दै पर्यटक आकर्षित गर्न २०७४ चैत १० गतेदेखि डुंगा सञ्चालनमा ल्याइएको थियो। तर पाइडलले चल्ने तीनवटा डुंगा सञ्चालनमा ल्याइए पनि डुंगा सयरको व्यवस्थाले निरन्तरता पाउन नसकेको स्थानीय बताउँछन्।
परीक्षणमै सीमित हुन पुगेको डुंगालाई व्यवस्थित र नियमित तरिकाले सञ्चालनका लागि हालसम्म पहल हुन सकेको देखिन्न। पोखरीमा सयर गर्न प्रयोग भइरहेको हुनुपर्ने डुंगा हाल अलपत्र अवस्थामा थन्किएको छ। कतिसम्म भने ढुंगामाथि स्थानीयले झ्यास थुपारेका छन्। कार्यकर्तामुखी बजेट वितरणको परिणाम बराहपोखरीको डुंगा फोहोर फाल्ने भाँडो बन्न पुगेको कांग्रेस नेता विष्णुकुमार राईले सामाजिक सञ्जालमा लेखेका छन्। ‘दीर्घकालीन र परिपक्व योजनाको अभावमा केवल आफ्ना कार्यकर्ताको मुख हेर्दाको परिणाम आज जलविहार होइन, फोहर बुट्यान राख्ने भाँडोका रूपमा यी प्लास्टिक डुंगाहरू...!,’ जिविसका पूर्वसभापति समेत रहेका राईले प्रश्न गरेका छन्, ‘मेरो त चित्त कटक्क भयो, जुन निकाय वा व्यक्तिबाट लाखौं बजेट यसका लागि खर्च भयो, यहाँ आएर एकपटक अनुगमन गरे त्यो निकाय वा व्यक्तिको चित्त थामिएला ?’
यसअघि बराहपोखरीका वडाध्यक्ष टंक मगरले डुंगा सञ्चालन कार्यविधि, नियम र समिति बनाएर ठेक्कामा दिने तयारी भइरहेको बताएका थिए। उचित संरक्षण र संवद्र्धनको अभावमा हालसम्म ओझेलमा रहेको बराहपोखरीको पर्यटन प्रवद्र्धनका लागि आव २०७३/७४ मा तत्कालिन सांसद (हाल प्रतिनिधिसभा सदस्य) विशाल भट्टराईको निर्वाचन क्षेत्र विकास कोषबाट विनियोजन गरिएको बजेटमध्ये ६ लाख ५० हजारमा भारतबाट एकपटकमा चार जना अट्ने तीन वटा डुंगा ल्याएर जलयात्राको व्यवस्था मिलाइएको थियो। दुईवटा डुंगा बराहपोखरीमा ल्याउने क्रममा बाटैमा बिग्रिएर मर्मत गरिएको स्थानीय बताउँछन्।
मुहान र निकास हुने ठाउँ नदेखिए पनि बाह्रै मास टम्म पानी हुने विशेषता बोकेको बराहपोखरीमा शंखेश्वर महादेवको दर्शन गर्न आउने दर्शनार्थी एवं घुमफिरमा आउने पर्यटकको मनोरञ्जनका लागि डुंगा सञ्चालनमा ल्याइएको थियो। ४.४६ हेक्टरमा फैलिएको बराहपोखरीलाई डुंगा चलाएर आकर्षक गन्तव्य थलोका रूपमा विकास गर्न नजिकैको राँकुली खोलाबाट पाइपबाट पानी ल्याएर हालिएको थियो।
‘अर्धचन्द्राकार’ बराहपोखरीमा हरेक रामनवमी, शिवरात्री, बालाचतुर्दशी, माघे संक्रान्तिका दिन सतबीज छर्ने चलन छ। ‘मुहान नदेखिने तर कहिल्यै नसुक्ने’ बराहपोखरीको पानी सुरुङबाट निकास हुने गरेको स्थानीय बताउँछन्। सधैं स्वच्छ पानीले भरिभराउ रहने नीलो पोखरी चारैतिर पहाडले घेरिएको उपत्यकाको बीच भागमा रहेका कारण माथिका डाँडाबाट झनै मनमोहक देखिन्छ। मेला भर्न, घुमफिर गर्न, दर्शन गर्न र बराहपोखरीको दृश्यावलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्। विकास, संरक्षण र संवद्र्धन गर्दै जिल्लाकै प्रमुख पर्यकीय स्थलका रूपमा विकास गर्न सकिने सम्भावना बोकेको बराहपोखरीमा पाइने दुर्लभ रातो माछाले समेत पर्यटकको मन लोभ्याउने गरेको छ। बराहपोखरी पुग्न धाप्लाङ–धर्तुङ–बाराहापोखरी सडक सञ्चालनमा रहेको छ।
बराहपोखरीको पानीले स्नान गर्दा रोगव्याधि निको हुने तथा आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक मान्यताअनुसार बराहपोखरीमा दर्शनार्थी तथा धामीझाँक्रीहरूको भिड लाग्ने गर्दछ। दिक्तेलबाट डेढ दिनको पैदल दूरीमा रहेको बराहपोखरीमा विशेषगरी प्रत्येक हरिबोधनी एकादशीको दिन र अघिल्लो दिन ठूलो मेला लाग्ने गरेको छ। सँधै स्वच्छ पानी रहने नीलो पोखरीको पश्चिम किनारामा रहेको शंखेश्वर महादेव मन्दिरको वरिपरी आफ्नो पितृको सम्झनामा भजन कीर्तन र रुद्रीपाठ गर्न पैदल हिँडेरै दर्शनार्थी बराहपोखरी आउने गरेका छन्। खोटाङ बाहेक उदयपुर र भोजपुरबाट दर्शनार्थी आउने मेला अवधिभर बालन र सँगिनी नाच्ने प्रचलन छ।
बालुवाले भरिँदै बराहपोखरी
पर्यटन प्रवद्र्धनको सम्भावना भए पनि वर्षाको समयमा माथि डाँडाबाट झर्ने भलबाढीले बगाएर ल्याएको ढुंगा माटोले बराहपोखरीको आधा भाग ओगटीसकेको छ। छेउबाट ढुंगा, माटो र बालुवाले मिच्दै गएका कारण अहिले पोखरी खुर्पा अर्थात् अर्धचन्द्राकारमा खुम्चिँदै गएको छ। चारैतिर पहाडले घेरिएको र बीचको खाल्डोमा रहेको पोखरीको सुन्दरता र आकार नै बिगार्ने गरी थुप्रिएको ढुंगामाटो पन्छाउन योजना बन्ने गरेको भए पनि काम हुन नसकेको स्थानीयवासीको गुनासो छ। थुप्रिएका ढुंगा, माटो र बालुवा निकालेपछि मात्र बराहपोखरीको वास्तविक आकार र सुन्दरता देख्न सकिने स्थानीयले बताएका छन्।
प्रकाशित: १३ फाल्गुन २०७७ ०४:१२ बिहीबार