माघ अन्तिम सातादेखि कैलालीको मध्यवर्ती क्षेत्रको जंगलमा पाटे बाघले आफ्नो ‘मुभमेन्ट’ बढाउन थालेपछि स्थानीय त्रसित छन्। तर, बाघको ओहोर दोहोर भने त्यस क्षेत्रमा नयाँ होइन्। पुस्तौनीदेखिको बाघको बाटो भएकाले सो क्षेत्रमा आक्कल झुक्कल सिकार खेल्न आइरहने वन्यजन्तु संरक्षणविद्हरु बताउँछन्।
बाघ भारतको दुधुवा नेसनल पार्कहुँदै नेपाल प्रवेश गरेको हुनसक्ने भन्दै बाघका बारेमा जानकारहरु भन्छन्,‘बाघको मुख्य क्षेत्र कैलालीको बसन्ता र कञ्चनपुरको लालझाडी क्षेत्र हो, तर पछिल्लो समयमा बसन्ता क्षेत्रमा बाघको बाटोमा अवरोध आउन थालेपछि सहायक मार्ग हुँदै मसुरिया पुगेको हुनसक्छ।’ पहिले घना जंगल रहेको र वसन्ता जंविक मार्गको बैकल्पिक मार्गका रुपमा रहेको मोहनपुर–मसुरिया मार्गहुँदै यहाँ आइपुगेको हुनसक्ने वन्यजन्तु संरक्षणमा संलग्न सामुदायिक वन समन्वय समिति मसुरियाका अध्यक्ष ओमप्रकाश सापकोटा बताउँछन्। ‘हसुलियाहुँदै मसुरियाको जंगल भनेको बाघको पुस्तौनी बाटो पनि हो,’ उनले भने,‘यो बाटो भएर धेरै पटक बाघ ओहोर दोहोर गरिरहेको रेकर्ड हामीसँग छ।’ यो क्षेत्रमा वर्षौदेखि बाघ रहेको बताउँदै उनले भने,‘मसुरिया क्षेत्रमा वर्षौदेखि बाघ बसोबास गर्दै आएको भए पनि पछिल्लो समयमा बाहिर गएका बाघ पुनः पुस्तौनी बाटो हुँदै आफ्नै ‘एरियामा’ फर्कन थालेका छन्।’ मसुरिया क्षेत्रमा मुख्यगरी तीन ठाउँमा बाघको बसोबास क्षेत्र रहेको बताउँदै उनले भने,‘चुरेसँग जोडिएको राजघाट क्षेत्र, तालबन्द क्षेत्र र अण्डैया क्षेत्रमा बाघ पहिलेदेखि नै बस्दै आएको छ।’ केही समय बाहिर गएका बाघ पुनः त्यही पुस्तौनी बाटो फर्केको हुनसक्ने उनी बताउँछन्। ‘जुन बाटोबाट बाघ अण्डैया क्षेत्रमा पसेको थियो, दोस्रो दिन पुनः त्यहीबाटोबाट पूर्वपश्चिम राजमार्गको दक्षिणी क्षेत्रतर्फ फर्क्यो,’ उनले भने,‘यसबाट पनि के पुष्टिहुन्छ भने बाघ आफ्नो पुस्तौनी बाटोमै फर्केको छ ।’ पुनः बाघले अण्डैया भएर बग्ने खोलामा बेलुकी पानी पिएको बताउँदै उनले भने,‘पहिलो दिन बाघले जुन ठाउँमा आएर पानी पिएको थियो, पुनः दोस्रो दिन पनि त्यसैगरी त्यही ठाउँमा आएर पानी पिएको छ ।’ यो बाघको अभिभावकले खोलामा पानी पिउन जुन बाटो डोर्याएका थिए, त्यहीबाटो पानी पिउन आएको देखिएको उनी बताउँछन्। ‘बाघले गाउँ नजिकैको खोलामा पानी पिएको छ,’ उनले भने,‘यो भन्दा अघि त्यो ठाउँमा बस्ती थिएन, तर अहिले बस्ती बसेको छ।’ बस्ती बस्दा मानिसले बाघको ओहोर दोहोर गर्ने बाटोमा अवरोध गरेका कारण उसले आक्रमण गर्न गरेको हुनसक्ने सापकोटाले बताए।
माघ ३० गतेका दिन कैलारी गाउँपालिकाको दुधियामा देखिएको बाघ दोस्रो दिन मसुरियाको बढैपुर जंगलमा आइपुगेको बताइएको छ। ‘बाघ आफ्नो पुस्तौनी बाटो हुँदै विचरण गर्न यहाँ आइपुगेको हुनसक्छ,’ उनले भने,‘दुधियाबाट बढैपुर र राजिपुरको जंगलको बाटोहुँदै बाघ अण्डैयासम्म आइपुगेको हो।’ पुनः अण्डैयाको जंगलमा एक दिन बसेको बाघ दोस्रोदिन फर्केर पूर्वपश्चिम राजमार्गदेखि दक्षिणतर्फको जंगलमा बसाइँ सरेको उनले बताए। ‘हामीले क्यामेरा ट्रयापिङ गर्दा बाघ अण्डैयाबाट फर्केर राजमार्गदेखि दक्षिणको जंगलमा फर्केको देखियो।’
बसन्ता कोरिडोरको सहायक मार्गका रुपमा रहेको सो जंगलहुँदै बाघ अण्डैयासम्म पुगेको हुनसक्ने राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका संरक्षण अधिकृत डा. रवीन कडरियाले भने,‘भारतको दुधुवा नेसनल पार्कसँग जोडिएको बसन्ता करिडोरको सहायक मार्ग भएकाले पनि बाघको यो पुस्तौनी बाटो हो।’ बाघ आफ्नो पुस्तौनी बाटो हुँदै यहाँ आइपुगेको उनी बताउँछन् । ‘यो जंगलमा पहिलेदेखि नै बाघ थिए, बाघ कहिले यता त कहिले उताको जंगलमा हुन्छन्,’ उनले भने,‘अहिले बाघ पुनः आफ्नै पुख्र्यौली बाटोमा फर्केको छ।’ यो बाघ असोजदेखि नै त्यो ठाउँमा रहेको बताउँदै सापकोटाले भने,‘असोजदेखि बाघ यही ठाउँमा थियो, तर पछिल्लो एक महिना बाहिर गएर पुनः आफूसँगै एक झुण्ड लिएर फर्केको छ ।’ अहिले मसुरिया क्षेत्रमा तीनवटा बाघ रहेको बताउँदै उनले भने,‘चुरेको तालबन्द, अण्डैया र कैलारी गाउँपालिकाको डोङपुर क्षेत्रमा गरेर तीनवटा बाघ यहाँ आइपुगेका छन् ।’ क्यामेरा ट्रयापिङले तीनवटा बाघ देखाएको उनले बताए ।
बाघको मुभमेन्टको अध्ययन गर्न अहिले सो क्षेत्रमा १७ वटा स्वचालित क्यामेरा जडान गरिएको बताउँदै डिभिजन वन कार्यालय कैलालीको डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले भने,‘यो बाघको मुख्य बासस्थान क्षेत्र भएकाले यहाँ आइपुगेको बाघको कहाँ कहाँ मुभमेन्ट भइरहेको छ सो जानकारी लिन क्यामेरा ट्रयापिङमा राखिएको छ ।’ पछिल्लो समयमा एउटा बाघ अण्डैया–मट्कौना र तालबन्दको पेरिफेरिमा रहेको बताउँदै उनले भने,‘हाम्रा सामुदायिक वनका पदाधिकारी तथा त्यहाँका संरक्षणकर्मीका अनुसार तीनवटा बाघ सो क्षेत्रमा रहेका छन् ।’ बाघलाई त्यही जंगलमा छोडिने या अन्त कतै सार्ने भन्नेबारे अहिलेसम्म केही टुंगो नलागेको बताउँदै उनले भने,‘हामीले बाघको मुभमेन्ट मात्रै अवलोकन गरिरहेका छौँ, यदि नरभक्षी बाघ भएमा त्यसलाई त्यहाँबाट हटाउन सकिन्छ, नरभक्षी नभए बाघलाई केही गर्न सकिँदैन ।’
गत आइतबार गौरीगंगा नगरपालिका–५, अण्डैयाकी २५ वर्षीया कला धामीलाई बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट धामीको घटनास्थलमै मृत्यु भएको थियो । स्याउला ल्याउन जंगल गएको बेला उनलाई बाघले आक्रमण गरेर लगेको थियो । त्यसको दुई दिन अघि कैलारी गाउँपालिका–८, दुधियामा स्थानीय २८ वर्षिय दुर्गा चौधरी आक्रमणबाट घाइते भएका थिए । उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
प्रकाशित: ६ फाल्गुन २०७७ ११:३५ बिहीबार