४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

पोखरेली भन्छन्ः ड्याम खोलेको बेला फेवातालको माटो निकाल (तस्बिर सहित)

करिब ३५ हजार घनमिटर माटो निकाल्न सकिन्छः प्राविधिक

ड्याम मर्मतका लागि पानीको सतह घटाएपछिको फेवाताल । तस्बिरः उमेश पुन÷नागरिक

ड्याम मर्मतका लागि यतिबेला फेवातालको जलाशय क्षेत्र घटाइएको छ । पानीको सतह दुई मिटरसम्म घट्ने अनुमान छ । पानीको सतह घटेको यही मौकामा सुख्खा क्षेत्रको माटो निकाल्न सके तालको गहिराइ बढाउन सकिने विज्ञहरुले सुझाएका छन् ।  

ताललाई वर्षेनी सिरान क्षेत्रबाट बगेर आएको ढुंगा, गिट्टी, बालुवाले पुर्दै लगेको अवस्थामा थुप्रिएको माटो किनाल्न सके तालको गहिराई बढाउन सकिने उनीहरुको भनाई छ । तालको माटो निकाल्ने यो नै गतिलो अवसर भएको विज्ञहरुले बताए । वन विज्ञान अध्ययन संस्थान पोखराका प्राध्यापक राजन सुवेदीले जलचरलाई असर नपार्नेगरि माटो निकाल्न सकिने बताए ।  

‘जलचरलाई हानी नहुने गरि तालको सुख्खा क्षेत्रको माटो निकाल्न सकिन्छ । सुरक्षित तरिकाले माटो निकाल्ने यो नै गतिलो अवसर पनि हो,’ सुवेदीले भने, ‘माटो निकाल्न ठुला उपकरण प्रयोग गर्नुहुँदैन । तर, तालका जलचरलाई कुनै प्रभाव नपर्ने गरि माटो निकालेको खण्डमा तालको गहिराई बढाउन सकिन्छ ।’ सिरान क्षेत्रबाट मात्र तालमा वर्षेनी करिब १ लाख ४२ हजार टन गिट्टि, बालुवा र माटो मिसिने अनुमान छ । सिरान क्षेत्रबाट थपिँदै आएको ढुंगा, माटोले ताल पुरिने भएकोले अहिले सुख्खा भएको मौका पारेर निमाल्न सकिने सुवेदीले बताए ।  

तालको पानी शनिबारदेखि घटाउन थालिएको छ । पानीको सतह अझै घटाउने क्रम चलिरहेको छ । पानी घटेको थाहा पाएर ताल हेर्न पुगेका पोखरेलीले पनि तत्काल तालको सुख्खा भएको माटो निकाल्न सक्ने हो भने तालको गहिराई बढाउन सकिने बताए ।  

जलश्रोत तथा सिंचाई विकास डिभिजन कास्कीका प्रमुख इन्जिनियर किरण आचार्यका अनुसार शनिबारदेखि ड्याम मर्मत गर्न थालिएको छ । त्यसका लागि तालको पानी घटाइएको हो । उनका अनुसार एकमहिना अवधि लगाएर ड्याम मर्मत गरिनेछ । आचार्यका अनुसार २०३५ पछि यो फेवातालको ड्याम मर्मत भएको थिएन् । आचार्यका अनुसार ड्याम मर्मत गर्नका लागि मात्र एककरोड रुपैयाँ खर्च हँुदैछ ।

ताल संरक्षण तथा विकास प्राधिकरण, गण्डकी प्रदेश प्रमुख डा. अनुप गुरुङ पनि तालको माटो निकाल्ने गतिलो अवसर भएको बताए । ‘तालको पानीको सतह घटेको बेला पारेर थुप्रिएको माटो निकाल्न सकिन्छ । बजेट भएमा निकाल्न कुनै समस्या हुँदैन,’ गुरुङले भने, ‘थुप्रिएको माटो निकाल्नै नहुने भन्ने हुँदैन । माटो निकाल्दा पुरिएको खण्डमा पानीको आकार बढाउन सकिन्छ । जलाशय क्षेत्रफल नै बढाउने नभई गहिराई भने पक्कै बढ्छ ।’ सुख्खा हुने क्षेत्रको माटो निकाल्दा ताललाई घाटा नभई लाभ नै पुग्न उनले बताए ।  

पर्यटन व्यवसायी पनि तालको माटो निकाल्ने यो नै गतिलो अवसर भएकोले सदूपयोग गर्न सक्नुपर्ने बताउँछन् । ‘ढिलाचाँढो तालको माटो निकाल्नै पर्छ । अहिले सुख्खा भएको बेला पारेर तालको माटो निकाल्ने हो भने गहिराई बढाउन सकिन्छ,’ पोखरा पर्यटन परिषदका अध्यक्ष गोपिबहादुर भट्टराईले भने, ‘यो बेला माटो निकाल्ने हो भने तालको गहिराई बढ्छ । हरेक वर्ष तालमा ठुलो परिमाणमा माटो थुप्रिन्छ । त्यही थुप्रिएको माटो निकाल्ने यो गतिलो अवसर हो ।’

पोखरा महानगरपालिका इन्जिनियर महेन्द्र गोदारका अनुसार यो बेला तालबाट मात्र करिब ३५ हजार घनमिटर माटो निकाल्न सकिन्छ । सुख्खा भएको क्षेत्रलाई मात्र आधार मान्दा पनि ३५ हजार घनमिटर माटो निकाल्न सकिने गोदारले बताए । ‘अरुबेला पानीले भरिएको हुन्छ । अहिले पानीको क्षेत्र घटेको छ । यहीबेला माटो निकाल्ने हो भने तालको गहिराई बढाउन सकिन्छ,’ गोदारले भने, ‘यो हाम्रा लागि गतिलो अवसर पनि हो । भविश्यमा निकाल्दा पनि तालको पानीको सतह घटाउनै पर्ने भएकोले अहिले पानी घटाएको बेला निकाल्ने हो भने सहज हुन्छ ।’  

महानगरका मेयर मानबहादुर जिसी पनि तालको माटो निकाल्ने बारे योजना बनाउन सकिने बताए । ‘बल्ल तालको सतह घटेको छ । अझै चिसो ओभाएको छैन । त्यसैले अहिले नै हतार गर्नुपर्दैन, तर, तालको माटो निकाल्ने अवसर भने आएको छ,’ जिसीले भने, ‘सुख्खा भएपछि हामीले सम्भावनाबारे प्राविधिक लगाएर अध्ययन गर्छाै र आवश्यक परेमा कदम चाल्छौ ।’

प्रकाशित: २५ माघ २०७७ १०:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App