१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

भान्सामा नुन र आयोडिन प्रयोग बढी

नुन र आयोडिन शरीरका लागि अत्यावश्यक सूक्ष्म पोषक तत्व हुन्। यी तत्वबिना शरीरको सन्तुलनमा समस्या आउँछ। तर नेपालमा यी दुवै तत्वको प्रयोगमा असन्तुलन भइरहेको अध्ययन तथा सरोकारावालाले औंल्याएका छन्। आयोडिन सचेतना अभियान महिनाका अवसरमा परिवार कल्याण महाशाखाले सोमबार सञ्चारकर्मीमाझ यस्तो जानकारी दिएको हो।

विश्वभरि फेब्रुअरीलाई आयोडिनको कमीले हुने समस्याबारे सचेतना महिनाका रूपमा मनाइँदैछ। यो वर्ष नेपालले पनि फेब्रुअरीलाई ‘नुन थोरै खाऔं तर सही मात्रामा खाऔं, सही मात्रामा बालबालिका चिन्ह भएको पाकेटको नुन मात्र खाऔं’ भन्ने नाराका साथ आयोडिन सचेतना महिनाका रूपमा मनाउँदैछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै गरेको नसर्ने रोगको जोखिम हेर्ने स्टेप सर्वेक्षण २०१९ का अनुसार नेपालीहरूले औसतमा प्रतिदिन ९.१ ग्राम नुनको खपत गरिरहेका छन्। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक वयस्क व्यक्तिले दैनिक ५ ग्राम नुन मात्र प्रयोग गर्नु उचित मानिन्छ। नुन बढी खानाले नसर्ने रोगको जोखिम बढिरहेको अध्ययनले औंल्याएको छ। नुन बढी प्रयोग हुँदा आयोडिनको मात्रा पनि बढी प्रयोग भएको पाइएको छ।

सामान्यतया एक स्वस्थ व्यक्तिलाई दैनिक १ सय ५० माइक्रोग्राम आयोडिनको आवश्यकता पर्छ। नेपालमा ६७ प्रतिशतले ४० देखि ४८ प्रतिशत पिपिएम आयोडिन बढी खाइरहेको तथ्यांकले औंल्याएको छ।  

मापदण्डअनुसार ५९ महिनाभित्रका बालबालिकालाई ९० माइक्रोग्राम, ६ देखि १२ वर्षभित्रका बालबालिकालाई १ सय २० माइक्रोग्राम, वयस्कलाई २ सय ५० माइक्रोग्राम आयोडिनको मात्रा आवश्यक पर्छ।

तथ्यांकअनुसार नेपालमा ९० प्रतिशत घरपरिवारले आयोडिनयुक्त नुनको प्रयोग गरिरहेका छन्। सन् २०१६ मा नेपाल नेसनल माइक्रोन्युट्रिन्ट स्टाटस सर्वेक्षणअनुसार नेपालमा उपयुक्त मात्रामा आयोडिन खपत गरिरहेको जनाएको छ। पिसाबमा निष्कासन हुने आयोडिनको निर्धारित बिन्दुको सर्वेक्षणबाट नेपालमा आयोडिन प्रयोगमा सुधार आएको आंैल्याएको हो। नुनको मात्रा बढी भए शरीरमा उच्च रक्तचाप, मस्तिष्कघात, मिर्गौलाका रोगजस्ता नसर्ने रोग बढिरहेको र आयोडिनको बढी प्रयोगले नेपाली महिलामा हाइपोथाइरोडिजमको समस्या बढिरहेको पोषण शाखाका प्रमुख केदार पराजुली बताउँछन्। ‘तीन वर्षअघि नेपालमा इन्डोक्राइनोलोजिस्टहरूले गरेको एक अध्ययनमा नेपालमा नुनसँगै बढी खाइने आयोडिनको मात्राले हाइपोथाइरोडिजमको समस्या बढेको पाइएको छ,’ उनले भने।

यी दुवै पोषक तत्व सन्तुलन मिलाएर खाए मात्र स्वस्थ बन्न सकिने भएकाले उचित मात्रामा नेपालमा उत्पादन भएको साल्ट टे«डिङ कम्पनीको दुई बालबालिका चिह्न अंकित आयोडिन नुनको प्रयोग गर्न परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले बताए। कतिपय देशमा आयोडिनको मात्रा खाने कुरामा पाइन्छ। परिवार कल्याण महाशाखा, पोषण शाखाका प्रमुख केदार पराजुलीका अनुसार नेपालको भूबनोटका कारण प्राकृतिक खानामा आयोडिनको मात्रा नपाइने भएकाले नुनमै आयोडिन मिसाएर बिक्री गरिएको छ। खानामा नुन राख्दा सुरुमै राख्न नहुने र खाना पाक्ने बेलामा मात्र राख्नाले आयोडिन उडेर जाँदैन। त्यसैगरी नुन भण्डारण गर्दा पनि बट्टामा राम्रोसित बिर्को लगाएको हुनुपर्छ।

शरीरमा अटोइम्युन, हाइपरथाइरोडिजमजस्ता रोग लाग्ने भएकाले दुवैको सन्तुलन हुनेगरी नुनको प्रयोग गर्नु उचित भएको पोषणविद्हरू सुझाउँछन्। उनीहरूका अनुसार आयोडिनको अभावमा हुर्केका बालबालिका शारीरिक रूपमा होचा र मानसिक रूपमा सुस्त हुन्छन्। त्यसैगरी आयोडिनको कमीले गर्भ तुहिने, मृत बच्चा जन्मिने, शारीरिक रूपमा विकलांग हुने, पढाइमा कमजोर र सुस्त मनस्थिति हुनेजस्ता समस्या हुन्छ। नेपालमा आयोडिनसहितको नुन प्रयोगकर्ता ९० प्रतिशत घरपरिवारमा पुगिसकेको र पुनः यो दर नघटोस् भनेर सरकारले हरके वर्ष आयोडिन अभियान जारी राखेको पोषण शाखाले जनाएको छ।

प्रकाशित: २० माघ २०७७ ००:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App