पूर्वविज्ञान तथा वातावरण सहायकमन्त्री लाल बहादुर विश्वकर्मा ब्रेन स्ट्रोक (मस्तिष्कघात) ले सिकिस्त भएका छन्। उनको हाल त्रिपुरेश्वर स्थित ब्लुक्रस हस्पिटलमा उपचार भइरहेको छ। गत बुधबार राति बेन स्ट्रोक भएपछि सुरुमा वीर अस्पताल र त्यसपछि ब्लुक्रसमा पुर्याइएको थियो।
ब्रेन स्ट्रोकको कारण गम्भिर भएका बिश्वकर्मा बोल्न र हिंड्न नसक्ने भएको पारिवारिक स्रोतले जनाएको छ। मस्तिष्कघातको कारण बोल्न नसक्ने भएका र मेरुदण्डमा रहेको चोटको कारण हिंड्न नसक्ने विश्वकर्मालाई आइसियुमा भर्ना गरी उपचार भइरहेको छ। वीरमा सुरुमै शैय्या नपाएपछि ब्लुक्रस अस्पताल पुर्याइएको थियो। जटिल समस्या भएको कारण उनको उपचार खर्च पनि बढिरहेको अवस्थामा खर्च अभाव भइरहेको उनका ज्वाइँ कमल विश्वकर्माले शुक्रवार नागरिकलाई बताए। विश्वकर्मा आजिवन देश र जनताको सेवामा होमिएको कारण उनको खर्च राज्यले बेहोर्नु पर्ने परिवारको माग छ।
विश्वकर्मा पाँच दिन अघि नेकपाको केन्द्रीय वैठकमा सहभागी हुनको लागि राजधानीमा आएका थिए। सोही क्रममा राति सुतेको बेला बे्रन स्ट्रोक भएको थियो। २०२९ सालदेखि निरन्तर राजनीतिमा होमिएका बिश्वकर्माको स्थायी घर कन्चनपुर हो। ४८ बर्षदेखि राजनीतिमा सक्रिय विश्वकर्मा २०५६ सालमा राष्ट्रिय सभाका सांसद र ०६१ सालमा वातवरण तथा जनसंख्या सहायक मन्त्री बनेको थिए। बिश्वकर्माले पूर्व एमाले तथा हालै विघटित नेकपाको बिभिन्न विभागमा मुख्य जिम्मेवारीको रुपमा भूमिका निर्वाह गरेका छन्।
प्रकाशित: २७ पुस २०७७ ०६:५४ सोमबार