१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

प्रहरीमा गुणस्तरहीन कपडा खरिद भएको पुष्टि

नेपाल प्रहरीको लत्ता कपडा खरिद स्वीकृत नमुनाभन्दा फरक गरिएको पुष्टि भएको छ। नेपाल प्रहरीलाई आवश्यक उलन पाइन्टको कपडा बीस हजार मीटर खरिद गर्दा स्वीकृत नमुनाभन्दा फरक गरिएको पुष्टि भएको हो। प्रहरीकै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गरेको अनुसन्धानका क्रममा टेण्डरको क्रममा दिइएको नमुनाभन्दा कमसल कपडा ल्याएर भण्डारणमा दाखिला गरेको पुष्टि भएपछि त्यसका आपूर्तिकर्ता क्राउन टेक्सटाइल्स इण्डष्ट्रिज प्रालिका सञ्चालक पिताम्बर मुन्का र प्रतिनिधि नरेन्द्र नाथ पौडेललाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ।  

सिआइबी प्रमुख डिआइजी सहकुल थापाले प्रहरीले लगाउने गरेका कपडा गुणस्तहीन भएको गुनासो आएको र त्यसको अनुसन्धान गर्ने क्रममा उलन पाइण्टको कपडामा स्वीकृत नमुना नै फरक परेको पाइएपछि उनीहरूलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको बताए। ‘धेरैपटक कपडा गुणस्तहीन भएको गुनासो आयो जस्ले गर्दा सिआइबीको ध्यान गएको र अब सबै प्रकारको कपडा खरिदको नमुनासहित परीक्षण गरी अनुसन्धान गरिनेछ,’ डिआइजी थापाले भने। 

‘लत्ताकपडा खरिदमा कमिसन र गुणस्तहीन कपडा खरिद’ शीर्षकमा नागरिक दैनिकले २०७६ फागुन २५ गते र २०७६ फागुन ३० गते समाचार प्रकाशित गरेको थियो। सो समाचारपछि तत्कालिन एसएसपी बसन्त पन्तको संयोजकत्वमा छानवीन समिति समेत बनेको थियो। सो समितिले पनि लत्ता कपडा गुणस्तरहीन भएको निष्कर्ष निकालेको थियो। पन्त्को बढुवा भएपछि पनि सो समितले निरन्तर अनुसन्धान गरिररहेको थियो। समितिले साउनदेखि सबै कपडाको गुणस्तर परीक्षण गर्दै निगरानीमा राखेको थियो जसका कारण प्रहरी प्रधान कार्यालयले दिएको प्रतिवेदनको आधारमा सिआइबीले थप अनुसन्धान शुरु गरेको थियो।  

सिआइबीका अनुसार टेक्सटाइल्स इन्डस्ट्रिज प्रालिका प्रतिनिधि नरेन्द्रनाथ पौडेलले रोहवरमा राखी नमुना निकाली परीक्षण गर्न २०७७ साउन ३० गते एसजिएस चेन्नाईमा पठाएको थियो। तर २०७७ साउन ३२ सो फर्मका प्रतिनिधि पौडेलले नेपाल प्रहरी संगठनको नाम, जिम्मेवार अधिकृतको नाम, मोबाईल आर्थिक वर्ष २०७३ तथा ०७४ सालमा आफू खुशी दोश्रो नमूना पठाई प्रहरी संगठनलाई नै जालसाजी गरेका थिए। प्रहरीले पठाएको भन्दै अर्कै नमूना पठाएर उनले प्रहरीको भण्डारण शाखामा बुझाएको कपडालाई गुणस्तीय पुष्टि गराउन खोजेका थिए। 

प्रतिनिध पौडेलले नेपाल प्रहरीको भण्डारण शाखा र क्राउन टेक्सटायलका मालिक पिताम्बर मुन्काको आदेशमा प्रहरीले पठाएको नमूनाभन्दा अर्को नमुना पठाएर ठगी गरेको खुलेको थियो। पौडेलसहित सञ्चालक मुन्कालाई पक्राउ गरेपछि प्रहरीले त्यतिबेला प्रबन्ध शाखा र भण्डारण शाखामा काम गर्ने प्रहरी अधिकारीहरूलाई पनि अनुसन्धान शुरु गरिएको छ। सिआईबीका प्रमुख डीआइजी थापाका अनुसार आर्थिक वर्ष २०७३ तथा ७४मा उलन पाइन्टको कपडा बीस हजार मीटर खरीद गर्न बोलपत्र आह्वान गरिएकोमा क्राउन टेक्सटाइल्सले प्रति मिटरको १ हजार ८२ रूपैयाँका दरले २० हजार मिटरको कर बाहेकमा दुई करोड़ सोह्र लाख चालिस हजार खरीद गर्ने सम्झौता गरेको थियो। सोही कपडामा उनले स्वीकृत नमुनाभन्दा कमसल खालको कपडा दिएर नेपाल प्रहरीमा ठगी गरेका थिए।  

लत्ताकपडा खरिदमा मात्रै प्रहरीले ७३ करोड रूपैयाँको टेन्डर गरेको थियो। लत्ताकपडाको नमुना परीक्षण नेपालको नापतौल तथा गुणस्तर विभागमा हुँदैन। भारतको इन्टरटेक प्राइभेट लिमिटेडमा परीक्षण गराइन्छ। भण्डारण शाखाले सामान पठाउँदा त्यहाँ सिलबन्दी गराउँदैन। जुन ठेकेदार कम्पनीले सामान बुझाएको हो, उसैलाई नमुना परीक्षणका लागि भारत पठाइन्छ। ‘ठेकेदारलाई नै नमुना परीक्षणका लागि सामान पठाउँदा उसले कस्तो रिपोर्ट लिएर आउला सहजै अनुमान गर्न सकिन्छ अहिले त्यसको पुष्टि भएको छ त्यहाँका कर्मचारी पनि दोषी छन्,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो। स्रोतका अनुसार प्रहरी प्रबन्ध शाखामा रहेका कर्मचारी र ठेकेदारबीच मिलेमतो हुने गरेका कारण प्रहरी कर्मचारीले स्वीकृत नमुनाअनुसार विगत तीन वर्षदेखि कपडा पाएका छैनन्। 

पिताम्बर मुन्काको क्राउन टेक्सटाइल कम्पनीले तयार गरेको कटन पाइन्ट, उलन सर्ट, उलन स्वेटरको गुणस्तर परीक्षण गर्न सुन्धरास्थित एक कुरियरबाट भारत पठाइएको थियो। जसको रिपोर्ट तीन दिनभित्रै आएको थियो। जबकि कुलिङ पिरिएड नै २४ घण्टाको हुने थियो। त्यो पनि नकटाइ रिपोर्ट बुझाएर भुक्तानी लिएका थिए।  

गत वर्ष प्रधान कार्यालयले जय सलिना इन्टरप्राइजेज र जय श्री सप्लायर्सले २१ लाख ५१ हजार जोर सर्टपाइन्टको कपडा प्रतिमिटर एक सय ८० रूपैयाँका दरले आपूर्ति गर्ने भनी प्रस्ताव गरेको बोलपत्र स्वीकृत गरेको थियो। ३८ करोड ७३ लाख ६० हजार रूपैयाँको सो ठेक्कामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकै बेला फेरि यस वर्ष पनि जय सलिनालाई डिएसएम बुटको ठेक्का दिइएको थियो। सलिनाकै सेटिङमा तेजसम इन्टरप्राइजेजलाई उलन स्वेटर, क्राउन टेक्सटाइललाई कटन पाइन्ट र उलन सर्टको ठेक्का दिइएको थियो। 

गुणस्तर तथा नापतौल विभागले निर्धारण गरेको मापदण्डसमेत पूरा नगरेको र ठेक्कामा उल्लिखित सामान नै दाखिला नगरी भुक्तानी लिएको तथा गुणस्तहीन सामान आपूर्ति गरेको विषयमा अख्तियारले जयसलिनामाथि छानबिन गरिरहेको तथा क्राउन टेक्सटायलको विषयमा पनि अख्तियारले अनुसन्धान गरिरहेको बेला प्रहरीले गरेको अनुसन्धानमा क्राउन टेक्सटायलको बद्मासी देखिएको छ।

प्रहरीले उनीहरूसँग बयान लिनेक्रम जारी राखेको छ। प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी वसन्तबहादुर कुवँरले बयान लिने कार्यजारी भएको बताए। सिआइवीले लत्ता कपडा खरिदको बद्मासीबारे छानवीन गरिरहेको पनि उनले बताए। ‘खरिदको क्रममा बद्मासी गर्ने ठेकेदार वा कर्मचारी जोसुकै भए पनि उम्किनेछैनन उनीहरूलाई पनि कानुनी दायरामा ल्याएनेछ,’ प्रवक्ता कुँवरले भने।

प्रकाशित: १८ पुस २०७७ ०२:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App