मंसिर शुक्ल पूर्णिमाको दिन बुधबार नेवार समुदायले घर घरमा योमरी पकाएर योमरी पुन्ही (पूर्णिमा) मनाए । संस्कृति महत्व बोकेको मिठो परिकार एक दिन मात्र हैन, वर्षभरीका चाडपर्व र संस्कृतिमा निकै महत्व रहेको संस्कृतविद ओम धौभडेलले बताए ।
‘योमरीको महत्व एक दिन मात्र हैन वर्षभरी नै त्यत्तिकै रहन्छ,’ उनले भने, ‘जन्मदेखि विभिन्न जात्रा, पूजा र कलासंस्कृतिका गतिविधमा यसको स्थान निकै माथि छ ।’ नेवार समुदायमा बालबालिको जन्मदिनमा योमरीको माला लगाउने प्रचलनले पनि यसको महत्व बुझाउँछ । दुई वर्षको हुँदा २ वटा, ४ वर्षको हुँदा ४ वटा गर्दै १२ वर्षको हुँदा १२ वटा योमरीको माला लगाउने चलन कायमै रहेको उनको भनाइ छ ।
चाकु र खुवाले भरिने योमरी जन्मदिनको बेलामा भने अक्षताले भरिने गरेको उनले बताए । ‘जन्मदिनको अवसरमा बनाइने योमरी भित्र रहेको अक्षताको पाँच दानाले पन्चतत्वको झलक दिन्छ,’ उनले भने, ‘योमरी भित्र प्राण छ, त्यसैले पनि परम्परादेखि नेवारी संस्कृतीमा योमरी जीवित छ ।’
जाडोको समयमा शरीर तताउने पोषिलो आहाराको रूपमा लिइने योमरीले महामारीसँग लड्ने क्षमता राख्ने उनले बताए । ‘नेवारी संस्कृतिमा रितु अनुसारको परिकार पाक्छ,’ उनले भने, ‘योमरी प्रतिरोधी क्षमता बढाउने परिकार पनि हो ।’ योमरी छोरी चेलीको घरमा पुर्याउने चलन पनि छ । त्यसैगरी योमरी मागेर खाने चलन पनि कायमै छ ।
घर घरमा चामलको मिठो रोटी (यो मरी) टोल–टोलमा बासुरीको सुरीलो धुन । मौलिक पहिरनमा साजिएका युवा–युवातीले नेवार गीत गाउँदै योमरी माग्दा उनीहरूको वस्तीमा खुसी छाउने उनको भनाइ छ ।
योमरी सबैलाई मनपर्छ । योमरीको अर्थ सबैलाई मन पर्ने रोटी पनि हो । नेपाल भाषामा ‘यो’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी र मिठाइ हो । सबैले मनपराउने भएकालाई यसलाई योमरी भनिएको बताइएको छ । ‘यो’ प्राय त्रिकोण आकारमा निर्माण हुन्छ । सुरुमा मायो तथा बायो भनेर योमरी बनाउने चलन छ । मायो अर्थात् आमालाई मन पर्ने अनि बायो अर्थात बाबालाई मन पर्ने रोटीको रूपमा पनि यसलाई लिइन्छ ।
योमरीलाई धार्मिक सद्भावको रूपमा समेत चित्रण गर्ने धौमडेलको भनाइ छ । योमरी खुवाउने परम्परा रहेको यो पर्वलाई माया, प्रेम र करुणा आदान प्रदानको रूपमा पनि लिने गरिएको छ ।
प्रकाशित: १७ पुस २०७७ ०१:४८ शुक्रबार