५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सिद्धबाबाको सफाइ उपर पुनरावेदन गर्ने तयारी

आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीलाईं जिल्ला अदालत सुनसरीले सफाइ दिएको विषयमा सरकारी वकिल कार्यालयले फैसला उपर पुनरावेदन गर्ने भएको छ।  

जिल्ला सरकारी वकिल कार्यालयले सोमबारको पेसी सार्न माग गर्दै निवेदन दिएपनि आरोपित पक्षको मात्र बयान सुनेर एकतर्फी सुनुवाईकै आधारमा फैसला गरेपछि पुनरावेदन गर्ने तयारी गरेको हो । सोमबार जिल्ला न्यायाधीश अर्जुनकुमार कोइरालाको इजालसले बलात्कारजस्तो जघन्य अपराधका आरोपित त्यसमाथि सर्वोच्च अदालतले थुनामै राख्न आदेश दिएको १० दिनमै जिल्ला अदालतले सफाइ दिएको थियो। जिल्ला अदालतले अभियोग दावी पुष्टि हुने प्रमाण नपुगेकाले गर्दा सफाइ दिएको ठहर गरेको छ।  

जिल्ला सरकारी वकिल कार्यालयका न्ययाधीवक्ता गोकुल निरौलाले फैसलाको पूर्णपाठ आएपछि अध्ययन गरेर पुनरावेदन गर्ने बताए। ‘फैसलाको पूर्णपाठ आउन अब केही दिन लाग्ला त्यसपछि पुनरावेदन गरिनेछ,’ निरौलाले भने। अदालतको तल्लो निकायबाट भएको फैसला चित नबुझेमा माथिल्लो निकायमा पुनरावेदन गर्ने अधिकार हुन्छ।  

फैसलाको पूर्णपाठ सातदेखि दश दिनभित्रमा बढीमा १५ दिनभित्रमा आइसक्ने अदालतका श्रेष्तेदार नगेन्द्रकेशरी पोखरेलले बताए। उनले सरकारी वकिल कार्यालयबाट पेसी सार्न निवेदन आएपनि बेञ्चले मानेपछि सार्न नसकिएको बताए। ‘निवेदन आएको कुरा श्रीमानलाई देखाइदिएकै हो,’ उनले भने, ‘श्रीमानले मुद्दा टुंग्याउनुपर्छ हामीले भन्ने कुरा केही रहेन्।’ सिद्दबाबाले आफूलाईं छाड्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा निवेदन दिएपछि महान्याधिवक्ता कार्यालयमा पठाएको मुद्दाको मिसिल जिल्ला सरकारी वकिल कार्यालयमा फिर्ता नभएपछि पेसी सार्न माग गरिएको थियो।  

जिल्ला अदालतको न्यायप्रति महान्यायाधिवक्ता कार्यालयले पनि गम्भीर आपत्ति जनाएको छ । महान्यायाधिवक्ता अग्नि खरेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई भेटेर आपत्ति जनाएका हुन्। पीडित महिलाले पनि प्रधानन्यायाधीसको सचिवालयमा पुगेर न्यायका लागि याचना गरेकी छन्।  

गिरीले आफ्नै अनुयायीलाई आश्रममा बोलाएर बलात्कार गरेको घटनामा शुरुमा २०७६ कार्तिकमा काठमाडौं प्रहरी परिसरमा उजुरी परेको थियो।  त्यसपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले घटनाबारे अनुसन्धान गरेर जिल्ला प्रहरी कार्यालय सुनसरीलाई जिम्मा दिएको थियो। प्रहरीले कृष्णदासलाई पक्राउ गरेर अनुसन्धान थालेपनि बिरामी भएको वाहाना गरेर विराट नर्सिङ्होम विराटनगरमा भर्ना भए ।  

उनी अस्पतालमै भएका वेला तत्कालिन जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीले तीन लाख धरौटीमा रिहा गर्न आदेश दिए। त्यस आदेश उपर जिल्ला सरकारी वकिलको कार्यालयले अघिल्लो वर्षको पुस २२ गते उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको थियो । जसमा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको संयुक्त इजलासले कृष्णदासलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । उच्च अदालतले गर्ने आदेशकै दिन उनी आफ्नो सुरक्षा गार्डलाई जोगवनी छेउमा छाडेर भारत भागेका थिए। पछि अदालतमा हाजिर भएर क्षेत्रीय कारागार झुम्कामा चलान गरिएको थियो। पछिल्लो समय उनले सर्वोच्च अदालतमा आफुलाई छाड्नुपर्ने माग राखेर निवेदन दिएकोमा थुनामै राख्न आदेश दिएको थियो।  

पकट पटक विवादमा

बराहक्षेत्रलाई धार्मिक तीर्थस्थलको रुपमा विकास गर्दै हरित क्रान्ति, आयुर्वेद, गौपालन, आयुर्वेद विश्वविद्यालय, योग केन्द्र, जडिबुटी प्रशोधन र उत्पादन गर्ने बहानामा चतरामा आश्रममा बस्दै आएका गिरीको बलात्कार काण्ड मात्र पहिलो होइन्।  यसअघि थुप्रै विवादमा पर्दै आएका थिए।  

त्यसो त गिरीले दुई वर्षअघि इटहरीको बालग्रामका दुई बालिकालाई आश्रम पठनपाठनको व्यवस्था मिलाई दिने भनी अभिभावकको स्वीकृतिमा लगे। तर, बालिकाले आश्रममा गएको केही महिनापाछि बस्न मानेनन्। बालिकाले यौन दुव्र्यवहारकै कारण बस्न नमानेको त्यतिबेला ठहर गरिएको थियो। त्यसपछि सञ्चालक समितिका पदाधिकारीसँग गिरीले भारतमा लगेर पढाए आफूले सहयोग गर्ने बचन दिए। गिरीकै योजना अनुसार भारतमा पढाउन लगिएको थियो। त्यो घटना मिलाउन स्थानीय राजनीतिक दलका नेता र सामाजिक अगुवा समेत सक्रिय भएका थिए।  

गिरीले दुईवटा नेपाली नागरिकता लिएको खुलेको छ। सोलुबाट कृष्णबहादुर गिरीको नाममा झिकेको नागरिकतामा जन्म मिति २०३० साल मंसिर १० गते लेखिएको छ। चतरामा बस्न थालेपछि उनले २०६५ साल पुस १७ गते सुनसरीबाट श्री बैष्णव कृष्णदासका नाममा नागरिकता लिएका छन्। दुवै नागरिकतामा जन्मस्थान जुबु सोलू र बुबाको नाम भने छबिलाल गिरी नै लेखिएको छ। अन्य विवरण भने फरक छन्।

दुई वटा नागरिकता लिएको विषयमा चार वर्षअघि जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी समेत परेको थियो। त्यतिबेला उजुरी परेको तत्कालिन प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईले पुष्टि गरेका थिए। तर, दुईवटा नागरिकता लिएकोमा विषयमा नियमनकारी निकायले कुनै अनुसन्धान नगरि छाडि दियो।

०६८ सालमा कृष्णदासले आफन्त सहितका १० जना नेपालीलाई अबैध बाटोबाट सिंगापुर पठाइदिने भन्दै भारतीय एजेन्टहरुको सहयोगमा दिल्ली पुर्यााएका थिए। दिल्लीमा लगेर उनले ती सबैलाई केही दिनसम्म अलपत्र पारी सिंगापुर ट्रेनिंङको नाममा जान दवाब दिइएको थियो।  

गिरीको कनेक्सन देशका शीर्ष व्यक्तित्व, हिन्दु धर्मवालम्बीसँगै कुटनीतिज्ञ नियोगका प्रमुखसँग रहेको छ। राष्ट्रपति, प्रधानमन्त्री, उच्च ओहोदाका कर्मचारी, नेता, मन्त्री र भारतीय अधिकारी लाई समेत प्रभावमा पार्न सक्षम उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई त दुईपटक डाकेका थिए।  

उनले शुरुवातमा वैष्णव कृष्णदास महाराज भनेर चिनाउने गर्थे। पछिल्लो समय सिद्धबाबा जगतगुरु कृष्णदासजी महाराजको रुपमा चिनिदै आएका थिए। तर, उनको आधिकारिक योग्यता र पहिचान के हो ? भन्ने नजिकको अनुयायीले पनि बताउँन सक्दैनन्। कुनै पनि विषयमा आधिकारिकरुपमा अध्ययन गरेको प्रमाणपत्र उनले सार्वजनिक गर्न चाहदैनन्।

 

प्रकाशित: २४ मंसिर २०७७ ११:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App