५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

एकतर्फी बहस गराएर बलात्कार आरोपी सिद्धबाबालाई अदालतबाट सफाई

आफ्नै महिला अनुयायीलाई बलात्कार गरेको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका सिद्धबाबा भनिने कृष्णदास गिरीले सफाई पाएका छन्।

उनलाई आज जिल्ला अदालत सुनसरीको १ नम्बर न्यायाधीश अर्जुन कोइरालाको एकल इजलाशले सफाई दिएको हो। इजलाशमा बहस प्रतिवादीतर्फका वकिलहरुको मात्र एकतर्फी गराएर फैसला दिएकोले विवादित भएको छ। सरकारी वकिलको कार्यालयले भने मिसिल नभएको कारण देखाउँदै पेशी हटाउन निवेदन दिएको थियो। तर, न्यायाधीश कोइरालाले अस्वीकार गर्दै एकतर्फी बहस गराएर सफाई दिएका हुन्। उनको फैसलाप्रति सरकारी वकिलको कार्यालयले असन्तुष्टि जनाएको छ।  

सरकारी वकिल गोकुल निरौलाका अनुसार गत साता मात्र सर्वोच्च अदालतले गिरीको मुद्दाको सन्दर्भमा पुर्पक्षबाट रिहा नहुने फैसला गरेको थियो। यो मुद्दाको मिसिल सर्वोच्चबाट आइनपुगेको कारण पहिलो पटक पेशी हटाउन सरकारी वकिलको कार्यालयले निवेदन दिएको थियो। तर, १ नम्बर न्यायाधीश कोइरालाले निवेदन अस्वीकार गर्दै प्रतिवादीहरुको मात्र एकतर्फी बसह गराएको उनले बताए। ‘फैसला भयो रे भन्ने सुन्यौं। हामीले त मिसिल नभएकोले पहिलो पटक पेशी हटाउन माग गर्दै निवेदन दिएका थियौं, तर अस्वीकार भएछ। मिसिल नभै कसरी बहस गर्न जानु?’सरकारी वकिल निरौलाले भने,‘सरकारी वकिल गएनौं, पीडित पक्षका कोही पनि वकिलहरु जानु भएन। प्रतिवादीको तर्फबाट मात्र एकपक्षीय बहस भयो।’

कानुन व्यवसायीहरुका अनुसार मुद्दाको सन्दर्भमा ३ पटकसम्म पेशी हटाउन पाउने कानुनी व्यवस्था छ। यो प्रकरणमा सरकारी वकिलको कार्यालयले कारण प्रष्ट खुलाएर पहिलो पटकलाई पेशी हटाउन निवेदन दिएको थियो। तर, न्यायाधीश कोइरालाले सिधै अस्वीकार गरेर सफाई दिने काम गरेको बताइएको छ। ‘योजनावद्धरुपमा सफाई दिने काम भएको हो,’एक कानुन व्यवसायीले भने।

 

 

प्रकाशित: २२ मंसिर २०७७ १२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App