४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

‘भ्रष्टाचार देशको सबैभन्दा ठूलो समस्या’

अधिकांश नेपालीले देशको सबैभन्दा ठूलो समस्याका रूपमा भ्रष्टाचारलाई औंल्याएका छन्। ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) एसियाले गरेको एक अध्ययनअनुसार नेपालका ८४ प्रतिशत जनताले भ्रष्टाचार देशका लागि ठूलो समस्या भनी सोच्ने गरेका छन्। ५० प्रतिशत नेपालीले राष्ट्रपति, प्रधानमन्त्री नै भ्रष्टाचारी रहेको भनी विश्वास गर्ने गरेको अध्ययनले देखाएको छ। अध्ययन प्रतिवेदनअनुसार नेपालमा एक वर्षको अवधिमा भ्रष्टाचार निकै बढेको छ।

टिआई ग्लोबल करप्सन ब्यारोमिटर अनुसार ५८ प्रतिशत नेपालीले भ्रष्टाचार बढेको बताएका हुन्। ‘एक वर्षमा भ्रष्टाचार झन् बढेको छ। एसियाली मुलुकमध्ये सबैभन्दा बढी जनताले भ्रष्टाचार बढेको विश्वास गर्ने देश रहेको’ भनी नेपालीले नै बताएको ट्रान्सपरेन्सी इन्टरनेसनल एसियाले जनाएको छ। २३ प्रतिशत जनताले भ्रष्टाचार घटबढ नभई उही स्तरमा रहेको विश्वास गरेको पनि प्रतिवेदनमा उल्लेख छ। १८ प्रतिशत जनताले मात्रै भ्रष्टाचार घटेको मानेको प्रतिवेदनमा बताइएको छ।

४३ प्रतिशत नेपालीले सांसद र सरकारी अधिकारीहरू भ्रष्ट रहेको जवाफ दिएका छन्। स्थानीय तहका अधिकारीहरू भ्रष्ट रहेको भनी सोच्ने नेपाली ४० प्रतिशत छन्। त्यसैगरी २८ प्रतिशत जनताका अनुसार प्रहरी भ्रष्टाचारी हुने भन्ने गरेको अध्ययनले देखाएको छ। १२ प्रतिशत जनताले सार्वजनिक सेवा लिँदा कुनै न कुनै रूपमा घुस खुवाउनुपरेको बताएका छन्। २९ प्रतिशतले सार्वजनिक सेवा लिँदा भनसुन गर्नुपरेको उल्लेख गरेका छन्। १३ प्रतिशत जनतालाई भोटका लागि पनि घुस खुवाइएको भन्ने प्रतिवेदनमा समेटिएको छ। ७ प्रतिशतले सार्वजनिक सेवा लिँदा यौन दुव्र्यवहार भएको बताएका छन्।

६२ प्रतिशत नेपालीले भने भ्रष्टाचार नियन्त्रण गर्न सरकारबाट राम्रो काम भइरहेको भनेर विश्वास गरेको प्रतिवेदनले जनाएको छ। ३७ प्रतिशतले भ्रष्टाचार नियन्त्रणसम्बन्धी सरकारी पहल खराब रहेको बताएका छन्। ६८ प्रतिशतले भ्रष्टाचारविरुद्ध लड्न सामान्य मानिसले उल्लेख्य काम गर्न सक्ने बताएका छन्। ट्रान्सपरेन्सीले एसियाका १७ देशमा भ्रष्टाचारको स्तर तथा सार्वजनिक सेवाको समान पहुँच, सरकारप्रतिको विश्वासजस्ता विषयमा जनतामाझ सर्वेक्षण गरी प्रतिवेदन तयार पारेको बताएको छ।

अध्ययनका लागि २०१९ मार्चदेखि २०२० सेप्टेम्बरसम्म सर्वेक्षण गरिएको थियो। कोभिडका कारण अधिकांश अन्तर्वार्ता टेलिफोनबाट गरिएको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ। प्रतिवेदनअनुसार १७ देशका करिब ७५ प्रतिशत उत्तरदाताले भ्रष्टाचार ठूलो समस्या रहेको बताएका थिए। नेपालपछि थाइल्यान्डका ५५ प्रतिशत जनताले आफ्नो देशमा भ्रष्टाचार बढेको विश्वास गरेका छन्। एसियाली मुलुकमध्ये सबैभन्दा कम कम्बोडियामा १२ प्रतिशत जनताले भ्रष्टाचार बढेको बताएको प्रतिवेदनमा उल्लेख छ। एसियाका १९ प्रतिशत अर्थात् ८३ करोड ६० लाख मानिसले सार्वजनिक सेवा प्रयोग गर्न घुस खुवाएको भनिएको छ।

प्रकाशित: १२ मंसिर २०७७ ०२:१५ शुक्रबार

भ्रष्टाचार