२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

बन्द सडक खोलियो, केन्द्रबिन्दु विवाद कायमै

भूकम्पको केन्द्रबिन्दुको विषयलाई लिएर गोरखाको बारपाक सुलिकोट गाउँपालिका र धार्चे गाउँपालिकाबीचको एक सातादेखिको विवाद मत्थर भएको छैन। विवाद बढ्दै जाँदा बारपाकवासीले लाप्राक जाने सडक पाँच दिन अवरुद्ध गरे तर सडक अवरुद्ध गरेर विवाद समाधान नहुने भन्दै आइतबारदेखि सडकको अवरोध हटाइदिएको स्थानीय जित घलेले बताए।

गाउँपालिकाका प्रमुखहरूले विवाद समाधानमा चासो नदिएको स्थानीयको आरोप छ। केन्द्रबिन्दुको विषयमा दुवै पालिकाबीच औपचारिक छलफलसमेत भएको नभएको उनीहरू बताउँछन्। २०७२ वैशाख १२ गतेको भूकम्पको केन्द्रबिन्दु बारपाकमा रहेको राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्थापित मान्यतालाई धार्चे गाउँपालिकाले धार्चे–४ को भिरकोट चुङ्गङडाँडा केन्द्रबिन्दु हो भन्दै तोडमोड गर्न खोजेको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले बताए। ‘त्यति ठूलो विषय थिएन तर धार्चे गाउँपालिकाले सच्याउनुपर्ने विषय छ,’ उनले भने, ‘जिल्ला समन्वय र जिल्ला प्रशासनलाई पनि सहजीकरणका लागि अनुरोध गरेको छु।’ उनका अनुसार केन्द्रबिन्दु बारपाक नै भएको भन्दै गाउँपालिकाले धार्चेको निर्णय मान्य नहुने विज्ञप्ति निकालेको छ।

कात्तिक १५ गते गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले धार्चे गाउँपालिका–४ भिरकोटमा राखिएको ‘इपिसेन्टर’ लेखिएको बोर्ड अनावरण गरे। सोही ठाउँमा धार्चे गाउँपालिकाले ‘इपिसेन्टर ट्रेल’ पनि निर्माण ग¥यो। यसबारे ‘इपिसेन्टर’ लेखिएको बोर्डसहितको तस्बिर सामाजिक सञ्जाललगायत सञ्चारमाध्यममा आउन थालेपछि बारपाकका स्थानीय आक्रोशित भए। वडा नम्बर १ र २ का स्थानीयले इपिसेन्टरको विषयमा धार्चे गाउँपालिकाले भ्रम सिर्जना गरेको बताए।

२०७२ वैशाख १२ गतेको भूकम्पको केन्द्रबिन्दु बारपाकमा रहेको राष्ट्रिय/अन्तर्राष्ट्रिय स्थापित मान्यतालाई धार्चे गाउँपालिकाले धार्चे–४ को भिरकोट चुङ्गङडाँडा केन्द्रबिन्दु हो भन्दै तोडमोड गर्न खोजेको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले बताए।

‘पाँच दिन सडक बन्द हुँदा स्थानीयले ल्याएका दैनिक उपभोग्य र निर्माण सामग्री बाटोमै झार्नुपरेको थियो,’ धार्चे–४ लाप्राकका वडाध्यक्ष राज गुरुङले भने। अन्यत्रबाट लाप्राक जाने सहज सडक छैन। सवारी अवरुद्ध हुँदा आउजाउ गर्न, गैरअवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गरिरहेको गुप्सिपाखाको बस्तीको बाँकी काम सिध्याउन, खाद्यान्न ढुवानीलगायतमा समस्या भएको थियो। धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले केन्द्रबिन्दु धार्चेमा पर्छ भन्ने दाबी नगरेको बताउँदै पर्यटन प्रवद्र्धन गर्न पदमार्ग निर्माण गरेर प्रचारप्रसार मात्र गरेको बताए। ‘बारपाक सुलिकोट गाउँपालिकालाई यसबारे प्रस्ट्याएर पठाएको छु,’ अध्यक्ष गुरुङले भने।

स्थानीय जनप्रतिनिधि र गाउँपालिका प्रमुखलाई विवाद समाधान गर्न पटक–पटक अनुरोध गरेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ देवी पाण्डे खत्रीले बताइन्। यी दुई गाउँबीचको विवाद पहिलो भने होइन। यसअघि पनि वनक्षेत्र र पालिकाबीचको सिमानालाई लिएर विवाद भएको थियो। जिल्ला समन्वय समितिले दुवै पक्षलाई छलफल गराएर विज्ञ बोलाई समस्या समाधान गर्ने बताए पनि अहिलेसम्म कुनै काम अघि बढेको छैन। ‘विवाद यसअघि पनि सिमानाको विषयमा थियो, अहिले केन्द्रबिन्दुसहित अन्य कुरा उठेको छ,’ समन्वय प्रमुख अशोककुमार गुरुङले भने।

प्रकाशित: २५ कार्तिक २०७७ ०३:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App