१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

द्रुत गतिमा सक्ने योजना अझै अलपत्र

पुतलीसडक र गौशाला–चाबहिल सडक अर्काे ६ महिना धकेलियो

डिभिजन सडक  कार्यालय काठमाडौंले उपत्यकाको व्यस्तमध्येका दुई सडक पुतलीसडक–कमलपोखरी र चाबहिल गौशाला सडक ६ महिनाभित्रै द्रुत गतिमा निर्माण गर्ने योजना अघि सार्याे। यी दुवै योजना ६ महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो। तर, दूवै योजनाको म्याद पनि सकिसक्यो। तर,अहिलेसम्म सडक तयार हुन सकेका छैनन्। सडक विभागले उपत्यकाबासीको अत्यधिक व्यस्त र चाप हुने सडकमा पनि बेवास्ताको कारणले लामो समयदेखि यी दूवै सडकखण्ड अलपत्र पर्दै आइरहेका छन्।  

डिभिजन सडक कार्यालय काठमाडौंले २०७६ फागुन १४ गते कमलपोखरी सिटी सेन्टर–स्टारमल–पुतलीसडक– शंकरदेव क्याम्पस हुँदै टुकुचासम्म करिव १२ सय ५० मिटरमा ढलसहितको सडक निर्माण गर्ने योजना अघि सार्याे। कार्यालयले ६ महिनाभित्रै निर्माण सम्पन्न गराउने गरी पिआर इन्फास्ट्रक्चर प्रालीलाई ११ करोड ९४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

तर, ठेकेदार कम्पनीले कोरोना महामारीको बाहाना देखाएर सो खण्डमा ढल बिछ्याउने बाहेक अन्य काम अहिलेपनि अलपत्र रुपमा छाड्दै आइरहेको छ। ठेकेदार कम्पनीले गत असारमशान्तसम्म ढलको लगभग काम सम्पन्न गरेपनि करिव साढे १२ मिटर सडकखण्ड लथालिंग रुपमा अलपत्र पारेको छ। राष्ट्रपति, प्रधानमन्त्री लगायतका मुलुकका उच्च पदस्थ व्यक्तित्व हिँड्ने सडक कहिले सम्पन्न हुने अहिलेसम्म अन्यौल कायमै छ। यो सडक खण्ड अहिले घाम लाग्दा धुलाम्मे र पानी आउँदा हिलाम्मे हुने समस्याबाट सर्वसाधारण जनता आजित हुँदै आइरहेका छन्।  

सडक विभागका महानिर्देशक केशव शर्माले कोरोना महामारी र वर्षात्को कारणले तोकिएको ६ महिनाभित्रै पुतली सडक खण्ड र गौशला–चाबहिल खण्डको काम निर्माण सम्पन्न गर्न नसकेको बताए। ‘पुतली सडकखण्ड बारम्बार वर्षात्को कारणले कालोपत्रे गर्न नसकिएको हो,’ उनले भने,‘गौशाला–चाबहिल खण्ड भने प्राधिकरणले तोकिएको समयभित्रै भूमिगत बिजुलीको तार राख्ने काम नसक्दा समस्या भएको हो। अब घाम लाग्ने बित्तिकै दुवै सडकखण्ड कालोपत्रे गर्ने योजना बनाएका छौं।’ डिभिजन कार्यालय काठमाडौंका इन्जिनियर तथा साइट इन्जार्च उमेशराज सुवेदीले कोरोना महामारीको कारणले पुतली सडकको काम तोकिएको समयभित्रैै  निर्माण सम्पन्न हुन नसकेको बताए। ‘ठेक्का सम्झौता अनुसार यो खण्ड भदौभित्रै सम्पन्न गर्नुपर्ने हुन्थ्यो,’उनले भने,‘कोरोना महामारीको कारणले आज खुल्ने फेरि भोली बन्द हुने कारणले नियमित काम हुन नसक्दा समस्या देखिएको हो।’  

साइट इन्चार्ज सुवेदीले ठेकेदार कम्पनीलाई दैनिक दुई पटकसम्म पानी छर्किन निर्देशन दिदैं आएको बताए। ‘मौसमले साथ दिएको खण्डमा एक–दुई दिनभित्रै काम थाल्ने सहमति भइसकेको छ,’ उनले भने,‘दशै अगाडीसम्म स्टारमल–पुतली सडकखण्डमा करिव सात सय मिटर सडक कालोपत्रे गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइसकेका छौ।’ कार्यालयले शंकरदेव क्याम्पसदेखि टुकुचाखोलासम्म १४ सय मिलिमिटरको पाइप राखेको छ। त्यसैगरी शंकरदेव क्याम्पस मोडदेखि स्टारमलसम्म १२ सय मिलिमिटर र स्टारमलदेखि कमलपोखरीसम्म ९ सय मिलिमिटर क्षमताको ढलको पानी राख्ने काम सम्पन्न भइसकेको जनायो। ढलको डिजाइनको काम ढल विभागको समन्वयमा गरिएको हो।  

गौशला–चाबहिल सडक पनि बेहाल

पुतली सडकखण्डको सडक मात्रै होइन मात्रै, डिभिजन सडक कार्यालयले ठेक्का लगाएको गौशाला–चावहिल– चुचेपाटी सडक खण्ड पनि निर्धारित समयभित्रै सम्पन्न हुन सकेन। गौशाला चाबहिल क्षेत्रमा बारम्बार ढल फुट्ने र कालोपत्रे नटिक्ने समस्याको दिर्घकालिन रुपमा अन्त्य गर्ने भनेर गरिएको ठेक्का पनि निर्धारित समयभित्रै सम्पन्न हुन सकेन।

ठेकेदार कम्पनीले गौशालादेखि मित्रपार्कसम्म तयार पारेको सबवेस समेत भत्किएर लंथालिंथ अवस्थामा छ। नेपाल विद्युत् प्राधिकरणले तोकिएको समयभित्रै गौशला चाबहिल चुचेपाटी सडकखण्डमा भूमिगत प्रसारणलाइन विस्तार गर्न नसक्दा सडक कालोपत्रे गर्ने काम प्रभावित भएको हो। प्राधिकरणले जेठको अन्तिम समयमा मात्रै भूमिगत विद्युतीय प्रसारणलाइन राख्ने काम सकेको थियो। तर,कालोपत्रे गर्ने बेला वर्षात् सुरु भएसँगै सडक निर्माण कार्यले अस्तव्यस्त छ। प्राधिकरणले समयमै काम नसक्दा अहिले उक्त सडकखण्ड धुलाम्मे भएर सर्वसाधारण आजित भएका छन् भने अर्कोतर्फ गत आवभित्रै सकिनुपर्ने काम अझैसम्म बाकीँ नै छ। महानिर्देशक शर्माले प्राधिकरणले २०७७ जेठ १ गतेभित्र भूमिगत बिजुलीको प्रसारणलाइनको सम्पन्न गर्ने प्रतिवद्धता जनाएपनि तोकिएको समयभित्रै गर्न सकेन। तर प्राधिकरणले असार ७ गते मात्रै सम्पन्न गर्याे। वर्षात् सुरु भएकाले असारमा कालोपत्रे गर्ने काम अघि बढ्न सकेन्।

डिभिजन सडक कार्यालय काठमाडौंका इन्जिनियर तथा साइट इन्चार्य सौम्र्य आनन्दले गौशाला– चाबहिल चुचेपाटी खण्डमा काम नदेखिएपनि ढल राख्ने लगायतको काम भइरहेको दावी गरिन्। ‘यो खण्डमा कालोपत्रे नभएकाले काम नदेखिएको हो,’ उनले भनिन्,‘अहिले मित्रपार्कदेखि फोर्ड गाडीको सोरुमसम्म ढलको पाइप बिछ्याउने काम भइरहेको छ।’ कार्यालयले गत पुस १५ मा कालिका वेदांशी कन्स्ट्रक्सन जेभीसँग ६ महिनाभित्रै सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो। जेभीले करिव साढे दुई किलोमिटर सडकको ठेक्का २० करोड ८७ लाखमा पाएको हो। कार्यालयले जेभीसँग ६ महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको हो। सम्झौता अनुसार साढे दुई किलोमिटर सडक उप्काएर फेरि पिच र खानेपानीको नयाँ पाइप जडान गरेर फेरि कालोपत्रे गर्नुपथ्र्याे। कार्यालयले करिव एक सातामा ढल निर्माणको काम सम्पन्न गरेर कालोपत्रेको काम अगाडी बढाउने दावी गरेको छ। कोरोना भाइरसको कारणले योखण्डको निर्माण सम्पन्न गर्नको लागि पुस मशान्तसम्मको म्याद थप गरिएको छ।

चाबहिल–साँखु खण्ड अझै बेहाल

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७२ सालमा  साढे १२ किलोमिटरको चाबहिल– जोरपाटी– साँखु सडक खण्ड चार खण्डमा बाँडेर ठेक्का सम्झौता गरेको थियो। यो सडक दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो। तर, ठेकेदार कम्पनीको चरम लापारवाही र मुआब्जा विवादको कारणले यो खण्ड अहिले बेहाल अवस्थाबाट गुज्रिएको छ। युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्सले चाबहिल– जोरपाटी बाग्मतीपुल (३.६ किलोमिटर) सडक बनाउने ठेक्का पाएको थियो। दक्षिणढोकाबाट थली उकालोसम्मको २.४ किलोमिटर सडकको ठेक्का बज्रगुरु–च्याङ्मिला–खानी जेभीले पाएको थियो। थलीबाट डाँछीसम्मको तीन किलोमिटर सडक बनाउने ठेक्का बज्रगुरु–बिरुवा–खानी जेभीले पाएको थियो। डाँछीदेखि सलम्बुटारसम्मको २.४ किलोमिटर सडक विस्तार तथा निर्माणको जिम्मेवारी बिटी–सुनकोसी वल्र्डवाइड जेभीले पाएको थियो। सलम्बुटारदेखि साँखुसम्मको एक किलोमिटर सडक निर्माणको जिम्मा लामा समानान्तर जेभीले पाएको थियो।  

तर, अहिलेसम्म यी कुनै पनि खण्डको सडक निर्माण सम्पन्न भएको छैन। आयोजनाको अनुसार पहिलो खण्डमा करिव ८०, दोस्रोमा ७०, तेस्रोमा ५५ र चौथो खण्डमा ६० प्रतिशतको हाराहारीमा मात्रै काम भएको छ। यो खण्डको ठेकेदार कम्पनीको म्याद तीन पटक थप भइसक्यो ।तर, मुआब्जा विवाद र स्थानीयको अवरोधलाई देखाउँदै ठेकेदार कम्पनीले बारम्बार आलटाल गर्दै आइरहेका छन्। आयोजनाले गत असोज ७ गते चाबहिल जोरपाटी पुल खण्डमा काम गर्ने ठेकेदार कम्पनीलाई युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्सलाई सात दिन भित्र किन कालोसूचीमा नराख्ने भन्दै सार्वजनिक सूचना प्रकाशन गरेपनि अहिलेसम्म कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइसकेको छैन। आयोजनाका प्रमुख गुरु अधिकारीले कम्पनीलाई अन्तिम पटक असोज मशान्तभित्र काम सम्पन्न नगरेको खण्डमा कालोसूचीमा राख्न सिफारिस गरिने बताए। ‘सूचना प्रकाशित गर्ने बित्तिकै तीन सय मिटर कालोपत्रे गर्ने काम गर्याे’ उनले भने,‘अबको १५ दिनभित्र बाकीँ काम सम्पन्न नगरे कालोसूचीमा सिफारिस गर्नेछौं।’

लकडाउनको बेला चिटिक्क सडक फेरि खाल्डैखाल्डा

सडक विभागले गत आर्थिक वर्षमा करिव एक अर्ब ७५ करोड रुपैयाँ खर्चेर उपत्यकाका सडक मर्मतसम्भार गरेर चिटिक्क र आर्कषक बनाएको थियो। लकडाउनको बेला आकर्षक र चिटिक्क देखिएका सडक ६ महिना बित्न नपाउँदै फेरि खाल्डैखाल्डा सडकमा परिणत भइसकेका छन्। कमसल कालोपत्रेकै कारणले वर्षात अघि गरिएका सडक फेरि खाल्डाखुल्डी पर्न थालेका हुन। लकडाउनको बेला कम गाडी गुडेर आर्कषक र चिटिक्क देखिएका सडक अहिले ठूलो मात्रामा गाडी गुड्न थालेसँगै पहिलाकै जस्तै खाल्डाखुल्डी र असरल्ल देखिन थालेका हुन।  

गत असार, साउन र भदौं र असोज महिनाको सुरुवाती दिनमा आएको अविरल वर्षाको कारणले लकडाउनको बेला चिटिक्क र आकर्षक देखिएका सष्डक फेरि खाल्डैखाल्डा देखिएका थालेका छन्। नागढुंगा प्रहरी प्रभाग आसपासको क्षेत्र, नौबिसे–नागढुंगा खण्ड लगायतका सडक अस्तव्यस्त देखिएका छन्। अहिले बानेश्वर, कोटेश्वर, कलंकी थली,सोह्रखुट्टे, बालाजु, चक्रपथ, कोटेश्वर र अन्य भित्री सडकका खाल्डाखुल्डीका कारण जोखिम बढाएको छ। सडक विभागका महानिर्देशक शर्माले लकडाउनको बेला चम्काएको सडकमाभन्दा पनि अन्यत्रको सडकमा खाल्डाखुल्डी परेको दावी गर्छन। ‘लकडाउनको बेला चम्काएको एकाध सडक बाहेक अन्य स्थानमा खाल्डाखुल्डी देखिएको छैन’ उनले भने,‘कंलकी, कोटेश्वर खण्डमा कालोपत्रे गरेका थिएनौं।’ महानिर्देशक शर्माले खाल्डाखुल्डी भएका सडक दशैभित्र फेरि मर्मतसम्भार गर्ने बताए।

प्रकाशित: २६ आश्विन २०७७ ०७:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App