४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

झोलुङ्गे पुलले छोट्यायो दूरी, दुई घण्टा लाग्ने बाटो अब १५ मिनेटमा

तस्विर: झोलुङ्गे पुलको उद्घाटन गर्दै उपमेयर रेणु आचार्यलगायत। नगेन्द्र उपाध्याय/नागरिक

भेरीगंगा नगरपालिका–२ जग्दीका ९१ वर्षीय डिलबहादुर कामी घरदेखि १५ मिनेटको पैदलयात्रा तय गरेर तरकारी र फलफुल विक्रीका लागि रत्नराजमार्ग आइपुग्छन्। बारीमा फलेको तरकारी र फलफुल सडक छेउमा बसेर विक्री गर्छन्। ‘छिन्चु खोलामा झोलुङ्गे पुल बनेपछि बारीको उत्पादन विक्री गर्न सहज भएको छ,’ कामीले भने, ‘गाउँलेको आम्दानी पनि बढेको छ।’

जग्दी र रत्नराजमार्गलाई छिन्चु खोलाले छुट्याएको छ। जग्दीबाट राजमार्गसम्मको दुरी दुई किलोमिटर मात्रै हो। छिन्चु खोलामा पुल नहुँदा दुई किलोमिटरको दूरीमा रहेको जग्दीबाट रत्नराजमार्ग छेउको शनिमोर आउन दुई घण्टा लाग्थ्यो। वर्खामा छिन्चु खोला वारवार गर्नका लागि अर्को विकल्प थिएन्।

छिन्चुखोला पारी शनिमोर, ढारकोठेरी, सिस्नेरी, माझीगाउँ, बाँसघारी, आलडाँडा, थुम्के, चरचरे, उमेपानी, सातपोखरी, देवस्थल, थाकलघारीसहितका चार सय ६० घरघुरी छन्। यहाँका दुई सय ५३ जना विद्यार्थी रत्नराजमार्ग छेउको सामुदायिक माविमा अध्ययनरत छन्। गाउँ एकातर्फ विद्यालय अर्कोतर्फ हुँदा खोला बढेको बेला प्रायः कक्षा कोठा खाली हुन्थे। ‘झोलुङ्गे पुल सञ्चालनमा आएसँगै विद्यार्थीले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ,’ शिक्षिका मिना वलीले भनिन्, ‘पुलले गाउँलेलाई मात्रै होइन्, विद्यार्थीलाई पनि सहज भएको छ।’

शनिमोरकी सविना वली सामुदायिक माविमा कक्षा आठमा अध्ययारत छिन्। अघिल्लो वर्ष भदौमा स्कुल आउने बेला उनलाई छिन्चु खोलाले बगायो। उनी तैरेर पार लागिन् तर किताव–कापीको झोला खोलाले बगायो। ‘गाउँदेखि स्कुल आउन नजिकमा पुल नहुँदा जहिल्यै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो,’ सविनाले भनिन्, ‘अब ढुक्क भएर झोलुङ्गे पुलबाटै खोला वारपार गरिरहेका छौं।’

रत्न राजमार्ग छेउको सामुदायिक माविमा अध्ययनरत जम्मा विद्यार्थी मध्ये ९६ प्रतिशत खोलापारीका १४ गाउँका विद्यार्थी हुन्। छिन्चु खोलापारी कक्षा पाँचसम्म पढाई हुने विद्यालय मात्रै छ। खोलामा पुल नहुँदा छोराछोरी पढाउनका लागि कतिपय अभिभावक सदरमुकाम वीरेन्द्रनगर र छिन्चुमा कोठा भाडामा लिएर राख्ने गर्थे।  

‘अव त्यो समस्या पनि हटेको छ, पुल बनेपछि घरबाटै छोराछोरीलाई स्कुल पठाउन सहज भएको छ,’ स्थानीय मुना वलीले भनिन्, ‘वर्षौदेखि भोग्दै आएको सास्ती पुलको निर्माण सम्पन्न भएसँगै कम भएको छ।’ छिन्चुखोला पारीका १४ गाउँमा यातायातको पहुँच छैन्। सुत्केरी हुँदा, कोही विरामी पर्दा अस्पतालसम्म पु¥याउन घुमाउरो बाटोमो प्रयोग गर्नुपर्दथ्यो।

‘राजमार्गमा गाडी गुडेको देखिन्छ, त्यहाँसम्म पुग्नलाई खोला बढेको बेला दुई घण्टासम्मको यात्रा गर्नुपर्ने बाध्यता थियो,’ उनले भनिन्, ‘अब कोही विरामी हुँदा सहजै राजमार्गसम्म पु¥याउन पाइने भयो।’

स्वीस सरकारको सहयोगमा ग्रामिण विकास केन्द्र दैलेखमा छिन्चुखोलामा पुल निर्माण गरेको हो। पुसमा पुल निर्माणका लागि संझौता गरेको केन्द्रले आठ महिनामै निर्माण सम्पन्न गरेर भेरीगंगा नगरपालिका हस्तान्तरण गरेको छ। पुलको आइतबार नगरपालिकाका उपप्रमुख रेणु आचार्यले उद्घाटन गरिन्।

उनले चुनावमा परेका बाचा अनुसार छिन्चु खोलासहित छ ठाउँमा पुल निर्माण सम्पन्न गरिएको बताइन्। ‘चुनावका बेला आउँदा तपाईहरुले राजमार्गसँग जोड्ने झोलुपुल र खानेपानीको माग गर्नु भएको थियो,’ उनले भनिन्, ‘तपाईँहरु माग र आवश्यकता अनुसार नगरपालिका अघि बढिरहेको छ।’ उनले छिन्चु खोलापारीका गाउँहरु तरकारीका लागि उर्वर रहेकाले अव राजमार्गको पहुँचसँगै तरकारी र उच्चमूल्यका कृषिबस्तु उत्पादनमा लाग्न स्थानीयहरुलाई आग्रह गरिन्।

प्रकाशित: ५ आश्विन २०७७ ०५:३२ सोमबार

झोलुङ्गे पुल