१५ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

बिपीमा संक्रमितले जन्माइन् बच्चा

विराटनगर महानगरपालिका–२ की एक २० वर्षीया गर्भवतीमा भदौ ३ गते कोरोना संक्रमण पुष्टि भयो । उनको ‘डेलिभरी’को समय नजिकै थियो । उनी होम आइसोलेसनमा थिइन् । पतिसहित घरका अरू सदस्य भने कोरोनामुक्त देखिए । व्यथाले च्यापेपछि उनलाई आइतबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याई कोभिड–१९ अस्पतालमा भर्ना गरियो । तिनै संक्रमित गर्भवतीले सोमबार साँझ करिब ६ बजे बच्चा जन्माइन् । प्रतिष्ठानमा कोरोना संक्रमित महिलाले बच्चा जन्माएको यो पहिलो घटना हो ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार प्रसूति विभागका डा. सूर्यप्रसाद रिमालको निगरानीमा डा. मुकेश, डा. हिमाल र नर्स सिरिनद्वारा सफल डेलिभरी गराएका हुन् । बच्चा र आमाको स्वास्थ्य सामान्य छ । जन्मँदाको समयमा बच्चाको तौल २.८ केजी थियो । ‘आमा र बच्चा दुवैको अवस्था सामान्य छ, यो खुसीको कुरा हो,’ मंगलबार दिउँसो डा. सापकोटाले भने । उनका अनुसार प्रोटोकलअनुसार बच्चालाई आमाको दूध खुवाउन मिल्ने भए पनि परिवारले विकल्प रोजेका छन् । अहिले बच्चा र बुबा पेडियाट्रिकको आइसोलेसनमा छन् । ‘प्रोटोकलअनुसार बच्चालाई दूध खुवाउन मिल्ने थियो तर परिवारले तत्काललाई बाहिरको दूध खुवाउँछौं भनेर विकल्प छानेकाले सोहीअनुसार भयो,’ डा. सापकोटाले भने, ‘रिपोर्ट नेगेटिभ भएकाले बच्चाका बुबालाई पेडियाट्रिक आइसोलेसनमा राखिएको छ ।’ जन्मिएको ७२ घन्टा पूरा भएपछि बच्चाको स्वाब लिएर पिसिआर परीक्षण गरिने उनले बताए ।

बच्चाको अवस्था सामान्य छ । जन्मिएको ७२ घन्टा पूरा भएपछि उसको स्वाब लिएर पिसिआर परीक्षण गरिनेछ ।
–डा. निदेश सापकोटा, प्रवक्ता, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान  

व्यथा लागेर भर्ना भएकी संक्रमितको डेलिभरी हुने निश्चित भएपछि आवश्यक सबै तयारी गरिएको थियो । डेलिभरी नर्मल मात्र हुँदैन, अचानक जटिलता आउन सक्छ र अप्रेसन पनि गर्नुपर्ने हुन्छ । प्रतिष्ठानको ओटी युजर्स कमिटीको बैठक आइतबार बसेर रुटिन ओटीमध्ये एउटा ओटी बन्द गरेर कोभिड अस्पताल बनाउने निणर््य गरेको थियो । ‘त्यो निर्णय कार्यान्वयन हुन समय लाग्नाले डेलिभरी गराउने क्रममा अप्रेसन गर्नुपर्ने अवस्था आउन सक्ने भनेर हामीले सबै तयारी अवस्थामा राखेका थियौं,’ ओटी युजर्स कमिटीका सदस्य सचिव डा. विकास साहले भने, ‘अप्रेसन गर्नुपर्ने भयो भने गाइनो वा रुटिन ओटीमध्ये तत्काल जहाँ सहज हुन्छ त्यहाँ लगेर गर्ने तयारी थियो, एम्बुलेन्स पनि तयारी अवस्थामै राखेका थियौं । तर नर्मल डेलिभरी नै भयो ।’

डेभिलरीको नेतृत्व गरेका डा. सूर्यप्रसाद रिमालका अनुसार सोमबार बिहान करिब ६ बजेबाट व्यथा लाग्न थालेको थियो । त्यतिबेला पाठेघरको एक घर मात्र खुलेको थियो, जबकि डेलिभरीका लागि १० घर खुल्नुपर्ने हुन्छ । ‘सकेसम्म अप्रेसन गर्नु नपरोस् भन्ने हाम्रो चाहना थियो तर पाठेघरभित्र बच्चा खेल्ने पानी आठ हुनुपर्नेमा दुई मात्र थियो, त्यसैले धेरै समय पर्खंदा जोखिम पनि थियो,’ डा. रिमालले भने, ‘निकै पर्खियौं, साह्रै भएपछि दिउँसो ३ बजेतिर अप्रेसन गर्नुपर्छ भनेर तयारीतिर लाग्यौं ।’

अप्रेसन गर्ने तयारी गर्दागर्दै घर खुल्न थालेको र अन्ततः साँझ ६ बजेर ५ मिनेट जाँदा बच्चा जन्मिएको डा. रिमालले बताए । सामान्य अवस्था भए अप्रेसन भइसकेको हुने उनले बताए । उनका अनुसार डेलिभरीपछि गरिने आवश्यक प्रक्रिया पूरा गरेर बच्चा अभिभावकको जिम्मा लगाइएको हो । ‘बच्चाको अलग्गै प्रोटोकल रहेछ । धेरै समय त्यहाँ राख्दा पनि जोखिम हुने भएकाले अभिभावकको जिम्मा लगायौं,’ उनले भने, ‘जनमानसमा कोरोना हुँदा पनि नर्मल डेलिभरी हुन्छ, डराउनुपर्दैन भन्ने सन्देश जानुपर्छ । स्वास्थ्यकर्मीमा पनि बिरामीलाई हेर्नु नै पर्छ डराउनुहुँदैन भन्ने सन्देश दिनुपर्छ ।’ पिपिई लगाएर घन्टौं पर्खनुपर्दा निकै गाह्रो भने हुने उनले बताए ।

प्रतिष्ठानको प्रसूति विभागका एडिस्नल प्रोफेसर डा. पप्पु रिजाल (रोहित) कोरोना संक्रमितलाई डेलिभरी गराउनु पनि अरूलाई जस्तै चुनौती हुने बताउँछन् । गर्भवतीमा इम्युनिटी कम हुने भएकाले सिकिस्त हुन सक्ने जोखिम रहने उनले बताए । अझ नर्मल डेलिभरी गराउँदा समय धेरै लाग्ने, गर्भवतीको प्रेसर नियमित जाँच गरिरहनुपर्ने, बच्चाको धड्कन पनि जाँच गरिरहनुपर्ने उनले बताए ।

प्रकाशित: १० भाद्र २०७७ ०१:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App