१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मकवानपुरमा दोस्रोपटक निषेधाज्ञा थपियो

कोरोना भाइरस संक्रमण निरन्तर बढेसँगै मकवानपुरमा जारी निषेधाज्ञा एक साता थप गरिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबार हेटौंडामा बसेको बैठकले निषेधज्ञा भदौ १५ गतेसम्म जारी राख्ने निर्णय गरेको हो।

कोरोना संक्रमण धेरै देखिएपछि साउन २६ गतेदेखि लगाईएको निषेधाज्ञाको समय दोस्रो पटक थप गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालद्वारा जारी विज्ञप्तीमा जनाईएको छ।  कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि वाग्मती प्रदेश राजधानी हेटौंडा उपमहानगरपालिका, मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका र भीमफेदी गाउँपालिकाको सम्पुर्ण क्षेत्र र जिल्लाको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकाको पूर्व–पश्चिम राजमार्गको दायाँ–बायाँ पाँच सय÷ पाँच सय मिटर क्षेत्रमा निषेधाज्ञा लगाईएको छ।  

दोस्रोपटक थपिएको निषेधाज्ञा मंगलबार राती सकिने भएपनि जिल्लामा संक्रमितहरुको संख्या बढ्दै गईरहेको र संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक ट्रेसिङ्ग एवं परीक्षणलाई तीव्रता प्रदान गर्न निषेधाज्ञालाई निरन्तरता दिन जिल्ला सुरक्षा समिति मकवानपुरलाई सिफारिस गर्ने निर्णय भएको विज्ञप्तीमा उल्लेख छ।  

कोरोना संक्रमितको संख्या ३ सय नाघ्यो, ४ जनाको मृत्यु

मकवानपुरमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या ३ सय नाघेको छ भने ४ जनाले ज्यान गुमाएका छन्।  मकवानपुरमा सोमबारसम्म कोरोना संक्रमितको संख्या ३ सय ९ जना पुगेको वागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डा. पुरुषोत्तम सेढाईले बताए।  

मकवानपुरमा हाल दैनिक एक सय जना बढीको स्वाब संकलन हुने गरेपनि प्रयोगशालाले परीक्षणमा ढिलाई गर्दै आएको छ।  हेटौंडा १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा संचालित प्रयोगशालाबाट रिपोर्ट लिन ८ दिनसम्म कुर्नुपर्ने बाध्यता भएपछि स्थानीयले गुनासो गर्दै आएका छन्।  

यसैबिच, कोरोना परिक्षण प्रयोगशालामा संकलित स्वाब धेरै समयसम्म रहेपछि परीक्षणका लागि काठमाडौंको प्रयोगशालामा पठाइएको छ।  १ हजार ३ सय ७४ जनाको स्वाब कोरोना परीक्षणको क्रममा रहेको बताईएको छ।  जसमध्ये करिब पाँच सय जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको छ।  

हेटौंडा र चितवनमा आईतबार गरिएको परीक्षणमा मकवानपुरका १७ जनामा संक्रमित पुष्टि भएको थियो।  मकवानपुरका दश वटा स्थानीय तहमध्ये सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा कोरोना संक्रमित देखा परेका छ।  त्यस्तै, मनहरी गाउँपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका, मकवानपुर गढी गाउँपालिकामा पनि कोरोना संक्रमित धमाधम देखा पर्न थालेका छन्।  

 

प्रकाशित: ८ भाद्र २०७७ ०९:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App