२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

लिदी पहिरोपीडितलाई स्थानान्तरण गरिँदै

३३ को ज्यान लिएको लिदी पहिरोपीडितलाई स्थानान्तरण गरिने भएको छ। जुगल गाउँपालिका–१ सेलाङस्थित बाँसखर्कमा पीडित परिवारलाई स्थानान्तरण गर्न लागिएको हो। सामुदायिक वनको जग्गामा टेन्ट र त्रिपालको अस्थायी शिविर बनाएर पीडितलाई राखिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए। ‘लिदी गाउँ पहिरोको जोखिममा रहेकाले तत्काललाई अस्थायी रूपमा स्थानान्तरण गर्न लागिएको हो,’ उनले नागरिकसँग भने। उनका अनुसार अस्थायी शिविर बनाउने काम आइतबार थालिसकिएको छ।  

शिविर बनाउने जिम्मा नेपाली सेनालाई दिइएको छ। शिविरमा विद्युत्, खानेपानी, शौचालयसमेतको व्यवस्था गरिने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। सम्बन्धित कार्यालय, रेडक्रस र संघसंस्थालाई यसको जिम्मेवारी दिइएको समितिका संयोजकसमेत रहेका प्रजिअ ढकालले जनाए। गत साउन ३० गते जुगल–२ गोल्चे लिदीमा बस्तीमाथिबाट खसेको पहिरोले ३७ घर पुर्दा ३९ स्थानीयलाई बेपत्ता बनाएको थियो। बेपत्तामध्ये आइतबारसम्म ३३ को शव भेटिएको छ। पहिरोमा अझै ६ हराइरहेका छन्। पहिरोले २७ घर नामेट बनाएको थियो।  

पहिरोपछि एक सय ७२ घरधुरीको लिदी गाउँ जोखिममा परेको छ। पहिरोपछि पीडितले आफूहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्दै आएका थिए। बस्तीका सबै एक सय २१ पीडित परिवारलाई तत्कालका लागि अस्थायी रूपमा स्थानान्तरण गरिने जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले बताए। विपद् व्यवस्थापन समितिले शिविर बनाउन आवश्यक पर्ने त्रिपाल, अस्थायी शौचालय र खानेपानीका सामाग्री बाँसखर्कमा पठाइसकिएको जनाएको छ।  

पहिरोपछि एक सय ७२ घरधुरीको लिदी गाउँ जोखिममा परेको छ। पहिरोपछि पीडितले आफूहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्दै आएका थिए। बस्तीका सबै एक सय २१ पीडित परिवारलाई तत्कालका लागि अस्थायी रूपमा स्थानान्तरण गरिने जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले बताए। विपद् व्यवस्थापन समितिले शिविर बनाउन आवश्यक पर्ने त्रिपाल, अस्थायी शौचालय र खानेपानीका सामग्री बाँसखर्कमा पठाइसकिएको जनाएको छ।  

यसअघि जिल्लाबाट तीनवटै सरकारमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिसहित बसेको विपद् व्यवस्थापन समितिको बैठककले लिदी पहिरोपीडितलाई तत्काल सुरक्षित स्थलमा स्थानान्तरण गर्ने निर्णय गरेको थियो। बैठकले जिल्ला समन्वय समिति प्रमुख गोपाल तामाङको संयोजकत्वमा बस्ती स्थानान्तरण तथा जग्गा व्यवस्थापन समिति गठन गरेको थियो। योसमितिले नै बाँसखर्क क्षेत्रको सामुदायिक बनको खाली जग्गा छनोट गरेको थियो। पहिरोपीडितलाई तत्कालका लागि अस्थायी शिविरमा राखिने भए पनि स्थायी रूपमै स्थानान्तरणको पहल भइरहेको प्रजिअ ढकालले जनाए। उनका अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नै पीडितलाई एकीकृत बस्ती बसालेर राख्न चासो दिएको छ। ‘प्राधिकरणको चासोपछि ऊसहित संघ, प्रदेश सरकार र सरोकोरवाला निकायसँग छलफल अघि बढाएका छौं,’ ढकालले भने।

२०७२ वैशाख १२ को भूकम्पपछि लिदीका झन्डै दुई दर्जन परिवार विस्थापित भएर लामो समय सेलाङमै बसेका थिए। अनुदान किस्ता पाउन थालेपछि उनीहरूलाई गाउँमै फर्काइएको थियो। भूकम्पले बस्ती जोखिममा परेको भन्दै उनीहरू बाँसखर्क आइपुगेका थिए। पुनर्निर्माण प्राधिकरणले भूकम्पलगत्तै लिदी गाउँको जोखिमबारे अध्ययनसमेत गरेको थियो। प्राधिकरणले यो बस्तीलाई पहेंलो क्षेत्र (संरक्षणपछि बस्ती बसाल्न सकिने) का रूपमा पहिचान गरेको थियो। तर, स्थानीयले पुनर्निर्माण थाल्नुअघि संरक्षणको काम गर्न कसैले चासो दिएन। बाँसखर्कबाट फर्काइएको परिवारका सदस्यले समेत पहिरोमा ज्यान गुमाएका छन्।

मृतक ३३ पुगे

१० दिनअघिको लिदी पहिरोमा परेर मृत्यु हुनेको संख्या ३३ पुगेको छ। पहिरोमा बेपत्ता एक वृद्धा आइतबार मृत भेटिएपछि ज्यान गुमाउनेको संख्या बढेको हो। ७५ वर्षीया वाङ्ची ल्हामो दोङको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए। उनी एकल महिला थिइन्। शनिबार ३३ वर्षीया सानुकान्छी दोङ र चार वर्षीया बालिका करिशमाई दोङको शव फेला परेको थियो। योसहित लिदी पहिरोमा ज्यान गुमाउनेको संख्या ३३ पुगेको हो।  

प्रहरीका अनुसार पहिरोमा ११ बालक, ६ बालिका, पाँच पुरुष र ११ महिलाले ज्यान गुमाएका छन्। पहिरोमा अझै ६ हराइरहेको डिएसपी काफ्लेले जानकारी दिए। उनका अनुसार स्थानीय सोमरानी दोङ, साइली दोङ, प्रिया दोङ, प्रकाश दोङ, आयुष दोङ र सुवास दोङ पहिरोमा हराइरहेका हुन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका झन्डै ५० जनाको सुरक्षाकर्मी टोली बेपत्ताको खोजीमा परिचालित छ। खोजीमा स्थानीयले समेत सघाइरहेका छन्।  

बेपत्ताको खोजी गर्न घटनास्थलमा एक्साकाभेटर लैजाने प्रयास गरे पनि सफल हुन नसकेको डिएसपी काफ्लेले बताए। साताअघि लिदी हिँडेको एक्साभेटर घटनास्थल नजिकै पुगेर पहिरोमा रोखिएको छ। गत असार ३० गते जुगल गाउँपालिका–२ गोल्चे लिदीमा बस्तीमाथिबाट पहिरो खस्दा ३७ घर पुरेको थियो। पहिरोमा घरसँगै ३९ बेपत्ता भएका थिए। बेपत्तामध्येकै ३३ मृत फेला परेका हुन्। पहिरोमा २९ घर नामेट भएका थिए। ६ स्थानीय गम्भीर घाइते भएका थिए। उपचारपछि घाइते निको भएर घर फर्किसकेको प्रहरीले जनाएको छ।  

मृतक सबैको अन्त्येष्टि भइसकेको छ। पहिरोपछि उच्च जोखिममा रहेको १ सय ७२ घरधुरीको सिँगो लिदी गाउँ नै विस्थापित भएको छ। विस्थापितहरू नजिकैको मानेडाँडालगायत स्थानमा सित्रपाल टाँगेर बसिरहेका छन्। कतिपय आफ्नै गोठमा आश्रित छन्। अस्थायी आश्रयस्थलमा पीडितले कठिन साथ गुजारा चलाइरहेको स्थानीय नेत्र दोङले जानकारी दिए।  

यसै स्थानमा गएको असार २६ गते पहिरो गएको थियो। त्यतिबेला दुई घरमा क्षति पुगेको थियो। यो घटनापछि गाउँ जोखिममा परेको ठान्दै स्थानीयले राति घर छाड्दै आएका थिए। दिनभर घरमै रहने उनीहरू रातिको खाना खाएर सुरक्षित स्थलमा रहेको गोठ र टहरोमा सुत्न जान्थे। दैनिकी अघि बढाउन बिहान मात्र घर फर्कंन्थे। फर्केर घरधन्दामा व्यस्त भइरहेका बेला पुरानै ठाउँबाट पहिरो खसेको थियो। पहिरो खस्दा बालबालिका बिहानीको खाजा खाँदै थिए। त्यसकारण पहिरोमा बालबालिका धेरै परेको स्थानीयको भनाइ छ।

पहिरोपछि स्थानीयले गाउँ असुरक्षित रहेको भन्दै बस्तीको भौगर्भिक अध्ययन र स्थानान्तरणसम्मको माग राखेर साउन २३ गते जिल्ला विपद् व्यवस्थापन समितिलाई ज्ञापनपत्र बुझाएका थिए। वर्षअघि पनि स्थानीयले बस्ती जोखिममा रहेको भन्दै स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका थिए। समयमै जानकारी दिँदा पनि सरकारले नसुन्दा पहिरोमा ठूलो मानवीय क्षति बेहोर्नुपरेको स्थानीय बताउँछन्।

प्रकाशित: ८ भाद्र २०७७ ०३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App