७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

निषेधाज्ञाको पहिलो दिन, सरकारले निर्देशन दिएर बितायो

कोरोना संक्रमण बढ्दै गएपछि ४३ जिल्लामा निषेधाज्ञा र लकडाउन जारी गरेको सरकारले आइसोलेसन बेडको व्यवस्था गर्न निर्देशन दिएको छ। सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत सबै जिल्लामा आइसोलेसन बेड तयारी गर्न, क्वारेन्टाइन बनाउन, निषेधाज्ञा प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएको हो। ‘संक्रमण बढ्दै गएको छ। धेरै जिल्लामा आइसोलेसन बेड अभाव छ। हामीले गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई यसको आवश्यक प्रबन्ध गर्न भनेका छौं’, प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो।

प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंले मन्त्रिपरिषद्को बैठकबाट आउने निर्णय कार्यान्वनमा लैजान निर्णय कुरिरहेको बताए। बिहीबार साँझ सुरु भएको मन्त्रिपरिषद् बैठक राति अबेरसम्म बसेको थियो।

गृह मन्त्रालयका अनुसार जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले गरी ४३ जिल्लामा निषेधाज्ञा र लकडाउन जारी गरेका छन्। ‘अत्यावश्यक सेवा, खाद्यान्न अभाव नहोस्। कोही कसैले खाद्यान्न नपाएको र कालोबजारी गरेको गुनासो नआओस् भन्नेतर्फ मन्त्रालय सचेत छ। त्यही अनुसार प्रबन्ध मिलाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ’, गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बूढाले भने। उनका अनुसार खाद्यान्न पसललाई निश्चित समय दिएर खोल्न लगाउनाले भिड हुने भएकाले त्यस्ता पसललाई बिहान खुला राख्ने र भिड नगरीकन सामान किन्ने वातावरण तय गर्न पनि मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ।

२८ जिल्लामा स्थानीय प्रशासनले संक्रामक रोग नियन्त्रण ऐनअनुसार निषेधाज्ञा जारी गरेका छन् भने अन्य जिल्लामा स्थानीय तहले लकडाउन लागू गरेका छन्। काठमाडौं, ललितपुर, भक्तपुर, पर्सा, सप्तरी, बाँके, बारा, सुनसरी, सर्लाही, स्याङ्जा, बर्दिया, रौतहट, कपिलवस्तु, दोलखा, नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, गोरखा र रामेछापमा जिल्लाभरि नै लागू हुने गरी निषेधाज्ञा लागू गरिएको छ। सरकारले दुई सयभन्दा धेरै संक्रमित भएको जिल्लालाई ‘रेडजोन’ मा राखेपछि निषेधाज्ञा जारी गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको हो। हाल काठमाडौं, मोरङ, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र बाँके ‘रेडजोन’ मा छन्।

प्रकाशित: ५ भाद्र २०७७ ०१:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App