६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

अछाममा खोलाले बजार नै बगायो, दुई दर्जनभन्दा बढी बेपत्ता

अछामको कैलाश खोलामा आएको बाढीले रामारोशन गाउँपालिका वडा नम्बर ५ मा पर्ने सैनी बजार बगाउँदा दुई दर्जन स्थानीय बेपत्ता भएका छन्।  

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले आफूकहाँ १९ जना हराएको र चारजनाको शव फेला परेको अपुष्ट खबर प्राप्त भएको जानकारी दिए।

नेपाली काँग्रेसका रामारोशन गाउँपालिकाका सचिव पुष्प विष्टले सैनी बजारका दुई दर्जनभन्दा दर्जनभन्दा बढी मानिस सम्पर्कविहीन भएको बताए। भारी वर्षा जारी रहेकोले घटनाको सबै विवरण आउन बाँकी रहेको पनि उनले जानकारी दिए।  

मन्त्री बोहोराका अनुसार मंगलबार राति ११–१२ बजेतिर आएको बाढीले उक्त विध्वंश मच्चाएको हो। बाढीले खोला किनारका थुप्रै घर–टहरा बगाएको छ।

मन्त्री बोहोरालाई स्थानीय जनप्रतिनिधिले मृतकको पहिचान पनि हुन बाँकी रहेको जानकारी गराएका छन्।

कैलाश खोलाको बाढीले पुलनै भत्काएकोले सुरक्षाकर्मी घटनास्थल पुग्न नसकेको पनि मन्त्री बोहोराले जानकारी दिए। ‘पैदलबाटो सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ मुभ भइसकेको छ, स्थानीय तहका जनप्रतिनिधि पनि परिचालित छन्,’ उनले भने। आवश्यक परे उद्धारमा हेलिकप्टर परिचालन गर्ने तयारीमा प्रदेश सरकार रहेको उनले बताए। जिल्लामा उपलब्ध एम्बुलेन्स, सवारी साधन र अस्पताललाई स्ट्यान्ड बाई रहन निर्देशन दिएको मन्त्री बोहोराले बताए।  

बाढीले सैनीबजारभन्दा तल्लो भेगका मुजा बगड र गजड बजारमा पनि क्षति पुर्याएको जानकारी पाएको अछामका विद्यार्थी नेता टेकबहादुर विकले बताए।  

नेपाली काँग्रेसका रामारोशनका विष्टले वर्षा जारी रहेकोले अन्त्रयको अवस्था थाहा हुन नसकेको बताए।

प्रकाशित: ३ भाद्र २०७७ ०५:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App