१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोनाले काम बन्द हुँदा ८५ परिवार भोकभोकै

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२०, गायत्रीनगरस्थित सुकुम्बासी बस्तीका ८५ परिवार भोकै बस्न बाध्य भएका छन् । मजदुरी गरेर जीवन निर्वाह गर्ने उनीहरू कोरोनाको बढ्दो सङ्क्रमणका कारण कामकाज बन्द भएपछि बिहान–बेलुका हातमुख जोर्नसमेत नसक्ने अवस्थामा पुगेका हुन् ।  

यस बस्तीमा कुछबधिया समुदायका सहित करिब ३०० बासिन्दा छन् । दिनभर काम गरेर जोहो गर्ने अधिकतर परिवार यतिबेला थप समस्यामा परेका हुन् ।  

अपाङ्ग, अशक्त, एकल महिला, वृद्ध, वृद्धा झनै अप्ठ्यारोमा परेका छन् । कोरोनाका कारण कामकाज नहुँदा मजदुरी गर्ने, रिक्सा चलाउने, मिस्त्री, ठेला व्यापार, घुम्टी पसललगायतका काममा संलग्न मारमा परेको स्थानीय कृष्णबहादुर कामीले जानकारी दिए ।  

‘भएको रासन, पैंसो सबै सकियो, काम गर्ने वातावरण पनि छैन,’ उनले भने, ‘के गरेर गुजारा गर्ने हो भन्ने पीर छ ।’

स्थानीय अगुवा लालबहादुर परियारले दैनिक गरिखाने आफूहरू कोरोना महामारीका कारण समस्यामा परेको बताए। ‘खाने कुरा पनि छैन, काम पनि छैन, समस्यामाथि समस्या थपिएका छन्,’ अपाङ्गता समेत भएका परियार भन्छन्, ‘कहीँकतैबाट खाद्यान्न सहयोग जुटाइदिनसके पुण्य काम हुनेछ ।’

गत वैशाखमा वडा कार्यालयलगायतका सङ्घ/संस्थाले राहत सहयोग गरेको भए पनि लामो समयसम्म लकडाउन र निषेधाज्ञाले उनीहरू समस्यामा परेको नेपालगन्ज उपमहानगरपालिका वडा नं २० का अध्यक्ष कृष्ण कार्कीले बताए ।  

तत्काल वडा कार्यालयबाट सहयोग गर्ने अवस्था नरहे पनि विभिन्न सङ्घ/संस्थामा सहयोगका लागि आफूले पहल गरिररहेको उनले बताए । यो बस्तीमा माइती नेपाल (नेपालगन्ज) ले ५ दिनसम्म तयारी खानाको प्रबन्ध गरेको थियो । कोरोना महामारीका कारण दैनिक जीविकोपार्जनमा समस्या भएका नागरिकलाई तयारी खाना वितरण कार्यक्रमअन्तर्गत गायत्रीनगरका ३०० जनालाई खाना खुवाइएको माइती नेपाल (नेपालगन्ज) का संयोजक केशवराज कोइरालाले जानकारी दिए ।  

आदर्श माविको जग्गामा वर्षौंदेखि बसोबास गरिरहेका उनीहरूलाई केही महिनाअघि मात्रै वडा कार्यालयको पहलमा त्यहाँबाट स्थानान्तरण गरेर व्यवस्थित गरिएको छ ।    

प्रकाशित: १ भाद्र २०७७ ११:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App