१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

इटहरी, इनरुवा र दुहवीमा लकडाउन

पूर्वका शहरमा पछिल्लो समय समुदायस्तरमै कोरोनाको संक्रमण देखा पर्ने क्रम बढेपछि इटहरी, इनरुवा र दुहवीमा लकडाउन घोषणा गरिएको छ । इटहरीमा मंगलबार थप तीन जनामा कोरोना पुष्टि भएपछि सतर्कता अप्नाउन बुधबारदेखि पाँच दिने लकडाउन घोषणा गरिएको हो ।

‘पाँच दिनसम्म दूध पसल र औषधि पसलबाहेक अन्य क्षेत्र बन्द हुने गरि लकडाउन गर्ने निर्णय भएको छ,’ उपमेयर लक्ष्मी गौतमले भनिन् । उनका अनुसार पहिलो चरणमा पाँच दिने लकडाउन घोषणा गरिएपनि त्यसपछिको अवस्थालाई मध्यनजर गरेर थप्न सकिनेछ ।

इटहरीमा कोरोना संक्रमण पुष्टि हुने क्रममा मंगलबार नगरपालिकाका एक जना पुरुष कर्मचारी, एक जना ठेकेदार र अर्की एक महिलामा भएको हो । सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले बुधबारदेखि लागू हुने गरि साउन २६ गतेसम्मका लागि बजार क्षेत्र पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको छ । इनरुवामा मंगलबार थप एक जनामा कोरोना पुष्टि भएसँगै लकडाउन घोषणा गरिएको हो । इनरुवा नगरपालिकाका मेयर राजन मेहताका अनुसार अति आवश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरिएको छ ।

नगरपालिकाले बजार क्षेत्र भित्र रहेका सम्पूर्ण पसल, होटल, सार्वजनिक याताताय, सिटि सफारी, टेम्पो लगायतका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय भएको छ । इनरुवामा लकडाउन घोषणासँगै अब युद्दस्तरमा एक हजार जनाको पिसिआर परीक्षण गरिने योजना रहेको छ । इनरुवामा अहिलेसम्म समुदायस्तरका पाँच जनामा कोरोना पुष्टि भएको छ। कुल कोरोना संक्रमितको संख्या भने एघार पुगी सकेको छ ।

दुहवीमा पनि समुदायस्तरका चार जनामा कोरोना पुष्टि भएपछि लकडाउन घोषणा गरिएको छ । दुहवीमा मंगलबार बसेको बैठकले दुई साता लामो लकडाउन घोषणा गरिएको मेयर बेद गच्छदारले बताए । उनका अनुसार दूध, खाद्यान्नलगायतका पसल बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म चल्न दिएपनि अरु भने बन्द गर्ने निर्णय गरिएको छ । लोकल सवारी साधन सञ्चालनमा रोक लगाएपनि लामो रुटका सवारी साधन सञ्चालनमा भने छुट रहेको जानकारी दिइयो ।

मंगलबार मात्र सुनसरीभर १२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । अहिलेसम्म जिल्लाभर एक सय ५८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।  

सुनसरीमा ढुवानी बाहेकका सवारी सञ्चालनमा रोक  

जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाभित्र मालबाहक बाहेक अन्य सवारी साधनमा रोक लगाउने निर्णय गरेको छ । मालबाहक सवारी साधन बाहेक भाडाका साधनहरु सिटी सफारी, रिक्सा, टेम्पो, म्याजिक, माइक्रोलगायतका सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरेको हो ।

बैठकले अत्यावश्यक बाहेकका बजार, पसल मध्यान्ह १२ देखि अपरान्ह ४ बजेसम्म मात्र खोल्न पाइने निर्णय गरेको छ । साप्ताहिक हटिया भने अर्को निर्णय नभएसम्मका लागि बन्द कायम गरिएको छ ।

कोरोना भाइरसको बढ्दो जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहमा एम्बुलेन्स र शव वाहन तयारी अवस्थामा राख्ने, सीमामा थप कडाई गर्ने निर्णय समेत गरेको छ । प्रमुख जिल्ला अधिकारी फडिन्द्र  पोखरेलका अनुसार संक्रमण देखिएका स्थानमा आवश्यकता हेरी पीसीआर परीक्षणको दायरा बढाउँदै लगिनेछ । 

प्रशासनमा भएको छलफलले स्थानीय तहले आफ्नो क्षेत्रमा लकडाउन गर्नुपर्ने अवस्था आए स्वयं निर्णय गर्न सकिने समेत जनाएको छ ।

प्रकाशित: २० श्रावण २०७७ १२:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App