दाङ जिल्ला प्रहरी कार्यालयले आफूलाई प्रहरी हुँ भन्दै धम्क्याउँदै होटल सञ्चालकलाई ठगी गर्ने दुई व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार त्यस्तो काम गर्ने घोराही उपमहानगरपालिका–९, कर्मटुवा बस्ने ३० वर्षीय सुरोज नेपाली र सल्यान भलचौर निवासी ३० वर्षीय गोपाल मल्ललाई पक्राउ गरिएको हो ।
नेपालीले आफू जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक ‘योगेन्द्र हमाल हुँ’ भन्दै घोराही १५ ट्राफिक चोकमा रहेको लुम्बिनी होटल र मालिका भ्याली भ्यु होटलमा गई होटल सञ्चालकलाई अभद्र व्यवहार गरेको तथा मासिक रूपमा रकम दिनुपर्छ भनी धम्क्याउने गरेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।
यसैगरी मल्लले जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक हुँ भनी ट्राफिक चोकस्थित पाहुना गेस्ट हाउसमा निःशुल्क खाना खाने गरेको र होटल सञ्चालकलाई अभद्र व्यवहार गरेको भनी जाहेरी परेकाले उनलाई पक्राउ गरिएको हो ।
उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को कसुरमा मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रशासन कार्यालयबाट १० दिन म्याद थप गरी उनीहरूबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: १९ श्रावण २०७७ ११:३० सोमबार