२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

१५ दिनदेखि अनशन, सुन्दैन सरकार

सरकारलाई दायित्वबोध गराउन जोसिला युवा वसन्तपुरको डबलीमा लडेको १५ दिन बित्यो । आफ्ना नागरिकको हितका लागि झिनो रेखदेख गर्न नसकिरहेको राज्यले ती युवाको चित्कार पनि सुन्न सकिरहेको छैन । सरकारले बेवास्ता गरेपछि अनशनरत युवाको स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै गएको छ ।  

कोरोना महामारीको बेला सरकारलाई जिम्मेवार बनाउन केही युवाले ‘इनफ इज इनफ’ अभियान सुरु गरेका थिए । अभियन्ता ईशान (ईः) १५ दिनदेखि वसन्तपुरमा अनशनरत छन् । ईःलगायत युवाले कोरोना भाइरस रोकथाममा सरकार गैरजिम्मेवार भएको भन्दै जेठदेखि सरकारविरोधी अभियान सुरु गरेका थिए । शान्तिपूर्ण प्रदर्शनको माध्यमबाट उनीहरूले लामो समय सडकमा प्रदर्शन गरे । तापनि सरकारले प्रहरी प्रशासन लगाएर युवालाई नियन्त्रणमा लिनबोहक अरू केही गरेन । अति भएपछि युवाले अनशन सुरु गरेका थिए ।  

पहिलोपटक अभियन्ता पुकार बम र ईः अनशन बसेका थिए । १२ दिनपछि सरकारले उनीहरूको माग पूरा गर्नेगरी १२ बुँदे सहमति पनि गरेको थियो । तर, पहिलो अनशन तोड्ने बेलामा गरेका वाचा सरकारले पूरा नगरेपछि ईः फेरि अनशनरत छन् । शनिबार वसन्तपुरमा भेट्न जाँदा उनी सजिलै बोल्न सक्ने अवस्थामा थिएनन् । यतिका दिन बित्दा पनि आफू भोकै बसेको थाहा नपाउने सरकारप्रति उनले सुनासो गरे । उनले भने, ‘यदि यो देशमा सरकार छ भने यो विषयलाई बुझ्नेछ, तर अहिलेसम्म सरकार भएको कुनै महसुस भएको छैन, उसैले गर्नुपर्ने काममा हामी भोकभोकै बस्नुपरेको छ र पनि देख्दैन सरकार ।’  

उनले सरकारले आफ्ना माग पूरा नगरे यो पटकको अनशन नतोड्ने नागरिककर्मीलाई बताए । स्लाइन पानीको सहारामा अनशन बसेका उनको स्वास्थ्यमा समस्या देखिन थालेको छ । कोरोना भाइरस नियन्त्रणका लागि गरेको प्रयास कमजोर भएको भन्दै दबाब दिन उनी दोस्रो अनशनमा छन् ।  

राज्यका निकायले युवाहरूको माग सुन्ने प्रयाससमेत गरेका छैनन् । प्रतिपक्ष र स्वतन्त्र तबरबाट कैयौं व्यक्ति अनशनरत स्थानमा पुगिरहेका बेला सरकारको भने कुनै उपस्थिति छैन । उपस्थिति छ त केवल सडकमा निस्किएका युवालाई पक्राउ गर्ने प्रहरीको । कोरोना महामारी बढ्दै जाँदा सरकार गैरजिम्मेवार बनेपछि युवाहरूले आवाज उठाउन सुरु गरेका थिए । उनीहरूले कुनै राजनीतिक पार्टी र व्यक्तिगत स्वार्थलाई लिएर राज्यलाई गुहारिरहेका छैनन् । कोरोना भयावहलाई रोक्न सरकार जिम्मेवार हुनुपर्ने उनीहरूको भनाइ हो । तर, युवाहरूदेखि राज्य डराएको अभियन्ताहरू नै बताउँछन् । ‘यो सरकारले आफ्ना पार्टी र कार्यकर्ताका लागि मात्रै रहेछ भन्ने देखिँदै छ, आम सर्वसाधारणको संवेदनशील माग उठाइरहँदा सरकार सुन्दै सुन्दैन,’ अभियन्ता पुकार बमले भने । अनशनका बेला सरकारी निकायका कुनै पनि व्यक्ति नआएको बताए । नेपाली कांग्रेस, विवेकशील, साझा र अन्य पार्टीका नेता अनशनरत युवालाई भेट्न पुगे पनि नेकपाको तर्फबाट भने कोही गएको छैन । 

प्रकाशित: १८ श्रावण २०७७ ०२:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App