११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रदेश १ मा २३ जना संक्रमित थपिए

प्रदेश १ मा २३ जना संक्रमित थपिएका छन् । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा सोमबार २३ जना नयाँ संक्रमित थपिएका हुन् ।  

थपिएका संक्रमितहरूमा मोरङका १९ जना छन् । विराटनगरमा ५ जना महिला र २ जना पुरुषमा र रतुवामाईका १२ जनामा पनि कोरोना पोजेटिभ देखिएको छ । यस्तै झापा बाह्रदशिमा २, पाँचथरमा १ र धनकुटा महालक्ष्मी नगरपालिकामा १ जनामा कोरोना भाइरस संक्रमित फेला परेका छन् । प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या ९ सय ४५ पुगेको छ ।  

विराटनगरमा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएपछि विराटनगर महानगरपालिकाले नगरपालिका र वडा कार्यालयहरूबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । महानगरपालिकाले बजारमा कोरोना फैलन नदिन भिडभाड नियन्त्रण गर्ने र सतर्कता अपनाउन व्यवसायी तथा उपभोक्तालाई आग्रह गरेको छ । यसैबीच महानगरपालिकाले सोमबार देखि विराटनगर बजारको अनुगमन पनि सुरू गरेको छ । महानगरका प्रमुख प्रशासकिय अधिकृतको संयोजकत्वमा गठन गरिएको बजार अनुगमन समितिले सोमबार बजारको अनुगमन गरेको हो ।  

अनुगमनका क्रममा विराटनगर बजारमा व्यवसायीहरूले माक्सको प्रयोग नगरेको, सेनिटाइजर र हातधुने व्यवस्था नगरेको पाइएको विराटनगर महानगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दुर्गाप्रसाद खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार धेरैजसो व्यवसायीले माक्सको प्रयोग नगरेको पसलमा सामाजिक दूरीसमेत कायम नगरेको बताए । खतिवडाले भने, ‘धेरैजसोले माक्स प्रयोग नगरेको, सामाजिक दूरी कायम नगरेको र संक्रमण रोकथामका उपायसमेत नअपनाएको पाइएको छ ।’ 

पहिलो चरणमा सचेत गराइए पनि दोस्रो चरणको अनुगमनमा पुनः लापरवाही गरेको पाईए व्यवसाय नै बन्द गराई कारवाही गरिने खतिवडाले स्पष्ट पारे । अनुगमनका क्रममा विराटनगरका वासिन्दामा कोरोनाको त्रास नदेखिएको महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश कार्कीले बताए । कार्कीले कोरोनाको त्रास नभएका कारण माक्स, सेनिटाइजरको प्रयोग नगर्ने, सामाजिक दूरी कायम नगर्नेलगायतका लापरवाहीले संक्रमण फैलनसक्ने खतरा देखिएको छ ।

प्रकाशित: १२ श्रावण २०७७ १२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App