२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

सिन्धुपाल्चोकमा कोरोना शून्य

कोरोना भाइरसले दुईको ज्यान लिएको सिन्धुपाल्चोकमा अहिले कोरोना शून्य भएको छ। मृत्यु भएकाबाहेक संक्रमित सबै उपचारपछि निको भइ घर फर्केपछि जिल्ला कोरोना शून्य भएको हो।  

बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले संक्रमित सबै ६३ जना उपचारपछि निको भएर घर फर्केको बताए। ‘अब जिल्लामा एक्टिभ केस छैन,’ उनले भने, ‘आइसोलेसन कक्ष खाली भएका छन्।’ जिल्लामा पहिलो पटक वैशाख १ गते कोरोना संक्रमित भेटिएका थिए। पहिलो संक्रमित महिला थिइन्। बाह्रविसे गाउँपालिकाकी ती महिलामा मृत्युपछि कोरोना पुष्टि भएको थियो। कोरोनाबाट ज्यान गुमाउने उनी मुलुकै पहिलो संक्रमित थिइन्।  

त्यसपछि एक पुरुषको कोरोनाबाट ज्यान गएको थियो। उनको पनि मृत्युपछि कोरोना पुष्टि भएको थियो। स्वास्थ्य कार्यालयका अनुसार मृतकसहित जिल्लामा ६५ जनामा संक्रमण पुष्टि भएको थियो। ४२ पुरुष र २१ महिला कोरोना जितेर घर फर्कँन सफल भएका हुन्। संक्रमण देखिएका मध्येअधिकांश विदेशबाट फर्केका थिए। सबैभन्दा बढी भारतबाट फर्केका २६ मा संक्रमण भेटिएको थियो।  

त्यस्तै कुवेतबाट फर्केका १५ मा कोरोना पुष्टि भएको थियो। कतार, दुबई र साउदी अरबबाट फर्केका एक÷एकमा संक्रमण पुष्टि भएको थियो। त्यस्तै काठमाडौँ, बारा, स्याङ्जा, भोजपुर र दोलखाबाट आएका १५ मा संक्रमण देखिएको थियो। कतै नगइ जिल्लामै रहेका ६ जनामा कोरोना भेटिएको थियो। उनीहरु मध्येकै दुईको ज्यान गएको हो।  

कार्यालयका अनुसार जिल्लामा हालसम्म एक हजार पाँच चारको पिसिआर परीक्षण भएको छ। त्यसमध्ये एक हजार चार सय ३९ को रिपोर्ट आइसकेको छ। स्वाब संकलन गरिएका ६५ को मात्र रिपोर्ट आउन बाँकी छ। आइतबार स्वाब संकलन गरिएका उनीहरु नेपाल आर्मी र सशस्त्र प्रहरी हुन्।  

क्वारेन्टिनमा रहेका २० को मात्र परीक्षणका लागि स्वाब संकलन गर्न बाँकी रहेको स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत कृष्णराज तिवारीले बताए। उनका अनुसार हाल क्वारेन्टिनमा रहनेको संख्या ४४ रहेको छ। उनीहरुमध्ये धेरै विदेश र केही काठमाडौं लगायत प्रभावित जिल्लाबाट फर्केका हुन्।  

 

प्रकाशित: १२ श्रावण २०७७ ११:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App