७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

कतै खाना नपाएर, कतै उपचार नपाएर मृत्यु

जिल्लामा एक हप्तामा उपचार नपाएर दुई सुत्केरीको मृत्यु भएको छ । एक जनाको खानाका अभावमा तथा एक जनाको लडेर मृत्यु भएको छ । बारेकोट गाउँपालिका–४ सार्कीटोलमा गत असार २५ गते आएको पहिरोले घर बगाउँदा विस्थापित दलवीर सार्कीको खाना नपाएर मृत्यु भएको वडा सचिव डम्बर पुनले बताए ।

यहाँ खानाको अभावमा जटिल अवस्थासमेत आएको छ । बारेकोट गाउँपालिका– ७ सुवाकोटकी २१ वर्षीया मनकुमारी परियारको सुत्केरी भएको पाँच घण्टापछि मृत्यु भएको छ । स्वास्थ्यचौकी सेपुखोलाकी अनमी मीरा शाहीका अनुसार सामान्यावस्थामा सुत्केरी भएको र सुत्केरी भएको केही समयपछि पेट दुखेर एकाएक रक्तचाप बढ्दा उपचार गर्दागर्दै मृत्यु भएको हो । शिशुको स्वास्थ्य अवस्था सामान्य छ ।  

जुनिचाँदे गाउँपालिका–३ की ३४ वर्षीया सिंह पुरीको सुत्केरी भएलगत्तै शिशुलाई जन्म दिएर अत्यधिक रक्तश्राव भई आइतबार मृत्यु भएको परिवारले जनाएको छ । गाउँभन्दा टाढा रहेको स्वास्थ्य संस्थामा लिन घरमा कोही पनि नभएका अवस्थामा गाउँलेलाई खबर गर्दागर्दै ज्यान गएको छिमेकीले रत्न पुरीले बताए ।

गुणस्तरीय स्वास्थ्य सेवा, दक्ष जनशक्ति र आधुनिक उपकरणका अभावमा ग्रामीण क्षेत्रका गर्भवतीले हरेक महिना ज्यान गुमाइरहेका छन् । बारेकोटको सेपुखोला स्वास्थ्यचौकीमा २०७५ देखि अहिलेसम्म ९ सय ९२ सुत्केरीले सेवा लिएको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै आज नलगाड नगरपालिका–५ की २६ वर्षीया पार्वती वलीलाई हेलिकप्टरमार्फत उद्वार गरी सुर्खेत लगिएको छ । सुत्केरी हुने मिति साउन २१ गते भए पनि गए राति घरमा लडेका कारण पेट दुखेपछि उनमा समस्या आएको थियो ।

समस्या आएलगत्तै नेपाली सेनाको सहयोगमा दल्लीस्थित स्वास्थ्य संस्थामा पुर्‍याइए पनि शिशुको पेटमै मृत्यु भइसकेका कारण आमाको ज्यान बचाउन प्रदेश अस्पताल सुर्खेतमा लगिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । राष्ट्रपति उद्वार कोषमार्फत उनलाई उद्वार गरिएको थियो ।

बुधबार भीरबाट लडेर दुवै खुट्टा भाँचिएका कुशे–गाउँपालिका– २ का नैने दमाईलाई कुशे गाउँपालिकाको आर्थिक सहयोगमा आज हेलिकप्टरबाट उद्वार गरी उपचारका लागि नेपालगञ्ज लगिएको छ । नैनेसँगै रहेका ५४ वर्षीय सार्की दमाईको उपचार गर्दागर्दै मृत्यु भइसकेको छ ।

प्रकाशित: ८ श्रावण २०७७ ११:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App