करिब ९ वर्ष पहिले रिपोर्टिङका क्रममा वीरगन्जबाट चितवन जाँदै गर्दा मनहरिमा एउटा दृश्यले मन खिच्यो। रापिलो गर्मीमा एक बालक ह्वील चियरमा बसेका थिए, अर्का बालक उकालोमा त्यो ह्वीलचियर सकिनसकि घचेट्दै थिए।
विद्यालयबाट फर्कंदै गरेका बालकको त्यो दुर्लभ दोस्तीलाई तस्बिरमा कैद गरें। कुराकानी गर्दा थाहा भयो ९ वर्षे सन्तोेष बल आधारभूत विद्यालयमा कक्षा २ मा पढ्दा रहेछन। ह्वील चियर घचेट्ने उनका साथी रोशन स्यांङतान रहेछन्।
उनीहरूको तस्बिर भोलिपल्टको नागरिक दैनिकको मुख पृष्ठमा छापियो। सन्तोष र रोशनको दोस्तीको तस्बीरले धेरैको मन छोयो। उनीहरू दुवैले लत्ताकपडा र संन्तोषले नयाँ ह्वील चियर पाए। सन्तोषमा पढ्ने रहर निकै थियो। रोशनले उनलाई सघाइरहे।
उनीहरूको यो तस्बिर पिजे क्लवले काठमाडौंमा आयोजना गरेको प्रतियोगितामा पनि पठाएँ । पुरस्कार नजिते पनि उत्कृष्ट तस्बिरको संगालोमा पर्न सफल भयो।
नौ बर्षपछि
तिनै सन्तोष अहिले के गर्दे होलान्? रोशन कता गए होलान? यस्तै प्रश्नको जवाफ खोज्न मन लाग्यो। १८ बर्षका सन्तोष भर्खर कक्षा ७ मा पुगेछन्। रोशनले विद्यालय छाडेपछि उनले पनि एक बर्ष पढाई छाडेछन्। कम्मर मुनि नचल्ने उनको एउटा गोडा काटिएछ। जिउमा विभिन्न प्रकारका रोग लागेछ। ह्वील चियर पुरानो भएछ। तर सन्तोषको पढ्ने रहर भने उस्तै भेटियो।
उनी यसै बर्ष विद्यालयमा फेरि भर्ना भए। ‘आफैं चल्ने ह्वील चियर भए मैले राम्ररी पढ्न पाउँथे,’ कक्षा ७ मा भर्ना भएका उनले भने, ‘पुरानो ह्वील चियरमा निकै समस्या छ।’
घरबाट विद्यालय जाँदा र उतबाट फर्कदा निकै समस्या पर्ने गरेको उनले सुनाए। रोशन त पढाईसंगै गाउँ नै छाडेर अन्त गइसकेको सन्तोषले बताए। ‘ऊ हँुदा ढुक्क थियो,’ उनले भने, ‘अहिले उकालोमा ह्वील चियर ठेलिदिने साथी पाउन मुश्किल छ।
मनहरिस्थित आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रकान्त रिमाल सन्तोषको पढ्ने रहर निकै रहेको बताउँछन्। ‘उसका लागि हामीले कक्षा ७ पनि भुइँतलामै राखेका छौ,’ उनले भने, ‘उसलाई घरबाट आउन र जान भने समस्या परेको छ।’
सन्तोषका बुबा चतुरमान मजदुरी गर्छन। छोरालाई पढाउने उनको चाहना। तर गतिलो ह्वील चियर किन्न सकेका छैनन्। ‘उसको उपचार र अन्य खर्चमै मेरो धेरै कमाई सकिन्छ,’ उनले भने, ‘त्यसैले राम्रो ह्वील चियर किन्न सकिनँ।’
प्रकाशित: ८ श्रावण २०७७ ०५:२८ बिहीबार