२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

प्रदेश २ मा बाढीको बितण्डा : एक जनाको मृत्यु, एक बेपता, ८४५ विस्थापित

प्रदेश २ का विभिन्न जिल्लामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन । आठ वटै जिल्लाका ८ सय ४५ जना विस्थापित भएका छन । रौतहटको चाँदी खोलाको पुलबाट हाम फालेका चन्द्रपुर ३ गैराटारका ५८ वर्षीय सुकमान सिंहको मृत्यु भएको छ । उनको शव प्रहरीले पुलको तीन सय मिटर लक्षिण फेला पारेको प्रदेश प्रहरी कार्यालयका प्रवता डिएसपी मकेन्द्र मिश्रले बताए ।  

महोत्तरीको रातु नदीमा आएको बाढी तर्ने क्रममा भंगाहा नगरपालिका–६ संग्रामपुरका ४० वर्षीय विरेन्द्र कापर बेपत्ता भएको महोत्तरीका प्रहरी उपरिक्षक टिकाबहादुर केसीले बताए । जनकपुरबाट भंगाहा घर जान हिँडेका कापर बलवा–११ भगतीपुर र भंगाहा–१ कविलासा टोलको बीचको रातु नदी तर्न खोज्दा खोलाले बगाएपछि मंगलबार बिहान १० बजेबाट बेपत्ता उनको खोजी जारी रहेको केसीले बताए ।

बाढीले सप्तरीको हनुमाननगर नगरपालिका, छिन्नमस्ता, बलानविहुल र तिलाठीकोइलाडी गाउँपालिका, महोत्तरीको जलेश्वर नगरपालिका र मटिहानी नगरपालिका, सर्लाहीको बागमती नगरपालिका, ईश्वरपुर नगरपालिका र चक्रघट्टा गाउँपालिका, रौतहटको चन्द्रपुर गरुडा नगरपालिका एवं बाराको पचरौता र सुवर्ण गाउँपालिका प्रभावित भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।  

सप्तरीका विभिन्न पालिकाको एक सय ५० घर क्षतिग्रस्त भएको र चार सय ५० व्यक्ति विस्थापित भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै, सर्लाहीको ४६ घर भत्केर दुई सय ५५ जना विस्थापित भएका छन् र रौतहटको २३ घर भत्केर एक सय ४० जना विस्थापित भएका छन ।  

बाढीले बाराको कोल्हबी नगरपालिका –९ स्थित सिम्रौनगढ–तामागढी सडक खण्डमा निर्माणाधिन पुल नजिकको डाइभर्सन बगाउँदा आवतजावत अवरुद्ध भएको छ । त्यस्तै, प्रदेश प्रहरी तालिम केन्द्रको निर्माणाधिन पर्खाल भत्केर क्षति भएको छ ।  

बाढीमा फँसेका सप्तरी र महोत्तरीबाट एक एक जना तथा सर्लाहीबाट दुई जनालाई प्रहरीले उद्धार गरेको प्रवतmा मिश्रले जानकारी दिए । बाढीबाट जनधनको सुरक्षा गर्न सप्तरीमा तीन सय ७०, सिरहामा तीन सय ४०, धनुषामा तीन सय ६०, महोत्तरीमा दुई सय ९५, सर्लाहीमा तीन सय ८०, रौतहटमा तीन सय ९०, बारामा तीन सय ३० र पर्सामा तीन सय ४५ गरी दुई हजार ८ सय १० जना सुरक्षाकर्मी परिचालन गरिएको प्रदेश २ का प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए ।

प्रकाशित: ६ श्रावण २०७७ १८:१४ मंगलबार

बाढी बितण्डा