३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

नारायणी नदीको सतह खतराको बिन्दुभन्दा माथि

चितवनमा अविरल वर्षापछि बढेको नारायणी नदीको सतह र नारायणी पुल। तस्बिर : सूर्यप्रकाश/नागरिक

अविरल वर्षाका कारण त्रिशुली र कालीगण्डकी नदीमा पानीको सतह बढेसँगै नारायणी नदीको सतहमा जोखिम बढेको छ। लगातार वर्षा भएपछि देव घाटधामको वेणीमा त्रिशुली र कालीगण्डकी मिसिएर सुरु हुने नारायणी नदी उर्लिएको हो। देवघाटधाममा रहेको जलमापन केन्द्रका अनुसार, देवघाटनजिक नारायणी नदीको सतह आठ दशमलव ५१ मिटर पुगेको छ। यहाँ आठ मिटरलाई खतराको बिन्दु मानिन्छ। नारायणी पुलमुनि नदीको सतह ११ मिटर पुग्यो भने चेतावनीको तह मासिनन्छ। यहाँ पानीको सतह ११ दशमलव ७२ मिटर पुगेको छ।  

नारायणी नदी उर्लिएसँगै चितवनको पश्चिमी क्षेत्र मङ्गलपुर, गुञ्जनगर, दिव्यनगर र मेघौलीमा कटान र डुबानको खतरा बढेको छ। नारायणी पारि नवलपरासी (सुस्तापूर्व) जिल्लाका विभिन्न क्षेत्रमा समेत बाढीको जोखिम बढेको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले सूचना निकालेर नदीतटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सावधानी अपनाउन अपिल गरेको छ। चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले निरन्तर वर्षा भइरहेका कारण बाढीको त्रास कायम रहेको भन्दै सबैलाई सजग रहन अनुरोध गरे।

भरतपुर महानगरपालिका २९, सिमलतालमा रहेको झोलुङ्गे पुलको बीच भागलाई त्रिशुली नदीले नाघेको छ। सिमलताललाई तनहुँसँग जोड्ने पुलको मध्यभागमा बाढीले हिर्काइरहेकोले पुल बग्ने खतरा बढेको छ। बाढीले पुल छोएपछि त्यहाँ आवतजावत बन्द भएको छ। त्रिशुली नदीको सतह बढेपछि भरतपुर महानगरपालिका १, दासढुङ्गामा रहेको पक्की पुलको पिल्लर पुरै पानीमा डुबेको छ।  

प्रकाशित: ५ श्रावण २०७७ १०:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App