२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पुरातत्वले ‘श्रीरामको जन्मस्थल’ अध्ययन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको आधारमा पुरातत्व विभागले पर्साको ठोरी क्षेत्रमा उत्खनन र पुरातात्विक अध्ययन सुरु गर्ने तयारी गरेको छ। प्रधानमन्त्री ओलीले हिन्दु देवता श्रीरामको जन्मस्थल पर्साको ठोरीमा भएको अभिव्यक्ति केही दिनअघि मात्रै दिएका थिए। ओलीको अभिव्यक्तिमाथि तीव्र आलोचना भइरहे पनि विभागलाई अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले निर्देशन दिइसकेको छ।  

ओलीको भनाइ र मन्त्रालयको निर्देशनपछि विभागले त्यसलाई सकारात्मक ठान्दै केही दिनदेखि छलफल गर्दै आइरहेको जनाएको छ। प्रधानमन्त्री ओलीले भारतले कृत्रिम अयोध्या सिर्जना गरेर रामलाई भारतमा जन्मिएको भ्रम फैलाएको बताएका थिए। उक्त भनाइबारे आलोचना र टिप्पणी भइरहे पनि त्यसबारे अध्ययन गर्ने तयारी भएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए। उनले भने, ‘यो हामीसँग सम्बन्धित कुरा हो, यदि रामको जन्म नेपालमै भएको होया होइन अध्ययनपछि मात्रै थाहा हुन्छ।’  

‘भारतीयलाई आदर्श पुरुष बनाउने, भारतका हरेक महिलालाई आदर्श नारी, पत्नी र आमा बनाउने महिला हाम्रै सीता हुन् तर राम नेपालमा जन्मेकै हुन् भनेर दाबी गर्ने आधार हामीसँग छैन।’

‘प्रधानमन्त्रीको भनाइ भ्रमपूर्ण छ’  

धार्मिक तथा सांस्कृतिक सम्पदा खोज अनुसन्धानको क्षेत्रमा काम गर्दै आएका अनुसन्धानकर्ता र विज्ञले भने प्रधानमन्त्रीको अभिव्यक्ति दुई देशको धर्मसंस्कृतिमा ठेस पु¥याउने किसिमको रहेको बताएका छन्। संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठले नेपाल र भारत सिमाना जोडिएका दुई देश भएको र यी दुई देशको धार्मिक तथा सांस्कृतिक सम्बन्ध पनि बलियो रहेको जानकारी दिए। उनले भने, ‘नेपाल–भारत दुई घर हुन्, राम हाम्रा ज्वाइँ र सीता हाम्री छोरी हुन्, यसका आधारमा यतिमात्रै भन्न सकिन्छ कि राम उतैका हुन्।’  

राजनीतिकर्मीले राजनीतिमा धर्मसंस्कृति मिसाउँदा यस्तो अभिव्यक्ति आएको हुनसक्ने उनको भनाइ छ। आफूले लामो समय संस्कृति र सम्पदा क्षेत्रमा अध्ययन गर्दै आएको बताउँदै संस्कृतिविद् डा. श्रेष्ठले आफूलाई नेपालकी छोरी सीताबारे राम्रैसँग थाहा भएको बताए। ‘भारतीयहरूलाई आदर्श पुरुष बनाउने, रामलाई मयार्दामा ल्याउने, भारतका हरेक नारीलाई आदर्श पत्नी, नारी र आमा बनाउने महिला हाम्रै सीता हुन्, यसमा कुनै दुईमत छैन तर श्रीराम नेपालकै हुन् भनेर दाबी गर्ने आधार केही भेटिएको छैन,’ उनले भने। उनले सीताको बारेमा थुप्रै मिथक, पौराणिक कथन र किंवदन्ती भएपनि राम नेपालकै हुन् भन्नेबारे दाबी गर्ने तथ्य वा किंवदन्ती केही नभएको जानकारी दिए। प्रधानमन्त्री जस्तो व्यक्तिले यति गम्भीर विषयमा नबुझी बोल्नु खेदजन्य रहेको उनको भनाइ छ।

संस्कृतिविद् तथा पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव गोविन्द टन्डनले ऐतिहासिक कुरामा भ्रमहरू आइरहने भए पनि देशकै प्रधानमन्त्रीले यस्तो बोल्नु आपत्तिजनक रहेको बताए । उनले भने, ‘कुनै अर्थ नभएको कुराले संस्कृति भत्काउने काम मात्रै गर्छ, यस्तो कुरालाई मान्यता दिनु हुँदैन, अहिले आएको यो अभिव्यक्ति झुठो हो।’ संस्कृतिविद् टण्डनले पुरातत्वको उत्खनन गर्नुपर्ने कैयौं ठाउँ हुँदाहुँदै पनि तिनको अध्ययन नहुनु तर नभएको कुरामा अध्ययन गर्न तम्सिनु नराम्रो संस्कारको विकास भएको जानकारी दिए।  

‘प्रधानमन्त्री ओलीको अभिव्यक्तिले विश्वभरकै हिन्दूहरूको भावनामा चोट पुग्यो’  

काठमाडौं, साउन १ (नागरिक)– भारतीय कंग्रेसका वरिष्ठ नेता एवं नेपाल मामिलाका जानकार डा. करण सिंहले प्रधानमन्त्री ओलीले अयोध्या नेपालमा रहेको भन्दै गरेको अपमानजनक टिप्पणीले विश्वभरका करोडौं हिन्दूहरूको भावनामा चोट पुगेको बताएका छन्। बुधबार विज्ञप्ति जारी गर्दै उनले भारतमा रहेको अयोध्या कृत्रिम रहेको भन्दै दिएको ओलीको अभिव्यक्तिलाई दिमाग खलबल्याउने किसिमको अभिव्यक्ति भनेका छन्।  

सिंहले प्रधानमन्त्री ओलीले अप्रासंगिक अभिव्यक्ति दिएको भन्दै भारतसँग सीमाविवाद भइरहेका बेला ओलीले एकतर्फी रूपमा विवाद बढाउने किसिमको गतिविधि गरिरहेको बताएका छन्। उनले प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच दुरी बढाउन खोजेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले प्रधानमन्त्री ओलीको यस किसिमको अभिव्यक्तिका पछाडि नलागी दुई मुलुकबीचको ऐतिहासिक मित्रवत् सम्बन्धलाई कायम राख्न सबैसँग आग्रह गरेका छन्।

प्रकाशित: २ श्रावण २०७७ ०२:२८ शुक्रबार

पुरातत्व श्रीरामको जन्मस्थल