१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

बाढी आएपछि नदीमा पुग्छन् बोटे समुदाय

तस्बिर : श्रीहरि/नागरिक

असारको उर्लिदो भेल । नदीमा जब बाढी आएको थाहा हुन्छ तब व्यास–५ का बोटे समुदाय दौडेर नदी किनारामा आइपुग्छन् । बाढी आएपछि उनिहरुलाई मिनेट मिनेटको महत्व छ । नदीले बगाएर ल्याएको दाउरा संकलन गर्नको लागि उनिहरु व्यस्त हुने गरेका छन् ।    

वर्षैपिच्छे असार साउनमा नदी आसपास घर हुने बोटे समुदायहरुको दैनिकी दाउरा संकलन गर्ने र माछा मार्ने गरेर बित्छ । दमौली भएर प्रवाहित हुने मादीसेती नदी एक सातादेखि निरन्तर बढीरहेको छ । लगातार बर्षाका कारण नदीमा बाढी गइरहेपछि बोटे तथा नदी आसपासका स्थानीयलाई दाउरा खोज्न भ्याईनभ्याई छ । बर्खाको समय नदीको बहाव कतिवेला बढ्ने हो भन्न सक्ने अवस्था छैन तर नदी आसपासका स्थानीय नदीमै पुगेर दाउरा संकलन गर्दा ज्यानको जोखिम हुने गरेको छ । प्रशासनले नदीमा नजान सार्वजनिक सुचना जारी गरेपनि बोटे समुदाय नदीमा दाउरा खोज्न र माछा मार्न व्यस्त हुने गरेका छन् ।  

ठूलो बाढी आएको समयमा एकै दिनमा दशदेखि पन्ध्र भारीसम्म दाउरा संकलन हुने व्यास–५ की स्थानीय दिलमाया बोटेले बताइन् । ‘विगतका वर्षहरुमा त बाढीमा एकै दिन निकै धेरै दाउरा तथा माछा संकलन गरिन्थ्यो,’ उनले भनिन्, ‘दाउरा एक ट्याक्टर संकलन गरिन्थो अहिले पहिले जसरी दाउरा र माछा पाउन मुस्किल छ ।’

पुख्यौली पेशा माछा मार्ने रहेको बोटे समुदाय पानीसंग डराउदैनन् तर बर्खाको समय नदीको बहाव निकै बढी हुने भएकोले जोखिम भने बढी नै छ । जब मादीसेती नदीमा बाढी आउछ तब बोटे समुदाय हतारहतार गरेर विहानैबाट नदी तिरमा आइपुग्छन् । बाढीमा नदीले बगाएर ल्याएको दाउरा संकलन गर्न प्रतिस्पर्धा जस्तै गरि उनिहरु सक्रिय हुन्छन् ।  

दाउरा मात्रै होइन बाढीमा नदिको तिरतिर माछा पनि ठूला आउने भएकाले माछा मार्ने पनि उत्तिकै हुने गरेका छन् । बोटे समुदायका युवा मात्र होइन बालबालिका पनि नदी किनारमा पुगेर दाउरा खोज्ने गरेका छन् । बर्खाको समयमा पानी परिरहने भएकाले कुन वेला नदीको बहाव बढ्छ भन्ने थहा छैन, तर उनिहरु दाउरा खोज्ने भन्दै कुनै सुरक्षा नअपनाई जोखिम मोलेर दाउरा खोज्ने माछा मार्ने गरिरहेका छन् । दाउरा खोज्ने काममा बालबालिका समेत संग्लन हुँदा थप जोखिम हुने गरेको छ ।  

दाउरा वनमा नपाइने भएकाले बाढी आएपछि नदीमा आउने गरेको व्यास–५ उपल्लो पाटनकी स्थानीय चाचुरा कुमालको भनाई छ । ‘असार साउनमा बाढीमा संकलन गरेको दाउराले कम्तिमा ६ महिनालाई  पुग्छ,’ उनले भनिन् । नदी आसपासका स्थानीय नदीमा नआउन पनि कसरी असार साउनको बाढीमा जम्मा गरेको दाउराले वर्षभरी बाल्नुपर्ने छ । बाढीमा नदीले विभिन्न स्थानबाट बगाएर ल्याएको दाउरा संकलन गरेर काटछाँट गरेर लैजाने गरेका छन् । त्यसका लागि बोटेसहित अन्य समुदाय समेत यसमा आउने गरेका छन् ।  

त्यस्तै बाढीको समयमा नदीको छेउमा ठूला माछा समेत आउने भएकोले जाल हानेर माछा मार्ने काममा समेत बोटे समुदायको दैनिकी बितेको छ । खोला ठूलो भएर माछा नपाएको व्यास–५ का भिमबहादुर बोटेले सेतीमादी नदी बढेको बेलामा ठूला माछा आउने भएकोले माछा मार्न नदीमा आएको बताउँछन् । ‘नदी बढेको बेला खासै माछा त पाइदैन तर पर्‍यो भने ठूलो माछा पर्छ,’ उनले भने ।  

व्यास–५ पाटनका विरबहादुर बोटे पनि बाढीको समयमा नदीको तिरमा ठूलो माछा आउने भएकोले माछा मार्न जाल लिएर आएको बताए ।

प्रकाशित: ३१ असार २०७७ १३:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App