१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

११ जना थपिँदा चार दिनमा मृतकको संख्या ७१ पुग्यो

बाढीपहिरो

फाइल तस्बीर

देशका विभिन्न ठाउँमा गएको बाढीपहिरोमा परी थप ११ जनाको मृत्यु भएको छ भने चारजना अझै बेपत्ता छन्। योसँगै चार दिन यताको बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या ७१ पुगेको छ। अझै ४५ जना बेपत्ताको सूचीमा छन्। सोमबार तनहुँमा १० जना र मोरङमा एकजनाको मृत्यु भएको हो। तनहुँमा दुईजना बेपत्ता र दुई जना घाइते भएका छन्। मोरङमा करिब पाँच सय र संखुवासभामा ८२ परिवार विस्थापित भएका छन्। रौतहटमा बाढीले खेतीयोग्य जमिन कटान गरेको छ। त्यहाँ दर्जनौं परिवार विस्थापित छन्।  

तनहुँमा १० को मृत्यु, दुई बेपत्ता  

पहिरोमा परेर तनहुँमा १० जनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन्। दुईजना घाइते छन्। सोमबार बिहान बाढीपहिरोले व्यास नगरपालिकामा चारजना, रिसिङ गाउँपालिकामा पाँचजना र म्याग्दे गाउँपालिकामा एकजनाको मृत्यु भएको तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।  

पहिरोमा पुरिएर रिसिङमा मृत्यु हुने पाँचजना एकै परिवारका हुन्। रिसिङको भंैसीकिलीमा आइतबार रातिको पहिरोमा परी बेपत्ता हुनेहरूको प्रहरी र स्थानीयले खोजी गर्ने क्रममा मृत भेटिएको प्रहरी उपरीक्षक पौडेलले बताए। स्थानीय अनबहादुर थापाका ३० वर्षीय छोरा भेषबहादुर, २९ वर्षीय बुहारी नानुमाया, पाँच वर्षीया नातिनी अमिशा, २२ वर्षीय छोरा महादेव र १९ वर्षीया बुहारी मनिसराको मृत्यु भएको हो। अनबहादुरकी पत्नी ६० वर्षीय ज्योतिमायाको पोखरामा उपचार भइरहेको छ। त्यहाँ बेपत्ता भएकाको खोजीका लागि सशस्त्र प्रहरी बलसँगै प्रहरी युनिट खटिएको छ।  

यसैगरी व्यास–९ माझफाँटमा केशर थापाको घर पहिरोले पुरिँदा ४० वर्षीय कमला थापा, २४ वर्षीय छोरा मनोज थापा र २१ वर्षीया छोरी अन्जना थापाको मृत्यु भएको छ। पहिरोमा परी २० वर्षीय राजेश थापा बेपत्ता र केशर थापा घाइते छन्। घाइते थापाको पोखरास्थित गण्डकी अस्पतालमा उपचार भइरहेको छ। सोही स्थानकी ७० वर्षीया मैतकुमारी घर्तीको पनि पहिराले पुरिएर मृत्यु भएको छ। पहिरोमा बेपत्ता भएकाको नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा खोजी भइरहेको छ।  

त्यस्तै म्याग्दे–६ की १७ वर्षीय लक्ष्मी विक पहिरोले घर भत्किएर गम्भीर घाइते भएकी थिइन्। उपचारका क्रममा रत्नहरि अस्पताल दमौलीमा उनको मृत्यु भएको छ।  

व्यास–११ राम्चेमा पहिरोले पुरिँदा एकजना बेपत्ता छन्। भाइको घर गएका पदम चेपाङ पहिरोले पुरेर बेपत्ता भएका हुन्। उनको खोजी जारी रहेको वडाध्यक्ष नीरबहादुर खड्काले जानकारी दिए।  

मोरङमा एकको मृत्यु, सयौं परिवार विस्थापित

विराटनगर महानगरपालिका–१६ का रोमन कामतको घरछेउमा बाढीले जमेको पोखरीमा डुबेर मृत्यु भएको हो। बाढीपहिरोका कारण बेपत्ता हुनेमा रतुवामाई नगरपालिका–७ का अरुण ऋषिदेव र मोरङ केराबारी गाउँपालिका–२ मा एक महिला छन्। स्थानीय रतुवाखोलाले बगाएर ऋषिदेव बेपत्ता भएका हुन्। यस्तै केराबारी–२ मा पहिरोले पुरिएर एक महिला बेपत्ता भएकी हुन्। महिलाको पहिचान खुल्न नसकेको मोरङ प्रहरीले जानएको छ। मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईका अनुसार बाढीका कारण मोरङमा पाँच सय बढी विस्थापित भएका छन्। केसलिया खोला बस्तीमा पस्दा विराटनगर–४, १२, ६ र १६ नम्बर वडा डुबानमा परेको हो। डुबानमा परेर विस्थापित भएकालाई स्थानीय मन्दिर र विद्यालयहरूमा राखिएको छ। डुबानबाट विस्थापित भएकालाई विराटनगर महानगरपालिकाले राहतको व्यवस्था गरेको जनाएको छ। यस्तै मोरङको चिसाङ, बक्राहालगायत खोलाको बाढीले विभिन्न स्थानका धान खेत डुबानमा पारेका छन्।  

संखुवासभामा ८२ परिवार विस्थापित

संखुवासभाको सिलिचोङ गाउँपालिकाका ८२ घरपरिवारका तीन सय ४९ जना विस्थापित भएका छन्। पहिरोले क्षति पुगेको र उच्च जोखिममा भएका ती परिवारलाई गाउँपालिकाले सुरक्षित स्थानमा लगेको छ। उनीहरूलाई प्रदेश १ सरकारले आवश्यक राहत तथा खाद्यान्न पठाउने तयारी गरेको छ। प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद् महशाखा प्रमुख कमल थापाका अनुसार संखुवासभाको विस्थापित परिवारलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत राहत सामग्री पठाउने तयारी गरिएको छ। मौसम अनुकूल भएलगत्तै सेनाको हेलिकोप्टरमार्फत राहत सामग्री संखुवासभा पठाउने उनले बताए।

‘राहत सामग्री विराटनगर एयरपोर्ट पु¥याइसकिएको छ। मौसम सुधार भएर हेलिकोप्टर आएपछि पठाउँछौं,’ उनले भने, ‘सबै परिवारलाई टेन्ट, चामल, दाल, नुन, तेल पठाउँदैछौं।’ विपद् महाशाखाका अनुसार ८२ थान टेन्ट संखुवासभा पठाइनेछ भने चामल ३० केजी, दाल चार सय केजी, नुन दुई सय केजी र खानेतेल १७ कार्टुन तयारी अवस्थामा राखिएको छ।

सिलिचोङ पहिरोमा बेपत्ता ११ जना अझै भेटिएका छैनन्। गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले पहिरोले विस्थापित र उच्च जोखिममा परेका वडा १ का चेप्चेवा र बेसिन्दावासीलाई सुरक्षित स्थानमा राखिएको छ।  

बस्ती जोगाउन सशस्त्रसँगै स्थानीय

वाग्मती नदीमा आएको बाढी बिस्तारै कम हुँदै गएपछि रौतहटको ब्रह्मपुरी गाउँनजिक कटान तीव्र बनेको छ। आइतबार बिहानदेखि नदीले कटान सुरु गर्दा तटबन्ध जोगाउन बनाइएको स्परलाई बाढीले क्षति पु¥याउन थालेपछि मर्मत गर्न सशस्त्र प्रहरीसँगै स्थानीय जुटेका छन्। राजदेवी नगरपालिका–९ ब्रह्मपुरी टोलदेखि पूर्व र उत्तरतर्फ बनाइएको तटबन्ध पनि वाग्मतीले कटान गर्न थालेको छ।

तटबन्ध कटानले स्थानीय ब्रह्मपुरी, मुडवलवा, लक्ष्मीपुर, बेलबिछवासहित सदरमुकाम गौरसमेत डुबानको उच्च जोखिममा परेको छ र। ाजदेवी नगरपालिकाको आर्थिक सहयोगमा स्थानीय बासिन्दा तथा सशस्त्र प्रहरीले युद्ध स्तरमा भासिँदै गरेको स्पर जोगाउन जुटेको नगर प्रमुख धीरेन्द्रकुमार सिंहले बताए।  

रौतहटकै देवाही, करुनिया, जिगडवा बेलबिछवा, वैरिया बलुवा, बन्जरहा कटानको समस्याबाट स्थानीयलाई चिन्तित बनाएको छ। वाग्मती नदीले ब्रह्मपुरीबाहेक बसतपुर, दुर्गा भगवतीको बडहर्वा, मत्सरी, माधवनारायणको पिपरा रजवाडा, धर्मपुर, गढीमाईको लक्ष्मीपुर तथा सर्लाही हजरिया खर्सालमा बाँध कटानमा परेको छ।  

(विनोद सुवेदी/विराटनगर, रोहित राई/धरान, मालाती मोक्तान/धनकुटा र श्रीहरि पौडेल/तनहुँको सहयोगमा)

प्रकाशित: ३० असार २०७७ ०२:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App