बर्खामा भोटेकोसी नदी बर्सेनी बहुलाउँछ। यो साल पनि बहुलाउन थालिसक्यो। भोटेकोसी बढेपछि तीन दिनदेखि सुतेका छैनौं। भोटेकोसी गाउँपालिका–४ बोलेपा हाम्रो गाउँ हो। खासा (तिब्बत÷चीन) नजिकैको हाम्रो गाउँमा त्यस्तै १५–१६ घरपरिवारको बसोबास छ। हाम्रो गाउँको मुखैमा भोटेकासी जलविद्युत् आयोजनाको बाँध छ। आयोजनाले शुक्रबार बिहान चार बजे बाँध खोलिदियो। ह्वात्तै आएको नदी हाम्रो बस्तीतिर सोझियो, कटान गर्न थाल्यो। तीन घर तत्कालै लच्किए।
चिया पनि खाएका थिएनौं। गाउँमा भागदौड सुरु भयो। बिरामी आमा बोकेर परिवारका पाँच सदस्यसहित हामी पनि भाग्यौं। भोटेकोसी किनारमै गाउँ नजिकै केही ठूलो चौर छ। सबै भागेर आउँदा ७०–८० जना जम्मा भयौं। यहाँ आएपछि झन् ठूलो आपत् आइलाग्यो। सुरक्षित स्थलमा जाने बाटाघाटा नै बन्द रहेछन्। एउटा झोलुंगे पुल क्षतिग्रस्त छ। अर्को पक्की पुल छ तर बीचमा पहिरो खसेको रहेछ। अन्त जाने बाटो नभएपछि सबै चौरमा बसेका छौं। भोटेकोसीले बस्ती तानिरहेकाले गाउँ जाने अवस्था छैन। तीन घर बगिसके। केही घर नदीतिर ढल्किएका छन्।
चौरमा पनि शान्तिले बस्न पाएका छैनौं। माथि पहरोबाट दुई पटक चट्टाने ढुंगा खसिसक्यो। धन्न लागेन। बिहानदेखि केही खान पाएका छैनौं। भिजेर बसिरहेका छौं। भाग्दा ल्याएका छाता, प्लास्टिक ओढे पनि त्यसले थेगेन। बूढाबूढी र केटाकेटीलाई जोगाउन मुसिकल परिरहेको छ। हुन त हामी पनि यसरी कति समय जोगिन सक्छौं, थाहा छैन। भोटेकोसी कटान र बाढी पहिरोको घेराबन्दीमा छौं। प्रहरी प्रशासन, गाउँपालिकाका मान्छे कोही आएका छैनन्। उनीहरु पारि सडक (अरनिको राजमार्ग) मा देखा पर्छन् कि भनेर बाटो हे¥यौैं। अहिलेसम्म आएका छैनन्। घर पनि छैन। रात पर्न लाग्यो, अब कहाँ जाने ? के खाने ? यसरी कतिञ्जेल बाँचिएला र ? आज राति (शुक्रबार) मरिएन भने भोलि (शनिबार) प्रशासनलाई फोन गरौंला !
(नागरिककर्मी ध्रुव दङ्गालले बाढीपहिरोपीडित भोटेकोसी–४ की ३७ वर्षीया शेर्पासँग शुक्रबार टेलिफोनमा गरेको कुराकानीमा आधारित।)
प्रकाशित: २७ असार २०७७ ०२:०० शनिबार