४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

जुम्ला प्रशासनमा डिजिटल बडापत्र

जिल्ला प्रशासन कार्यालय जुम्लामा डिजिटल बडापत्र राखिएको छ । यसअघि खस भाषामा अडियो बडापत्र राखिएको जुम्ला प्रशासनमा पहिलो पटक डिजिटल बडापत्र राखिएको हो । 

डिजिटल बडापत्रमा खसभाषाको अडियो बडापत्र पनि कायमै छ । स्पष्ट बुझिने भाषा शैलीमा बडापत्र तयार भएकोले सेवाग्राहीलाई सेवा लिन सहज भइरहेको छ । गुठिचौरका धनप्रसाद न्यौपाने यो बडापत्रले प्रशासनिक कार्य सम्पादनमा सहजता ल्याउने बताउँछन् । उनी दृष्टिविहीन हुन् । तर आखाँले देख्न नसकेपनि कानले खसभाषामै बडापत्र पढेको सुन्दा खुसी लागेको प्रतिक्रिया दिए ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले पछिल्लो समयमा सेवालाई प्रविधिसंग जोड्न पहल गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले रिवन काटेर डिजिटल बडापत्र सञ्चालनमा आएको घोषणा गरेका थिए । 

डिजिटल बडापत्रले सार्वजनिक सेवा प्रवाहमा सूचनाको पहुँचमा सहजता ल्याउने बताए । उनले भने, ‘डिजिटल बोर्ड खसभाषाको अडियोमा सुनिने र कम्प्यूटरमा देखिने भएकाले सबै प्रकारका नागरिकहरुलाई सूचनाको पहुँच पुग्नेछ ।’ बडापत्र सञ्चालन गर्दै प्रमुख जिल्ला अधिकारी थापाले यहाँको आवश्यकता र पहिचानका आधारमा सेवाप्रवाहमा जोड दिनुपर्ने बताए । उनले भने, ‘कुनै पनि सरोकारवालाले सहजै रुपमा सेवाग्राहीको पिरमर्का बुझ्ने वातावरण सिर्जना गर्नु जरुरी छ । यो बडापत्र एक उदाहरण हो ।’

जिल्लाका सबै सरकारी कार्यालयहरुले सामान्य निवेदनको खाकादेखि हेल्पडेक्ससम्मको व्यवस्था गर्नुपर्ने, मुस्कानसहितको सेवादेखि सूचनामैत्री कार्यालयमा जोड दिनुपर्ने बताए । कुनै पनि काम गर्न इच्छाशक्तिको आवश्यकता पर्दछ । उनले भने, ‘सेवाग्राहीलाई सहज बनाउने केही सिर्जनात्मक कार्य गरौँ । यो नै सबैको हितमा हुनेछ ।’ उनले सुशासन, पारदर्शिता र प्रभावकारी कार्यसम्पादनका लागि सबैको साथ चाहिने बताए । 

कर्णाली प्रदेश सामाजिक विकास कार्यालय जुम्लाको आर्थिक सहयोगमा डिजिटल बडापत्र बन्यो । सामाजिक विकास कार्यालयका प्रमुख वलविर सुनारले भने, ‘यो बडापत्रको बहुउपयोगी रुपमा सदुपयोग हुनेछ ।’ सामाजिक विकास मन्त्रालय र सामाजिक विकास कार्यालय जुूम्लाको सहयोगमा नागरिक बडापत्र बनेको हो । 

नागरिक बडापत्रसंगै सामाजिक विकास कार्यालयको सहयोग र रेडियो कणाली जुम्लाको समन्वयमा सुरक्षित आप्रवासन कक्ष समेत उद्घाटन गरिएको थियो । 

यसअघि जिल्ला प्रशासन कार्यालयमा स्तनपान कक्ष, सहायता कक्ष समेत शुरुवात गरि सकिएको छ । यसैगरी जिल्ला प्रशासन कार्यालयको वेवसाईट र सामाजिक संजाललाई थप सक्रिय बनाइएको छ ।

प्रकाशित: २६ असार २०७७ ०७:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App