९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

पानी पर्दा तटीय क्षेत्रका नागरिक त्रासमा

कैलालीका तटीय क्षेत्रका नागरिक पानी पर्दा त्रासमा बस्ने गरेका छन् । सोमबार रातिदेखि लगातार वर्षा भएपछि तटीय क्षेत्रका नागरिक बाढीको त्रासले रातभर सुत्न नसकेको बताउँछन् । चैतमै नदी कटान सुरु भएको टीकापुर–८ श्रीलंकका नागरिक पानी पर्दा चिन्तित हुन्छन् । ‘नदीले कटान तीव्र पारेको छ । नदीले धार परिवर्तन गरेर जमिनमा बगिरहेको छ,’ स्थानीय झपट बुढाले भने, ’पानी पर्दा बाढी आउने डरले सुत्दैनौं ।’       

सोमबार रातिदेखि निरन्तर वर्षा भएपछि कर्णाली नदीमा पानीको बहावसमेत बढेको छ । कर्णाली नदीले कटान शुरु गर्न थालेपछि श्रीलङ्कावासी रातभर निदाउन सक्दैनन् । ‘पानी परेको बेला नदीको सतह बढ्ने र बाढी गाउँ पस्ने डरले निदाउन सक्दैनौं,’  स्थानीय शिक्षक पदम बुढा भन्छन्, ‘पानी धेरै परेको दिन हामी सुत्दै सक्दैनौं । अग्लो ठाउँमा गएर रातभर बसिराख्छौं । वर्षायाम त्रासमै बित्छ । वर्षा भइरहेको दिन ध्यान नदीतिरै हुन्छ ।’      

पहाडी क्षेत्रमा पानी परेपछि नदीमा पानीको सतह बढ्ने र कटान सुरु हुन्छ । यहाँ स्थानीयको सयौँ बिघा जमिन नदीमा मिसिएको छ । बर्सेनि नदी कटानले श्रीलङ्काका खड्क साउद, कालु साउद, गोपाल साउद, बलविरे टमट्टा, डंग्ला चौधरी र दीपेन्द्र भण्डारीसहित दर्जनौँ किसानको सयौं बिघा जमीन नदीमा मिसिएको छ । ‘नदीले बर्सेनि २० बिघाभन्दा बढी जमिन कटान गर्छ । साविक धनसिंहपुर गाविसको वडा–१ पूरै कटान भएर नदी बगिरहेको छ,’ कालु साउदले भने, ‘पछिल्ला तीन वर्षमा मात्रै हजार बिघा जति जमिन कटान भएको छ ।’      

नदी कटानले यहाँको खेतीका लागि उर्वरभूमि बालुवामा परिणत हुँदै गएको छ । ‘सबै बाली राम्रो फल्छ, बर्सेनि कटान हुँदै जान थालेपछि कतिपयले खेती लगाउनसमेत छाडेका छन्,’ साउदले भने, ’यहाँ पहिले ५०० घर थिए । अधिकांश विस्थापित भइसके । अब हामी करिब ८० परिवार मात्र छौं । हाम्रो जतिबेला पनि उठिबास लाग्न सक्छ ।’           

कैलाली र बर्दियाको सिमानामा पर्ने श्रीलङ्का बाढी प्रभावित क्षेत्र हो । बर्दियाले आफ्नो क्षेत्रमा कर्णाली नदीबाट दक्षिणतर्फ तटबन्ध निर्माण गरेपछि कैलालीतर्फ नदीको कटान तीव्र भएको हो । यहाँ  २०६० बाट नदीले कटान सुरु गरेको हो  तर पछिल्लो तीन वर्षयता कटान तीव्र छ । नदीले कटान तीव्र पारेपछि यहाँका स्थानीयले स्थानीय तहदेखि जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, प्रदेश सरकार हुँदै सङ्घीय सरकारसँग पटक–पटक गुहार मागे पनि दीर्घकालीन समाधान नभएको उनीहरुको गुनासो छ ।           

कर्णाली नदीले श्रीलङ्कामा वर्षभरि नै कटान भइरहेको टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताए  । ‘कटान नियन्त्रणका लागि प्रदेश र सङ्घमा पहल गरिरहेको छु, सुनुवाइ नहुँदा किसानले उर्वरभूमि गुमाइरहेका छन्,’ ठकुल्लाले भने, ‘बर्दियातिरबाट भएको तटबन्धभन्दा तलबाट तीव्र कटान भइरहेको छ । नदीको कटान नियन्त्रण नभए श्रीलङ्काको बस्ती नै जोमिखमा पर्छ ।’         

नदी कटान तीव्र भएपछि केही दिनअघि स्थानीयवासी आफैँले जैविक तटबन्ध गरे । नदी गाउँ पस्ने जोखिम बढेपछि स्थानीयस्तरमै रहेका झालापाता र काठको प्रयोग गरी तटबन्ध बनाएको स्थानीयवासी बताउँछन् । कर्णाली नदीमा सिँचाइ आयोजनाले विगत पाँच वर्षदेखि तटबन्ध निर्माणको काम गर्दै आएको छ । यसअघि करिब ६०० मिटर तटबन्ध निर्माण भएको छ । आयोजनाले सिद्धि साइ कन्ट्रक्शनलाई एक हजार ६०० मिटर तटबन्ध निर्माणका लागि ठेक्का दिएको थियो । निर्माण कम्पनीले समयमै तटबन्ध नगर्दा बस्ती जोखिममा परेको हो । ‘हरेक वर्ष निर्माण कम्पनीलाई दबाब दिँदै आएका छौं,’ वडाध्यक्ष ठकुल्लाले भने, ‘ठेकेदारको लापरवाहीले समयमै तटबन्ध निर्माण भएन, तटबन्ध नबन्दा बस्ती सखाप हुने चिन्ता बढेको छ ।’ वडाध्यक्ष ठकुल्लाले बस्ती कटानबाट कसरी जोगाउन सकिएला भनी सिँचाइ आयोजना र नगरपालिकाबीच छलफल भएको बताए ।       

सीमास्तम्भ नदीमा मिसिँदै           

कर्णाली नदीले तीव्र कटान गर्न थालेपछि नेपाल–भारतका सीमास्तम्भ बर्सेनि नदीमा मिसिन थालेका छन् । यस वर्ष कर्णाली नदीले दुई देशको दशजगा क्षेत्रमै वैशाख पहिलो सातादेखि नै कटान शुरु गरेको थियो । नदी कटानले यस वर्ष श्रीलङ्कामा रहेको ७०१-१ नम्बरको सहायक सीमास्तम्भ नदीमा मिसिएको छ । कर्णाली मात्र नभई सीमाक्षेत्र भएर बग्ने मोहना नदीले समेत दुई देशका सीमास्तम्भ बगाउँदै आएको छ । कर्णाली र मोहना नदीले टीकापुर नगरपालिकाअन्तर्गत पर्ने सहायक पिलरहरु ७०२, ७०३ र ७०४ बगाएको छ ।      

टीकापुर नगरपालिकाभित्रका चार मुख्य र १० सहायक सीमास्तम्भ नदीमा हराएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल खक्रौलाका इञ्चार्ज चन्द्रदेव भट्टले जानकारी दिए । ‘यस वर्ष सीमास्तम्भ मर्मतको काम भयो, नेपाल र भारत मिलेर सीमा रहेका स्तम्भ स्तरोन्नति गर्ने कार्य भयो,’ भट्टले भने, ‘तर नदीमा बगेका सीमास्तम्भबारे केही गरिएन । सीमास्तम्भ नदीमा हराउँदा नेपाल– भारतको सीमामा समेत असर गर्छ ।’           

लगातारको कटानले कैलाली र बर्दिया जोड्ने कर्णाली नदीमा रहेको सत्ती पुलसमेत कटानको जोखिममा छ । सुदूरपश्चिम प्रदेशको टीकापुर र प्रदेश नं ५ राजापुरलाई जोड्ने हुलाकी राजमार्गअन्तर्गत कर्णाली नदीको सत्तीघाटमा निर्मित पुल कटानको जोखिममा परेको हो । तीन वर्षदेखि नदी कटानले गर्दा पुलको राजापुरतर्फको किनारमा ठूलो प्वाल परेको छ । पुलको अन्तिम पिलरसँगै बनाइएको ताराजालीसहित तटबन्ध बर्सेनि भासिँदै आएको छ ।

टीकापुर नगरपालिका–८ वनगाउँका स्थानीय गम्भीर साउद श्रीलङ्कातर्फ नदीको कटान हुँदा पुलसमेत जोखिममा परेको बताउँछन् । ‘कटानले नदी गहिरो हुँदा पुल छेउको जाली भासिएको हो । हरेक वर्ष मर्मत हुन्छ, फेरि भासिन्छ, पुल नै जोखिममा परेको छ,’ उनी भन्छन् । प्वाल परेको ठाउँमा तारजाली राखेर सवारी साधन आवतजावत गर्ने व्यवस्था गरिएको छ । पुल किनारमा परेका प्वालका कारण सवारी साधनलाई आवातजावतमा समेत समस्या हुने गरेको छ ।     

प्रकाशित: २४ असार २०७७ ०५:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App