९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

कतै सुनिएनन् असारे भाका

पोखरा क्षेत्रमा धान रोप्दै किसान। तस्बिरः उमेश पुन

असारे खाजा जर्नेली धानको चिउरी (चिउरा) कुँटौला

अनदी धानको सिरम्ला बनाई खट्टे नि भुटौंला

सेलरोटी घुमाई झिलिंगा फुराई दहि र मोही ठेकिमा  

सोलीमा बोकि लानुछ खाजा रोपाइँ छ बेसीमा

लोकगायिका हरिदेवी कोइरालाले करिब तीनदशक अघि रेडियो नेपालमा यो असारे गीत रेकर्ड गराएकी थिईन। तर, त्यो बेला रेकर्ड गराएको यो गीत उनले धेरैतिर खोज्दा पनि अहिले भेटिनन्। आफुले गाएका अरु धेरै असारे भाका रेकर्डरमा भेटेपनि यो गीत भने उनले केहिगरि फेला पारिनन्। आफैले गाएको गीत फेला नपारेपछि उनले यो गीतलाई आफैले गुन्गुनाएर सोमबार सामाजिक सञ्जालमा पोष्ट गरिन्।  

असार १५ सेरोफेरोका लागि गाईएको यो गीतले त्यो बेलाको खेतरोपाइँ, खाजाको परिकार, पोखरा क्षेत्रमा खेती हुने रैथाने धानलाई झल्काउँछ। पोखरा क्षेत्रमा स्वादिष्ट मानिएको जर्नेली धानको चिउरा, अनदी धानको सिरम्ला, खट्टे, सेलरोटी, झिलिंगा, दहि र मोही  त्यो बेला रोपाइँका मुख्य खाजा थियो। अहिले भने यो धानको उत्पादन पनि घट्दो छ र असारमा यस्तो खाजा खुवाउन पनि छाडिसकिएको छ।  

‘त्यो बेलाको धान रोप्दा गाउने गीत हो, असारमा यस्तै गीत गुन्गुनाउँदै धान रोप्ने चलन थियो,’ कोइरालाले सुनाईन, ‘असार १५का दिन निकै नै रमाइलो हुन्थ्यो। घरघरमा खाजा बाँड्ने, चखाउने चलन थियो। अहिले त सबै हरायो।’ यो पटक त कोरोना भाईरसको मारले झनै कतै पनि असारे गीत सुन्न नपाएको उनले सुनाईन। ‘अहिले त असारो गीत होइन, तीजका गीत सुन्न थालियो,’ कोइरालाले भनिन, ‘असारे गीत त सबैले भुल्दै गएका थिए। यो पटक त झनै कोरोनाले कतै सुन्न पाइएन,’ उनले भनिन्।

कोइरालाले भने झैं यो पटक असार १५ मा पोखरा क्षेत्रमा असारे गीत सुनिएनन्। असारको अरु दिन पनि यस्ता भाका गुन्जेका छैनन। असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा पनि मनाउने गरिएको छ। ‘मानो रोपेर मुरी फलाउने’ दिनको रुपमा पनि यसलाई बुझ्ने गरिएको छ। त्यसबाहेक हिलो खेल्ने र दहीचिउरा खाने दिनको रुपमा पनि यो दिनको सम्झना गरिन्छ। ‘कोरोनाका कारणले कतै जमघटको अवसर यो पटक जुरेन,’ उनले भनिन, ‘रोपाइँका महोत्सव पनि कतै भएनन्। त्यसैले गीत सुन्ने त कुरै भएन। संक्रमणको त्रासले खेताला समेत नखोजी परिवारले खेत रोपेका छन्। मनमनै गुन्गुनाए बाहेक बाहिर गीत सुन्ने मौका जुरेन।’

मुलुक कोरोना भाईरस संक्रमणको महामारीमा छ। कोरोनाका कारण योपटक असार १५ का दिन पोखरा क्षेत्रमा हुँदै आएका धान रोपाइँसँग सम्बन्धित रोमाञ्चक सबै गतिविधि रोकिए। पोखरा क्षेत्रमा हुने रोपाई महोत्सव यो पटक कतै आयोजना भएनन। पर्यटन व्यावसायी, कृषि, महिला समूहले विभिन्न फाँटमा यो दिन रोपाइँ महोत्सव आयोजान गर्दै आएका थिए तर, यो पटक भने ती कसैले यो पटक रोपाइँ महोत्सव गरेनन्। महोत्सव नहुँदा असारे गीत पनि सुनिएनन।  

लोकगीतका अध्येता समेत रहेका पृथ्वीनारायण क्याम्पसका प्राध्यापक कुसुमाकर न्यौपानेले असारे गीत सुन्न पाइन्छ की भनेर पछिल्ला केहीदिन पोखरा क्षेत्रका धान रोपाइँ हुन फाँटतिर डुल्दा कतै सुन्न नपाएको बताए। ‘यो पटक असारे गीत कतै सुन्न पाइएन। हेम्जा, लेखनाथका खेतखेतमा डुल्दा पनि कतै गीत गाएको सुनिन,’ अनुभव सुनाउँदै न्यौपानेले भने, ‘खेत रोप्ने मान्छेले पनि मुखमा मास्क लगाएका छन्। गीत कसरी पो गुन्गुनाउन र।’ किसान देखि लोकप्रतिभा सबैजना त्रसित अवस्थामा रहेको उनले बताए। ‘पहिला पहिला असारको यो बेला असारे भाका गुन्जिँदा खेत संगीतालय जस्तो बन्थे। तर यो पटक किसानले सकी नसकि खेतमा काम गरेका छन्। किसान रमाउन सकेका छैनन। किसानको खुसी खोसिएको छ,’ उनले भने।  

न्यौपानेका अनुसार असारे गीत असार महिना भरि गाउने चलन हो। असारको पहिलो दिनदेखि महिनाभर खेत रोप्ने बेलामा असारे भाका गाउने चलन थियो। कतिपयले खेत रोपेर सकिसक्दा साउन लागिसके पनि भाका हाल्ने गरेका थिए। ‘रोपाइँ सकेर गोरुको हिलो पखालेर नुहाईधुवाँइ गरेर सिंगमा तेल लगाएपनि बल्ल रोपाइँ सकिन्थ्यो,’ उनले भने, ‘रोपाइँ सकिएपछि गीत पनि सुनिन छाड्थे।’ रोपाइँ थाल्नु अघिको भूमि, भँयर, सिमे भूमेको पुजा गर्र्ने पनि चलन पनि अहिले हराउँदै गएको उनले बताए।  

‘अब यी गीत गाउने मान्छे पनि छैनन। खेत रोपेका ठाउँमा पनि अहिले त्यसरी गाउने चलन नै हट्यो। यो पटक त झनै महामारीको मारमा पर्योक,’ उनले भने, ‘अघिल्ला वर्षका महोत्सवमा पनि वास्तविक असारे भाका गाउने चलन थिएन। तडकभडक बढी हुदै गएका थिए। असारे संस्कृतिका गीत गाउने चलन महोत्सवमा थिएन। आधुनिक लोकगीतले महत्व पाएका थिए। यो पटक ती सबै अबसर गुम्यो।’

पोखराका पर्यटन व्यावसायीको छाता संस्था पोखरा पर्यटन परिषद् (पिटिसी)ले हरेक वर्ष असार १५ का दिन रोपाइँ महोत्सव आयोजना गर्दै आएको थियो। परिषद्ले हरेक वर्ष पोखराका फरक फरक ठाउँमा रोपाइँ महोत्सव गर्दै आएकोमा अहिले पटक पटक १७ औं संस्करण रोकिन पुगेको परिषद् अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए। ‘१६ वर्ष नियमित रुपमा रोपाँइ महोत्सव आयोजना गर्यौष। १७ औ संस्करण कोरोना भाईरस संक्रमणका कारण रोकियो,’ पोखरेलले भने, ‘विशेष परिस्थिति आइपरेकोले रोक्न बाध्य भइयो।’

संक्रमण हुँदैनथ्यो भने पर्यटक नहुँदा पनि महोत्सव आयोजना गर्ने योजना परिषद्को थियो। तर, संक्रमणका कारण सरकारले पनि गतिविधि नगर्न भनेको र संक्रमण फैलन नदिन पनि महोत्सव रोक्न बाध्य भएको उनले बताए। ‘विदेशी पर्यटक बिनाको महोत्सवको कल्पना गरेको होईनौ। तर, यो पटक पर्यटक भन्दा पनि भाईरस संक्रमणको त्रास बढी भयो,’ उनले भने, ‘दुलहा दुलही बिनाको विवाह जस्तो गरि महोत्सव गर्न चाहेनौ। फेरि सरकारले जमघट नगर्न पनि भनेकोले यो पटक महोत्सव हुन सकेन।’  

परिषद्ले वर्षेनी पोखरामा फरक ठाउँमा गर्दै आएको महोत्सवमा विदेशी र स्वदेशी पाहुना सहित हजारौं दर्शकको भीडभाड हुने गरेको थियो। हिलोमा गरिने विभिन्न रोचक गतिविधिले यो महोत्सव पोखरेली माझ निकै नै परिचित थियो। यसको प्रभावले पोखरा आएका विदेशी पर्यटकको बसाई अवधि बढाएको र महोत्सवकै लागि भनेर पनि विदेशी पाहुना आउने गरेको व्यावसायीले बताउने गरेका छन्।  

 

 

प्रकाशित: १५ असार २०७७ १३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App