८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

कोरोना संक्रमणबाट मृत्यु भएका प्रति समाज किन अनुदार ?

पोखरामा विहीबार शव व्यवस्थापनमा स्थानीयले गरेको अवरोध। फाइलन तस्बिर नागरिक

कोरोना भाईरस संक्रमणले पोखरामा उपचाररत दुईजना व्यक्तिको ज्यान गयो।  संयोग नै मान्नुपर्छ, दुवैजना मृतक स्याङजाका पुरुष हुन्।  फरक जातजातीका ती मृतकद्वयको अरुबेलाको अन्तिम संस्कारको शैली फरक थियो।  तर, कोरोनाले मृत्यु भएकोले संक्रमण फैलने डरले सुरक्षानिकायले विशेष सावधानी अपनाएर दुवै मृतकलाई एउटै विधिबाट व्यवस्थापन गर्ने निधो गर्योभ।  

शव व्यवस्थापनको निधो त भयो, तर, व्यवस्थापनमा जुटेको टिमलाई भाईरस संक्रमणको भन्दा बढी चुनौती समुदायबाट तेर्सियो।  व्यवस्थापनका लागि तोकिएको ठाउँसम्म शव पुर्या उन र गाड्नका लागि सामाजिक तगारो लाग्यो।  निकै नै चुनौतीका बाबजुत तोकिएको ठाउँ फेर्दै बल्लतल्ल शव व्यवस्थापन भयो।  

गण्डकी  प्रदेशको मुकाम पोखरा सामाजिक रुपमा उदार सहर हो।  जस्तोसुकै आन्दोलन होस वा आमहड्तालका बेला पनि यहाँ एम्बुलेसन्स, दमकल, शवबाहन, अपांग, वृद्धवृवद्धा, बालबालिका, सुत्केरी, अशक्तलाई हिडडुलमा हत्तपत्ति अवरोध हुँदैन।  बरु, भईरहेको अवरोध हटाएर सहज बनाउने यहाँ चलन छ।  यतिसम्मकी अप्ठेरोमा परेका जोसुकै व्यक्तिको सहयोगका लागि पनि यहाँको समाज जुरुक्क उठ्ने गर्छ।  कहिँकतै परेको प्राकृतिक विपद्को बेला त यहाँको समाजले झनै हातेमालो गर्दै सघाउँदै आएको छ।  जस्तोसुकै विपद्का बेला हातमा हात मिलाई सहयोग गर्न पोखरेली तम्तयार हुन्छन्।  

तर, कोरोनाको यो त्राहिमाममा भने पोखराले त्यो भावना बिर्सेको गुनासो सुनिन थालेको छ।  कोरोनाले ज्यान गुमाएका व्यक्तिप्रति केहीले देखाएको व्यवहारले पोखरेलीलाई पीडा भएको छ।  महामारीले आफन्त गुमाएका परिवारलाई त पीडा थियो नै त्यसमाथि अन्तिम संस्कार समेत आफैं  गर्न नपाउँदा उनीहरुमा झनै पीडा थपिएको थियो।  आफन्तको त्यो पीडा त्यत्तिमा मात्र सिमित हुन सकेन, मृतकको शव व्यवस्थापनमा निम्तिएको अवरोधले आफन्त गुमाएर छटपटिएका ती परिवारलाई झनै विक्षिप्त बनाएको छ।  आफन्तको शव व्यवस्थापनमा आएको अवरोधबारेको समाचार संचारमाध्यममा च्याउसरी फैलिँदा परिवारको मन कस्तो भयो होला भनेर अहिले पोखराले चिन्ता जनाउन थालेको छ।    

शान्त, सहयोगी र सधैं हातेमालो गर्ने पोखराको समाज कोरोनाका मृतकप्रति किन अनुदार बनेको भन्ने प्रश्न अहिले उब्जिन थालेको छ।  संस्कृतिकर्मी तीर्थ श्रेष्ठ शव व्यवस्थापनमा भएको व्यवहारले पोखरालाई कलंकको ट्याग लागेको बताउँछन्।  ‘पोखरा जति सुन्दर छ, सुन्दर ठाउँका मान्छेको मन सुन्दर छ भन्ने जुन भनाई थियो, अब कलंकको ट्याग लाग्यो,’ श्रेष्ठले भने, ‘पोखराको प्रतिष्ठालाई आघात पुगेको छ।  पोखरा अनुदारको सहर बन्यो। ’ महामारीको बेला मानवता देखाउने अवसर हो भनेर कसैले नसम्झाएकोले पोखरेली चुकेको उनले बताए।  

 कोरोनाले ज्यान गुमाएका व्यक्तिप्रति केहीले देखाएको व्यवहारले पोखरेलीलाई पीडा भएको छ।  महामारीले आफन्त गुमाएका परिवारलाई त पीडा थियो नै त्यसमाथि अन्तिम संस्कार समेत आफैं  गर्न नपाउँदा उनीहरुमा झनै पीडा थपिएको थियो।  आफन्तको त्यो पीडा त्यत्तिमा मात्र सिमित हुन सकेन, मृतकको शव व्यवस्थापनमा निम्तिएको अवरोधले आफन्त गुमाएर छटपटिएका ती परिवारलाई झनै विक्षिप्त बनाएको छ।  

शव व्यवस्थापन गर्न जुन बाधा भयो, त्यसले अमानवीय व्यहावहार देखिएको उनले बताए।  ‘सदभाव, मेलमिलापको सहरमा कलंक लागेको छ।  तर कलंक लाग्न नदिन सचेतना अपनाउनुपर्नेमा चुकेका छौ,’ श्रेष्ठले भने, ‘पोखराको छवि बिग्रने काम भएको छ।  पोखरामा मानवीय व्यहावहार हुँदैन भन्ने छाप पर्न सक्छ। ’  

अवरोध गर्ने व्यक्तिहरु आफै अमानवीय बनेका हुन् वा परिस्थितिले उनीहरुलाई अमानवीय बनाएको भन्नेमा खोज्नुपर्ने उनले बताए।  ‘शव व्यवस्थापन गर्ने ठाउँका मानिसमा सुरक्षाको प्रत्याभूतिबारे चेतना नजगाएको प्रमाण हो,’ उनले भने, ‘जनतालाई सुसुचित नबनाउँदाको परिणाम देखिएको हो।  सरोकारवाला  त्यो ठाउँमा पुगेर सुरक्षाको विधिबारे बताए की बताएनन् भन्ने पनि रहन्छ। ’

शव व्यवस्थापनको अवरोधले अमानवीय व्यवहार भने देखिएको उनले बताए।  यो हुनुमा डर, अज्ञानता रहेको श्रेष्ठको भनाई छ।  तीनैतहका सरकारको जनतालाई सुसुचित गर्न नसकेको अवस्था यहाँ सिर्जेको उनले बताए।  ‘शवबाट कति समयमा संक्रमण फैलिन्छ वा फैलिन्न भन्ने ज्ञान कसैलाई छैन।  शव व्यवस्थापनको ठाउँ पनि निश्चित छैन,’ उनले भने, ‘यसको पछाडि स्थानीय सरकारको भूमिकामाथि प्रश्न उठेको छ।  महानगरले कमसेकम सुरक्षित मानिएको ठाउँ तोक्नुपर्छ। ’  

शवबाट आम मान्छेलाई संक्रमण हुँदैन, शवलाई विशेष प्याकिङ गरिन्छ र त्यसबाट सर्दैन भनेर बुझाउन नसक्दा विरोध आउने गरेको उनले बताए।  ‘भाइरसको संक्रमणबाट आम मान्छे सुसुचित भएका छैनन् भन्ने प्रमाण हो,’ उनले भने, ‘मोवाइलको रिङटोनमा बाहेक अन्यत्र सूचना कतै आएनन।  सूचना आउनुपर्ने नै आएको छैन।  समुदायमा सुसुचित गर्न चुकेका छौ। ’  

समाजशास्त्री पनि समाज अराजक बन्दै जाँदा यस्ता घटना थपिने बताउँछन्।  पृथ्वीनारायण क्याम्पसका समाजशास्त्रका प्राध्यापक डा. विश्वकल्याण पराजुली भन्छन्, ‘राज्य बलियो हुन नसक्दा समाज अराजक बन्दै गएको हो।’ कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव कस्तो ठाउँमा कसरी व्यवस्थापन गर्ने भन्नेमा राज्यले कठोर निर्णय गर्न नसक्दा यस्ता अवरोध आउने गरेको उनले बताए।  ‘विरोध गरेपछि अन्यत्र लगिहाल्छन कि भनेर स्थानीयस्तरमा अवरोध आउँछ।  तर, राज्य ती विरोधसँग डराउने नभई बलियो भएर तोकिएको ठाउँमा व्यवस्थापन गर्न सक्षम हुनुपर्छ,’ पराजुली भन्छन, ‘शव नै गाड्न दिन्न भन्नु चाँही अराजक काम हो। ’  

विरोध आयो भन्दैमा राज्यले ठाउँ सार्दा अरुले खेल्ने मौका पाउने उनले बताए।  ‘स्थानीयस्तरबाट विरोध आयो भनेर सरकारले शव व्यवस्थापनका लागि तोकिएको ठाउँ बारम्बार सार्ने गरेको छ।  त्यसो गर्दा विरोध आउन सहज भएको हो।  सरकार आफु बलियो बनेर तोकेको ठाउँमा व्यवस्थापन गर्न सक्नुपर्छ,’ पराजुलीले भने, ‘विरोध आयो भनेर बारम्बार ठाउँ सार्दा सरकार नै चुकेको छ।  समुदायले बार्गेनिङ गर्ने ठाउँ पाएका छन्।  अराजक प्रवृति जन्मिनुमा राजनीति हावि भएर हो। ’  

संसारभरि न व्यक्तिको हातमा समाज नरहेको उनले बताए।  यतिबेला कोरोनाका मृतकको अन्त्येष्टि राज्यबाट हुन थालेको छ।  प्राथमिक समूहमा पर्ने नातागोता ओझेलमा परेका छन् भने दोश्रो पक्ष (राज्य)ले नियन्त्रण गरेको उनले बताए।  ट्रयाकमा नआएको राजनीतिक दिशाले अहिले समाज अराजक बन्दै गएको उनले बताए।  ‘ट्रयाकमा नआएको राजनीतिक मुभमेन्टले यस्ता विरोध निम्म्तिएका हुन्।  किनभने जब समाजमा नियम नभई शक्तिशालि व्यक्ति हावी हुन्छ, त्यो बेला निर्णय फेरिन्छ,’ उनले भने।  पराजुलीले भने झैं पोखरामा कोरोनाले ज्यान गुमाएका पहिलो व्यक्तिको शव व्यवस्थापन गर्न खोज्दा तीन पटक ठाउँ फेरिएको थियो।  विहीबार पनि त्यस्तै अवस्था आएको थियो।  

अर्का विश्लेषक तथा समाजशास्त्री दिनेश प्रसाइँ पनि महामारिको बेलामा मान्छेमा अनेक कुण्ठा हावि भएको बताउँछन्।  ‘अहिलेको समाजमा अमानवीय र अतिवादी सोच हावि भएको हो।  अब मानवीयताको पक्षमा हुनेले आवाज उठाउनुपर्छ,’ प्रसाँइ भन्छन, ‘बाचुन्जेल राज्यले पनि दिन सकेन।  मरेपछि पनि राज्यले सम्मान दिन सकेन।  कोरोनाको महामारीमा त लकडाउनदेखि क्वारेन्टिन व्यवस्थापन र स्वास्थ्यमा राज्य चुकेको छ। ’ मृत्युसंस्कारमा पनि सदासयता देखाउन नसक्ने हो भने समाजमा यसले चिन्ता जनाउने उनले बताए।  

‘हाम्रो समाज अराजक भन्दा पनि अमानवीय हुँदै गएको हो।  समाजको अमानवीय पक्ष हावि भएको छ,’ उनले भने, ‘सरकारको योजना नै छैन।  मृत्युपछिको संस्कार र शव व्यवस्थापनमा सरकार चुक्दा यो अवस्था आएको हो। ’  अमानवीय र अराजकता हावि हुँदा पोखराको समाजप्रति सदासयता नदेखिने खतरा बढेको उनले बताए।  अहिलेसम्म पोखराको आतिथ्यता, सम्मान, व्यवहार देखेर सबैले पोखराप्रति सदासयता देखाउँथे।  तर, यस्ता घटनाले पोखराप्रति नकारात्मक भावना झल्काउने उनले बताए।  ‘पोखराप्रति नकारात्मक दृष्टिकोण बढाउने निश्चित छ।  अब अरुले पोखरालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नेछन,’ उनले भने, ‘मिलेको समाजको पोखरा भनेपनि अब त्यो रुपमा नहेर्न सक्छन। ’  

मानवशास्त्री अमृतकुमार भण्डारी पनि मानव हुनुका आधारभूत विशेषता भुलेपछि यस्ता घटना सार्वजनिक हुने बताउँछन्।  जिम्मेवार निकायले प्रस्ट रुपमा निर्णय लिन नसक्ने र त्यो कमजोरीलाई अराजक तत्वले उपयोग गरेको उनले बताए।  ‘हाम्रो समाज अझै पनि समृद्ध र सभ्य हुन बाँकी छ भन्ने यस्तै घटनाले पुष्टि गर्छ,’ भण्डारी भन्छन, ‘महामारिको बेला भनेर त्रास बढी फैलिएको छ।  त्यसले पनि यस्तो अवस्था निम्त्याउँछ। ’ अनावश्यक डरत्रासका कारण समाजमा यस्ता उत्तेजना आउने उनले बताए।  त्यसबाहेक मानवीय व्यवहारमा लागेर स्वार्थीपना हावि हुँदा पनि यस्ता अवरोध निम्तिने गरेको उनले बताए।  ‘हामीबाट क्षेत्रबाद अझै हटेको रहेनछ,’ भण्डारी भन्छन, ‘एउटा क्षेत्रको मान्छेलाई अर्कोमा अवरोध गर्नु भनेको क्षेत्रवाद हावि हुनु हो। ’

कोरोनाबाट मृत्यु भएका व्यक्तिका शवबाट संक्रमण सर्छ की सर्दैन भनेर मान्छेमा त्रास छाएको र यसबारे प्रस्ट हुन नसक्दा यस्ता घटना हुने गरेको उनले बताए।  मानव हुनुको आधारभूत मूल्य मान्यता नै नवुझेको पोखरामा भएको घटनाबाट देखिएको उनले बताए।  ‘एकखालको अराजक गतिविधि बढाएर रमाउने टिम पनि यही समाजमा बाँकी छ,’ उनले भने, ‘त्यसैको प्रतिनिधित्व देखिएको हो।  यसले समाजमा नकारात्मकता बढाउँछ। ’  

 

 

 

प्रकाशित: १२ असार २०७७ ०९:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App