७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

प्रहरीको मोष्ट वान्टेड यादव १० वर्षपछि पक्राउ

प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका धर्मासिंह राजेश यादव । तस्बिर : नागरिक

बाँके प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका बाँके डुडुवा गाउँपालिका वडा नम्बर ३ का धर्मासिंह भनिने राजेश यादव १० वर्षपछि पक्राउ परेका छन् । तत्कालिन सशस्त्र भुमिगत समुह तराई जनतान्त्रिक मुक्ति मोर्चा(ज्वाला सिंह)मा आवद्ध रही हत्या, अपहरण, ज्यान मार्ने उद्योग, बम विष्फोट तथा फिरौती रकम माग गर्ने जस्ता विभिन्न आधा दर्जनबढी अपराधमा संलग्न रही फरार रहेका ३१ वर्षका यादवलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको हो ।  

भारतमा लुकिछिपी बस्दै आएका यादव घरमा आएको भन्ने सूचनाको आधारमा खोज तलास गर्दा मंगलबार बिहान ३ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए । अभियुक्तको साथबाट तरवार र चक्कु समेत फेला पारिएको उनले बताए । उनी विरुद्ध ज्यान सम्बन्धी कसुर, अपहरण तथा शरिर बन्धक, हात हतियार तथा खर खजना, विष्फोटक पदार्थ ऐन अनुसार सजाय हुने प्रहरीले जनाएको छ ।  

प्रहरीका अनुसार यादव नेपालगन्ज पुरैनाका वसन्त मल्ल भन्ने छन्दविक्रम मल्ललाई २०६६ भदौ २१ गते अपहरण गरी हत्या गरेको मुद्दामा फरार भएका थिए । यादव अन्य आधा दर्जन बढी अपराधिक घटनामा संलग्न रहेको जाहेरीका आधारमा उनी प्रहरीको मोष्ट वान्टेडको सूचीमा थिए ।

 

 

प्रकाशित: ९ असार २०७७ १४:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App