९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

कर्णालीमा ३४२ कोरोना संक्रमित डिस्चार्ज

भारतमा कोरोना संक्रमण फैलिँदै जाँदा रोजगारी गुमेका दैलेख आठवीस नगरपालिका–१, सात्तलास्थित ३५ वर्षीय युवक घर फर्किने निधामा पुगे। 

घर फर्कंदै गर्दा उनी महेन्द्रनगरस्थित क्वारेन्टिनमा ४३ दिन बसे। उनको आरडीटी परीक्षण गरियो। रिपोर्ट पोजेटिभ आयो। उनीमा सुखीको सीमा नै रहेन। खुसीसाथ घर फर्किएका उनी जेठ पहिलोसाता स्थानीय तहले बनाएको क्वारेन्टिनमा बसे। तीन दिनपछि उनीमा पिसिआर परीक्षण गरियो। उनले अपेक्षा गरेभन्दा फरक रिपोर्ट आयो। पोजेटिभ अर्थात् कोरोना संक्रमण भएको पुष्टि भयो। उनी अत्ताल्लिए। विश्वभरिको मृत्युको संख्याले उनलाई झन त्रास बढायो। कर्णालीका पहिलो संक्रमित उनी तीन दिन दैलेखको आइसोलेसनमा बसे। त्यसपछि थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत ल्याइयो।

‘कर्णालीको पहिलो संक्रमित भएकाले पनि डर थियो,’ उनले भने, ‘पछि कोरोना संक्रमित थपिँदै जाँदा आत्मबल बढ्यो।’ कोरोना भाइरस सामान्य अवस्थामा लागे खतरा नहुने उनले बताए। उनी जस्तै कर्णालीका कोरोना जितेकाले कोरोनाको ठूलो उपचार आत्मबल नै भएको बताएका छन्। ‘आत्मबल कमजोर भए खतरा हुन सक्छ,’ कालीकोटका एक युवकले भने, ‘त्यसैले सबैभन्दा पहिला आत्मबल ठूलो बनाउनु पर्छ।’ कोरोना लाग्दैमा खतरा नहुने भन्दै उनले सावधानी अपनाउनु पर्ने बताए। कर्णालीमा मंगलबार मात्रै एक सय ९१ जना कोरोना संक्रमितले कोरोना जितेका छन्। प्रदेश अस्पताल सुर्खेतका तीन, दैलेखको दुल्लु अस्पतालबाट २७, दैलेख अस्पतालबाट एक सय २० र सल्यान अस्पतालबाट ४१ जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन्। योसँगै कर्णालीमा हालसम्म तीन सय ४२ जनाले कोरोना जितेको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।

दीर्घ रोगी, सुत्केरी महिला, बालबालिकालाई अलि समस्या हुने भन्दै यहाँका संक्रमितहरूले नआत्तिन आग्रह गरेका छन्। ‘कोरोना लाग्दैमा मरिन्न,’ सुर्खेतका कोरोना जितेका एक युवकले भने, ‘आत्मबलसँगै रोग प्रतिरोधात्मक क्षमता बढाउने खानपिनमा पनि ध्यान दिनुपर्छ।’ आत्मबल कमजोर भए झन कोरोनाले असर गर्ने उनको भनाइ छ। घर जाने सबैको पिसिआर परीक्षण गरिएको स्वास्थ्य सेवा महाशाखाका महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए।  

स्वास्थ्य सेवा निर्देशनालयका कोरोना फोकल पर्सन डा. केएम पौडेलका अनुसार कर्णालीमा केन्द्रले दिएको निर्देशनभन्दा केही फरक गरिएको छ। केन्द्रले कोरोना संक्रमित व्यक्तिलाई १४ दिनपछि परीक्षण नगरेरै घर पठाउन निर्देशन दिएको छ। तर कर्णालीमा १४ दिनमा परीक्षण गरेपछि त्यसको पाँच दिनपछि पुनः कोरोना परीक्षण गर्ने गरिएको छ। उक्त पाँच दिनमा कोरोना पोजेटिभ वा नेगेटिभ जुन देखाए पनि घर पठाउने गरेको उनले बताए। ‘कोरोना संक्रमण भएको १० दिनपछि अर्का व्यक्तिलाई सर्दैन,’ उनले भने, ‘अरु देशमा बिरामीलाई ज्वरो ठीक हुनासाथ घर पठाउने गरेका छन्।’ कर्णालीमा सुरुवाती अवस्था भएकाले पनि यसरी काम गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। कर्णालीमा थप कोरोना संक्रमितको संख्या बढ्दै गयो भने केन्द्रकै निर्देशन पालना हुने डा. पौडेलको भनाइ छ। कतिपयमा कोरोना संक्रमण भएको ६ महिनासम्म पनि पोजेटिभ देखाउँदा हुँदा पूरै दिन राख्न समस्या हुने बताइएको छ। अस्पतालबाट डिस्चार्ज भए पनि उनीहरू होमक्वारेन्टिनमा बस्ने छन्।

कर्णालीमा हालसम्म एक हजार ८८ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये सुर्खेत, दैलेख र डोल्पाका एक/एक जनाको मृत्यु भएको छ।

 

 

 

प्रकाशित: २ असार २०७७ ११:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App