ताप्लेजुङको फुङ्लिङस्थित ट्याक्सी स्टेनछेउमा भएको आगलागीबाट पीडित भएका परिवारलाई अमेरिकामा संकलित रकम उपलब्ध गराइने भएको छ ।
अमेरिकाको न्युर्योक सिटीमा बस्दै आएका ताप्लेजुङ फुङलिङ–७ का स्थानीय पुष्कर बरालको संयोजनमा संकलित १ लाख २५ हजार रुपैयाँ ताप्लेजुङ सरोकार केन्द्रमार्फत प्रतिनिधिसभा सदस्य तथा पर्यटनमन्त्री योगेशकुमार भट्टराईलाई हस्तान्तरण गरिएको छ ।
सरोकार केन्द्रका सदस्य विद्या पौडेलले अमेरिकाबाट प्राप्त रकम सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री भट्टराईलाई हस्तान्तरण गरेका थिए । सो रकम मन्त्री भट्टराईले सोमबारै अग्निपीडितसम्म पुर्याउने गरी ताप्लेजुङ सरोकार केन्द्रका कोषाध्यक्ष मिङ्माडण्डु लामालाई हस्तान्तरण गरेका छन् । सो रकम यसै साता पीडितसमक्ष पुर्याउने लामाले बताए ।
ताप्लेजुङ सरोकार केन्द्र पेसा व्यवसायको सिलसिलामा उपत्यका गई बसोबास गर्ने ताप्लेजुङका बासिन्दाले बनाएको संस्था हो । गत १९ वैशाखमा भएको आगलागीबाट सात घर जलेर नष्ट भएका थिए भने साढे ७ करोड बढीको क्षति भएको थियो ।
प्रकाशित: १ असार २०७७ ०८:१८ सोमबार