यही जेठ १९ गते कर्णाली प्राविधिक शिक्षालय जुम्लाको जिल्ला स्तरीय एकीकृत क्वारेन्टिनमा बसेका एक स्वास्थ्यकर्मी, दुई सुरक्षाकर्मी सहित १९ जनामा कोराना पोजेटिभ देखियो । कोराना पोजेटिभ देखिएको २४ घण्टा भित्र उनीहरुलाइ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा राखियो । आइसोलेसन भित्र सामाजिक मनोविज्ञान र कोरानाबाट बच्नको लागि मनोविमर्श सहित औषधि उपचार र निगरानी गरियो । फलस्वरुप उनीहरु मध्ये १८ जनामा पिसिआर परिक्षण गर्दा कोराना नेगेटिभ देखियो । उनीहरु होमआइसोलेसनमा बस्ने गरि अस्पतालको आइसोलेसनबाट बिदाई भए ।
अस्पतालबाटा कोराना जितेर बिदाई हुदाँ उनीहरुमा एउटै मात्र चिन्ता थियो ‘गाउँघरमा जाँदा कोराना संक्रमित हुँदा अपहेलना खेप्नुपर्छ होला । घरपरिवारलाई गाउँ समाजले हेर्ने नजर नै फरक होला ।’ एक प्रकारको संकट जस्तो अनुभुति भइरहेको थियाे।यहाँका क्वारेन्टिनमा बस्ने नागरिक, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई निकै असुरक्षित भएको भन्दै गाउँमा उनीहरुका परिवारलाई हेर्ने नजरमा निकै फरक देखिन्थ्यो । कोराना संक्रमित भएर जितेका स्वास्थ्यकर्मी शुक्रराज शाही भन्छन्,‘ यहाँ कोराना जित्न सहज छ । तर सामाजिक मनोविज्ञान जित्न निकै गाह्रो छ ।’
अहिले भारतबाट आएका नागरिकलाई समाजमा हेर्ने नजर निकै फरक छ । भारतबाट आएको भन्ने बित्तिकै कोराना ल्याएर आएको सम्झने गरिन्छ । उनीहरुबाट निकै टाढा बस्नुका साथै उनको परिवारलाई समेत सामाजिक रुपमा अपहेलना गरेको पाइन्छ । क्वारेन्टिनमा प्लाष्टिकमा डल्लो पारेर भात, दाल र चिया नास्ता दिनुले पनि यो प्रमाणित गर्छ । क्वारेन्टिनमा सम्मानजनक व्यवहार नगरेको भारतबाट आएका नागरिक बताउँछन् ।
कोरोना संक्रमित स्वास्थ्यकर्मी शुक्रराज शाहीसंगै १७ जना अरु पनि कोराना जितेर घर फर्किएका छन् । उनले कोराना संक्रमित हुदाँ औषधि उपचारको चिन्ता भन्दा पनि सामाजिक रुपमा गरिने दुव्र्यवहारको बढी चिन्ता हुने गरेको बताए । हिमा गाउँपालिकाको बड्की स्वास्थ्य चौकीमा कार्यरत शाही गत जेठ ३ देखि कर्णाली प्राविधिक शिक्षालयमा रहेको एकीकृत क्वारेन्टिानमा खटिएका थिए । उनी कर्णाली प्रदेशकै पहिलो कोराना संक्रमित स्वास्थ्यकर्मी हुन् ।
कोरोना लाग्ने वित्तिकै मान्छे म¥यो वा मर्छ भन्ने मानसिकता यहाँको समाजका हाबी छ । कोरोनाको संक्रमण तेस्रो पक्षसम्म फैलिएको जानकारी पाएपछि गाउँका मान्छे मात्रै होइन स्वास्थ्यकर्मीमा समेत डर पैदा भइरहेको छ । स्वास्थ्यकर्मी शाही भन्छन्,‘ ‘कोरोना भाइरस र यसको असर नै नबुझी डराउने रहेछौँ । यो डर चिर्न अहिले आवश्यक भइसकेको छ । कोराना संक्रमितको सुचिमा परेर प्रत्यक्ष भोग्दा अनुभुति भयो ।प्राय कोराना संक्रमितको नाम सार्वजनिक गरिदैँन् । तर स्वास्थ्यकर्मी शाहीले आफै नाम सार्बजनिक गरे । देशभर कोरोना नियन्त्रणको अग्रमोर्चामा खटिएका स्वस्थ्यकर्मीको मनोबल बढाउनलाई पनि आफुले नाम सार्बजनिक गरेर कोराना विरुद्धको लडाईमा होमिएको उनी बताउँछन् ।
संक्रमित भएको पाँचौ दिनमै उनीहरु सबैको कोराना रिर्पोट नेगेटिभ आइसकेको थियोे । जुम्लाका संक्रमित अति छोटो समयमा कोरानालाई जित्नेको सुचिमा पर्छन् । उनीहरुले पाँच देखि ७ दिनको बीचमा कोरानालाई जितेर होम आइसोलेसनमा फर्किए । तर गाउँघरमा परेको छाप मेटाउन केही समय लाग्न सक्ने उनीहरु बताउँछन् ।स्वास्थ्यकर्मी शाही भन्छन्,‘मलाई सायद जेठ आठ गते तिर नै संक्रमण भएको हुनुपर्छ। मलाई त्यस्तो कुनै लक्षण देखा परेन । हामी क्वारेन्टाइनमा खटिएकाको स्वास्थ्य परीक्षण नगरिएको भए त्यसै पनि निको हुन्थ्यो कि भन्ने लागिरहेको छ !’ जतिधेरै चिन्ता उति धेरै कोरानाले संक्रमण गर्दै जाने अनुभव उनीहरुको छ ।
सामन्यतया कोरोनाका लक्षणहरु ज्वरो आउने, टाउको दुख्ने लगायतका हुन, सुख्खा खोकी लाग्ने, स्वासप्रश्वास गर्न कठिन हुनु नै हुन् । तर यी सबै लक्षण नदेखिएका संक्रमितहरु नै नेपालमा बढी छन । ‘कोरोना जित्न केही छैन। आइसोलेसनमा बस्दा औषधि केही पनि सेवन गरेनौँ । आत्मबल बलियो बनाउनतिर लाग्यौं,’ स्वास्थ्यकर्मी शाहीले थपे, ‘खानपिनमा केही ध्यान दियौं । तातोपानी बढी पियौँ, अदुवा, लसुन, पुदिना खायौं । अन्तत कोरानालाई सहजै रुपमा जितेर घर फर्कियौँ ।’ स्वास्थ्यकर्मी शाहीले आफुले यार्सागुम्बा समेत खाएको सुनाए ।
आफू संक्रमित भएर आइसोलेसनमा रहँदा पनि सेवा गर्ने मौका पाएँ । आइसोलेसनमा सबैले आत्मीयता बढायौं । ‘समाजमा कोरानालाई आतंकको रुपमा हेरिएको छ । संक्रमित अपराधी जस्ता भएका छन्,’ उनले निराश हुँदै भने, ‘संक्रमितको परिवार हुनु भनेको विभेदको शिकार हुनु हो । घरपरिवारलाई हेयको भावमा हेरिनु हो । कोराना देखिनु अपराध गर्नु सरह हो ।’ ‘अस्पताल, सरकारले हाम्रो नाम सार्वजनिक नगरे पनि गाउँघरमा हामीलाई संक्रमण भएको कुनै न कुनै माध्यमबाट थाहा भइहाल्छ । त्यसपछि विभेद सुरु हुन्छ। कोरोना लाग्नुभन्दा पनि कोरोना जितिसकेपछि पुनःस्थापित हुन गाह्रो छ,’ उनले भने।
कोरोना लाग्नु अपराध गर्नु होइन । आफ्नो शरीर कोरोना भाइरस मुक्त भइसक्दा पनि परिस्थिति सामान्य नहुनु दुःखद भएको कोराना जितेर घर फर्किएकाहरु बताउँछन् । धेरै मान्छेहरू बोल्न डराउने, अलि टाढीने गरे । हामीले जुम्लाबाट कोरोना जित्दा राज्यलाई कोरोना नियन्त्रणमा साहस जुटेको छ । यो लडाइँको अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मी साथीहरुलाई साहस मिलेको छ । कोराना जित्न सकिन्छ भन्ने,हिम्मत बटुलिएको छ । राज्यले क्वारेन्टाइनको मापदण्ड सुधार गर्न शिक्षा मिलेको छ ।
प्रकाशित: २९ जेष्ठ २०७७ ०७:३२ बिहीबार