९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

हिरासतभित्रै थुनुवा झुण्डिएको अवस्थामा फेला, प्रहरी कार्यालयमा तोडफोड

धनुषास्थित ईलाका प्रहरी कार्यालय सबैलामा थुनामा रहेका एक युवक झुन्डिएको अवस्थामा भेटिएपछि तनाव बढेको छ। सवारी मुद्दामा थुनामा रहेका सबैला नगरपालिका—१२स्थित बरकुर्वाका २२ वर्षीय सम्भु सदा बुधवार बिहान करिब दुई बजे थुनुकक्षभित्रै शौचालयमा झुण्डिएको अवस्थामा भेटिएपछि स्थानीयहरुले प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार गरेका छन्।  

शम्भुको हत्या भएको भन्दै आक्रोशित स्थानीयले लाठी, भाटासहित प्रहरी कार्यालय घेराउ गरि तोडफोड समेत गरेका छन्। इलाका प्रहरी कार्यालय सबैला र सोही परिषरमा रहेको इलाका प्रहरी कार्यालय यदुकुहाको प्रहरी भ्यानका साथै भवनको सबै झ्याल ढोका ती आक्रोशित समूहले फुटाइदिएको छ। उनीहरु ढुंगामुढा गर्दै कार्यालय भवनभित्रै प्रवेश गर्न खोजेपछि प्रहरीले अश्रुग्यास र हवाइफायर गरेको छ। प्रहरीले भीड तितरबितर पार्न हवाइफायर गर्नुपरेको प्रहरी निरीक्षक चन्द्रभुषण यादवले बताए।  

मृतक सदा उनी ट्याक्टर चालक थिए। गत जेठ १२ गते ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएपछि उनलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेर कारबाही प्रकृया अघि बढाएको थियो। उनले आत्महत्या किन गरेको वा कसैले झुन्डाइदिएको विषयमा अनुसन्धान भइरहेको प्रहरी नयाव उपरीक्षक रामेश्वर कार्कीले बताए।  

यसैबीच सबैला नगरपालिकाकै वडा नम्बर ७ का करिब २४ वर्षीय अरुणकुमार मण्डलको हत्या भएको छ। उनको छातीमा गोली प्रहार गरी हत्या गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए। उनकाअनुसार मण्डलको टाउकोमा समेत एक गोली प्रहार गरिएको छ। दुबै घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए। 

प्रकाशित: २८ जेष्ठ २०७७ ०४:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App