४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

मोटरेबल पुलको काम ४० प्रतिशत पुरा

खाल्ले र याम्खा जोड्ने साप्सु खोला पुलको पिलरको जग ढलान गरिँदै । तस्बिर : नागरिक

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने साप्सु खोलाको मोटरेबल पुलको काम ४० प्रतिशत पुरा भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने साप्सु खोलाको मोटरेबल पुलको काम करिब ४० प्रतिशत पुरा भएको हो । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणकाक्रममा लागू गरिएको लकडाउनका बेला पनि ठेकेदारले प्रिस्ट्रेस बिम पुल निर्माणको कामलाई निरन्तरता दिएको पाइएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।

ठेकेदार कम्पनी कम्पनी सुर्य एण्ड सन्स प्रालि सुनसरीले ठेक्का लिएको पुलको हालसम्म लफ्याङतर्फको पिलर ठड्याउने काम अन्तिम चरणमा पुगेको छ, भने सोमबारदेखि याम्खातर्फको पिलर ठड्याउन ढलानको काम सुरु गरेको छ । १५ जना कामदारले लकडाउनको अवधिमा पनि निरन्तर पुल निर्माणको काम गरेका छन् ।

‘लकडाउनका बेला पनि ठेकेदारले याम्खातर्फको पिलरको फाउण्डेसन खन्ने, गिटी कुट्ने, वालुवा जम्मा गर्ने लगायतका काम निरन्तर गरिरहे,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘लकडाउन अगाडि ल्याइएका सामग्री सकिएपछि लकडाउनकैबीचकमा प्रशासनको पास लिएर सिमेन्ट, रड लगायतका निर्माण सामग्री ल्याइएको छ ।’  

सुर्य एण्ड सन्स प्रालिले २०७८ साल जेठ १७ गते पुल निर्माणको काम सम्पन्न गर्नेगरी २०७६ साल जेठ १७ गते सम्झौता गरेको थियो । मुल्या अभिबृद्धि करसहित ५ करोड ६० लाख १० हजार ५४५ मा ठेक्का लिएको निर्माण कम्पनी सुर्य एण्ड सन्स प्रालिले शिलान्यास भएको ६ महिनापछि पुलको काम सुरु गरेको थियो । स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी)को प्राविधिक सहयोगमा निर्माण सुरु गरिएको ४० मिटर लम्बाई भएको पुल दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष राईले २०७६ साल असार ११ गते शिलान्यास गरेका थिए ।  

दिक्तेलबाट खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिका पुग्ने सबैभन्दा छोटो रुटमा पर्ने पुलको काम निर्धारित समयमा पुल तयार पारेर हस्तान्तरण गर्ने निर्माण कम्पनी सुर्य एण्ड सन्स प्रालिका साईड ईन्चार्ज हरिप्रसाद बरालले दाबी गरेका छन् । प्रिस्ट्रेस बिम पुल बीममा तार घुसाए तार तन्काएर तारमा लोड दिएर निर्माण गरिने प्रकृतिको पुल हो । ‘हामीले विभिन्न ठाउँमा यस्ता पुल बनाएका छौँ । अहिलेसम्म निर्धारित समयमै बनाएको रेकर्ड छ,’ निर्माण कम्पनीका ईन्जिनियर सुरेन्द्र खतिवडाले भने, ‘यो नयाँ प्रविधिको पुल हो । गुणस्तरमा पनि तलमाथि हुँदैन ।’  

विशेषगरी दिप्रुङ गाउँपालिका र खानीडाँडा बिमानस्थललाई जोड्ने गरी साप्सु खोलामा पुल निर्माणको काम अघि बढाइएको हो । सडकको बीचमा पर्ने खोलामा पक्की पुल निर्माणका लागि गाउँपालिकाले २०७४ साल कार्तिक २९ गते सडक बिभाग पाटनढोका ललितपुरमा निबेदन दिएको थियो ।

साप्सु खोलामा पक्की पुल निर्माण भएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिकाका याम्खा, टेम्मा, डाँडागाउँ, छितापोखरी, बतासे, छोरम्बु, चिप्रिङ लगायतका स्थानीयलाई साविकको सदरमुकाम दिक्तेल आउ–जाउ गर्ने सवैभन्दा छोटो बाटो खुल्ने छ । ‘पुलको काम समयमै बन्नु पर्छ । मितिमा तलमाथि गर्न दिइन्न,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘समयमा पुल बनेन भने निर्माण कम्पनीले फलामको चिउरा चपाउनुपर्ने अवस्था आउँछ ।’ 

प्रकाशित: २७ जेष्ठ २०७७ ०८:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App