६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मेलम्चीको पानी : बजेटमा आगामी साउन भित्रै, आउने सम्भावना न्यून

सरकारले आगामी आर्थिक वर्षको साउनभित्रै उपत्यकाबासीलाई मेलम्चीको पानी वितरण गर्ने आश्वासन बाँडेको छ। अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा मेलम्ची खानेपानी आयोजनाको प्राविधिक र अन्य पक्षलाई केही वास्तै नगरिकनै आयोजनाको आधारभूत निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न गरी आगामी आर्थिक वर्षको सुरुदेखि नै काठमाडौं उपत्यकामा खानेपानी वितरण गरिने घोषणा गरे।  

अर्थमन्त्रीले बजेटमा घोषणा गरे अनुसार आगामी साउन महिनाभित्रै मेलम्चीको पानी उपत्यकाबासीको धारोमा आउनुपर्ने हुन्छ। तर, प्राविधिक हिसाबले भने पानी आउने सम्भावना भने निकै न्यून देखिन्छ। सरकारले मेलम्ची आयोजनाको विषयमा झुटो आश्वासन वा बाचा गरेको यो पहिलो पटक भने होइन्। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि  चालु आवभित्रै मेलम्चीको पानी उपत्यकाबासीलाई खुवाउने घोषणा गरिएको थियो।  

जुन पुरा हुन सकेन्। खानेपानी तथा सरसफाई मन्त्री विना मगरले फागुन एक गते  मेलम्ची आयोजनाको स्वेतपत्र जारी गर्दै मेलम्चीको पानी उपत्यकामा असार मसान्त भित्रै आउने घोषणा गरेकी थिइन्।  

जुन चालु आवभित्रै आउने बाचा झुटो सावित हुने लगभग निश्चित जस्तै छ। मेलम्ची आयोजनाको अस्थायी बाँधबाट मुख्य ट्याकी सुन्दरीजलमा पानी झार्नको लागि अस्थायी बाँध (कोफर ड्याम)  डाईभर्सन गरेर सुरुमा पानी खसाल्नुपर्ने हुन्छ। अहिलेसम्म कोफर ड्यामको काम सकिएको अवस्था छ।  

सुरुङका १४ वटा गेट जडान र परीक्षण दुवै गर्नुपर्ने हुन्छ। अहिलेसम्म गेट जडान र परीक्षणको सबै काम पुरा भइसकेको छैन। सुरुङको माथिल्लो भागमा भेन्ट साफ्ट जडान (पानीमा हावा पठाउनको लागि) , अडिट सुरुङमा अनुगमन उपकरण जडान (इन्स्टुमेन्टेसन), प्यानल बोर्ड, सेन्सर, वाल बुसिङ्स ,केबल्स, सुरुङको परीक्षण तथा सञ्चालन लगायतका काम अझैसम्म सकिएको छैन। त्यतिमात्रै होइन्, नयाँ वितरण पाइपको सरसफाई, ठूला पानीको ट्यांकीको चेकिङ तथा अन्य टेस्टिङ र कमिसनिङ लगायतका सम्पूर्ण प्राविधिक काम भने बाँकी नै छ।  

आयोजनाका एक उच्च अधिकारीले साउनभित्रै मेलम्चीको पानी उपत्यकाबासीको धारोमा आउन लगभग असम्भव जस्तै भएको दावी गर्छन। ‘अहिलेसम्म दक्ष प्राविधिक नपाएर अहिलेसम्म अझैसम्म अडिट सुरुङको गेट जडान र परीक्षणको काम हुनै सकेको छैन,’ उनले भने, ‘अर्कोतर्फ टेस्टिङ र कमिसनिङ लगायतका जटिल प्रकृतिका प्राविधिक काम बाकीँ नै छ। जसले गर्दा साउनै आउने सम्भावना धेरै मुस्किल देखिन्छ।’ ति अधिकारीले सरकारले सम्पूर्ण प्रविधिक कुरा नबुझीकनै मेलम्चीको पानी आउने झुटो आश्वासन मात्रै बाँडेको दावी गरे। मेलम्चीको प्राविधिक लगायतका सम्पूर्ण काम गर्न कम्तिमा पनि तीन महिना लाग्ने देखिन्छ। जबकी सरकारले एक महिनाभित्र अर्थात साउन महिनाको सुरुवाती चरणमा नै मेलम्चीको पानी ल्याउने घोषणा गरेको छ।

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले अडिट सुरुङको गेट जडान र परीक्षणको लागि प्राविधिकको खोजी कार्य भइरहेको बताए।  ‘लकडाउनको कारणले विदेशी प्राविधिक झिकाउन सकेका छैनौं,’ उनले भने, ‘बुटबल पावर कम्पनीमा कार्यरत प्राविधिकले उक्त कार्य गर्न सक्ने भन्ने कुरा आइरहेको छ। अहिले हामी उनीहरुसँग आवश्यक सम्झौताको लागि छलफल गरिरहेका छौं।’  

कार्यकारी निर्देशक खत्रीले आयोजनाले दिएको प्रतिवेदनकै आधारमा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा आगामी आवको सुरुवाती चरणमा नै मेलम्चीको पानी उपत्यकामा वितरण गरिने योजना समावेश गरिएको दावी गरे। ‘हामीले दिएको प्रतिवेदनकै आधारमा मेलम्चीको पानी आगामी आवको सुरुवाती चरणमा नै वितरण गर्ने कार्यक्रम बजेटमा समावेश गरिएको हो,’ उनले भने, ‘यस अघिका वाचा जे जस्तो भएपनि आगामी साउनभित्रै मेलम्चीको पानी उपत्यकामा वितरण गर्ने योजना बनाएका छौं।’

कार्यकारी निर्देशक खत्री आगामी आर्थिक वर्षको सुरुवात अर्थात साउनभित्रै मेलम्चीको खानेपानी वितरण गरिने दावी  गर्छन्। ‘असारको दोस्रो साताभित्रै मेलम्चीको अस्थायीबाँधबाट सुरुङमा पानी पठाउने काम सुरु गर्नेछौं,’ उनले भने, ‘सुरुङमा एकैपटक धेरै पानी हाल्न प्राविधिक रुपले समस्या आउन सक्छ। त्यसैले सुरुङमा पानी भरिनको लागि कम्तिमा ८ देखि १० दिन लाग्नेछ। अनि खाली गर्न पनि त्यतिकै समय लाग्नेछ।’ कार्यकारी निर्देशक खत्रीले टेस्टिङ र कमिसनिङ लगायतका सम्पूर्ण प्राविधिक कुरा पुरा गरेर साउन महिनाभित्रै मेलम्चीको पानी उपत्यकाबासीलाई खुवाउने बताए। ‘हामी पनि जतिसक्दो छिटो मेलम्चीको पानी उपत्यकाबासीलाई खुवाउन तत्पर छौं , ’ उनले भने, ‘साउनको महिनाभित्रै मेलम्चीको पानी उपत्यकाबासीलाई खुवाउनेछौं।,’  

खानेपानी तथा सरसफाई मन्त्रालयका पूर्वसचिव भीमप्रसाद उपाध्याय असार महिनाभित्रै सुरुङमा पानी राखेर टेस्टिङ गरेको खण्डमा साउन महिनासम्म सुन्दरीजलसम्म पानी ल्याउन सकिने बताउँछन्। ‘लकडाउन नभएको भए अहिले मेलम्चीको लगभग काम सकिएर पानी आउने हुन्थ्यो,’ उनले भने, ‘एकाधमहिना आउन ढिलोचाँडो होला तर, मेलम्चीको पानी आउने पक्कापक्की जस्तै भइसक्यो।’ पूर्वसचिव उपाध्याय सुन्दरीजलमा आइसकेपछि पनि नयाँ पाइपबाट खानेपानी वितरणमा केही समय लाग्ने बताउँछन्।  

लकडाउनले मेलम्चीको गति ३० प्रतिशतमा झर्यो

कोभिड १९ को महामारी फैलिएसँगै मेलम्ची खानेपानी आयोजनाको कामको गतिमा सुस्तता आएको छ। एकातर्फ कामदारको अभाव,अर्कोतर्फ स्थानीय तहको अवरोधले पर्याप्तमात्रामा निर्माण सामग्री तथा उपकरण नहुँदामा काममा प्रभावित भएको आयोजनाले जनायो। आयोजनाका कार्यकारी निर्देशक खत्रीले कोभिड १९ को लकडाउनको कारणले मेलम्ची आयोजनाको गति एक तिहाई घटेको स्वीकार गर्छन्। ‘लकडाउन अघिसम्म १०० प्रतिशत काम भएको थियो। तर,अहिले ३० प्रतिशत मात्रै काम भइरहेको छ,’ उनले भने, ‘लकडाउनकै कारणले आयोजनाको काम डेढ महिना अगावै सकिने काम प्रभावित बन्यो।’ आयोजनाका कार्यकारी निर्देशक खत्रीले सुन्दरीजलमा पानी खसेपछि सुरुवाती चरणमा पुरानै वितरण प्रणालीबाट खानेपानी वितरण गरिने दावी गरे। ‘सुरुवाती चरणमा पुरानै वितरण प्रणालीबाट पानी वितरण गर्नेछौं,’ उनले भने, ‘नयाँ पाइप सरसफाई र डिसइन्फेक्सन लगायतका कार्य सकेपछि नयाँ पाइपबाट पानी वितरण गरिनेछ। ’ गत माघसम्म आयोजनामा कुल २७ अर्ब ९४ करोड खर्च भएको छ। मेलम्ची आयोजनाको बाकीँ काम पछिल्लो समय सिनो हाइडोपावरले गरिरहेको छ।  सरकारले आगामी आर्थिक वर्षको बजेटमा मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको निर्माण कार्य सुरु गर्न समेत पाँच अर्ब ४६ करोड विनियोजन गरेको छ।

 

 

प्रकाशित: २५ जेष्ठ २०७७ ११:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App