११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोना केन्द्र बन्दै दैलेख: प्रतिवद्धतापत्रमा हस्ताक्षर गराउँदै घर पठाउँदै

कर्णालीमा कोरोना पुष्टि भएका चार सय ७४ जना मध्ये तीन सय ७ जना दैलेख जिल्लाका हुन्।

दैलेख बजारमा रहेको क्वारेन्टिनबाट घर फर्किदै गरेका व्यक्तिहरू। तस्बिरः गोविन्द केसी

भारतमा रेल सेवा सञ्चालनमा आएसँगै जेठ १० गते दैलेखको नारायण नगरपालिकाका दुई सय ५८ जना नागरिकहरु भित्रिए। भारतका कोरोना प्रभावित मात्रै होइन्, सुरक्षित मानिएका प्रान्तहरुबाट आएका नागरिकहरुलाई १४ दिनसम्म नारायण क्याम्पस भवनमा राखियो। क्वारेन्टिनमा नारायण नगरपालिकाका मात्रै होइन्, दैलेखका अन्य पालिकाका नागरिकहरुका लागि ‘होल्डिङ एरिया’ का रुपमा प्रयोग गरियो।  

‘भारतबाट आएका नागरिकहरुलाई एउटै ठाउँमा नराखिएको भए अहिलेको भयावह अवस्था आउने थिएन्,’ जिल्ला अस्पतालका कोभिड–१९ फोकलपर्सन थिरप्रसाद रेग्मीले भने, ‘स्थानीय तहले सुरुमै राम्रो व्यवस्थापन गरिदिएको भए यति धेरै कोरोना संक्रमित फेला पर्ने थिएनन्।’ भारतमा रेल सेवा सञ्चालन भएसँगै नारायणकै एक हजार चार सय ३७ जना नागरिक भित्रिएका छन्। नारायण क्याम्पसको क्वारेन्टिमै रहेका एक सय ९४ जनामा कोरोना पुष्टि भइसकेको छ। सुरुमा क्वारेन्टिन बनाइएको नारायण क्याम्पसलाई अहिले संक्रमितको उपचारका लागि कोरोना विशेष अस्पताल बनाइएको छ। कोरोना संक्रमितहरु सबै सम्पर्कमा छैनन्।  

पोलिमेरीज चेन रियाक्सन (पीसीआर) का लागि स्वाब संकलन गरिएको एक सातासम्म रिपोर्ट नआउँदा क्वारेन्टिनमा राखिएकाहरुको ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरेर घर पठाइएको थियो। ‘क्वारेन्टिनमा राखिएकाहरुको पीसीआर गर्न स्वाब उपलब्ध गराएपनि समयमै नतिजा आएन्, हामीले आरडीटी गरेर रिपोर्ट नेगेटिभ आएकाहरुलाई घर पठायौं,’ उनले भने, ‘अहिले घर पठाएकैहरुको पीसीआर रिपोर्ट पोजेभिट भएको छ।’ नारायणका कोरोना संक्रमित एक सय ९४ जना मध्ये ८७ जना घर पुगिसकेका छन्। ‘बाँकीलाई सम्पर्कमा ल्याउँदैछौं,’ रेग्मीले भने, ‘यहाँ (दैलेख)को अवस्था भयावह छ।’

नारायणको जस्तै अवस्था दुल्लु नगरपालिकाको पनि छ। यहाँ शुक्रबारसम्म ३८ जना संक्रमित फेला परेका छन्। एक जनाको क्वारेन्टिनमै मृत्यु भइसकेको छ। ‘भारतबाट दुई साताको अवधिमा २३ सय नागरिकहरु आउनु भएको छ, ठाउँ अभावमा एउटै कोठामा धेरै जनालाई राख्नुपर्ने बाध्यता छ,’ मेयर घनश्याम भण्डारीले भने, ‘यसले कोरोना नियन्त्रण भन्दा फैलिनेक्रम बढेको छ।’ कोरोना संक्रमित बढ्दै गएपनि उनीहरुको उपचारका लागि राख्ने ठाउँ अभाव छ। दुल्लु नगरपालिकाले कोरोना संक्रमितहरुका लागि दुल्लु कोरोना अस्पताल निर्माण गरेको थियो। ‘यसको क्षमता ३० जनाका लागि हो, अहिलेनै ३८ जना पुगिसके,’ उनले भने, ‘यहाँको मात्रै होइन्, समग्र दैलेखको अवस्था भयावह बन्दै गएको छ।’ कर्णालीमा हालसम्म चार सय ८९ जना कोरोना संक्रमित फेला परेका छन्। ति मध्ये ३०७ जना दैलेखका हुन्।

कर्णालीमा कोरोना पुष्टि भएका चार सय ७४ जना मध्ये तीन सय ७ जना दैलेख जिल्लाका हुन्।

दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल क्वारेन्टिनको फितलो व्यवस्थापनले कोरोना संक्रमित बढेको बताए। ‘स्वास्थ्य जाँचबिनै एउटै कोठामा कोचेर राख्दा संक्रमण फैलिएको देखिन्छ,’ उनले भने, ‘चेकजाँच र भारतबाट आएकाहरुको उचित व्यवस्थापन गर्न नसकेमा अझ ठुलो भयावह अवस्था आउन सक्छ।’ जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार तीन साताको अवधिका भारतबाट १० हजार सात सय नागरिकहरु भित्रिएका छन्।  

संक्रमित बढ्दै, चिकित्सक अभाव

दैलेखमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा चिकित्सकको अभाव हुन थालेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पठाएका एक चिकित्सकसहित दैलेख जिल्लाभरी नौ जना चिकित्सक छन्। ति मध्ये चार जना चिकित्सकहरु आइसोलेसन र सेल्फ क्वारेन्टिनमा छन्। जिल्ला अस्पतालका अनुसार दुल्लु अस्पतालमा उपचारका लागि आएकी एक जना गर्भवती महिलामा कोरोना संक्रमण देखिएपछि त्यहाँ कार्यरत दुई जना चिकित्सक आइसोलेसनमा बसेका छन्।

यस्तै जिल्ला अस्पतालमा आएका एक जना विरामीमा पनि कोरोना पोजेटिभ देखिएपछि अस्पताल शील गर्नुका साथै उपचारमा संलग्न दुई जना चिकित्सकसहित स्वास्थ्यकर्मीहरु आइसोलेसनमा छन्।  नौमुलेका अर्का एक चिकित्सकलाई सेल्फ क्वारेन्टिनमा राखिएको छ। ‘दैलेखमा रहेका नौ जना चिकित्सक मध्ये चार जना आइसोलेसन र सेल्फ क्वारेन्टिनमा हुनुहुन्छ,’ उनले भने, ‘पाँच जना चिकित्सकले तीन सय बढी कोरोना संक्रमितको उपचार संभव छैन्।’

प्रतिवद्धतापत्रका हस्ताक्षर गराउँदै, घर पठाउँदै

भारतबाट आउनेको संख्या बढ्दै गएर व्यवस्थापनमा समस्या हुन थालेपछि स्थानीय तहले आरडीटी परीक्षण गर्दै रिपोर्ट नेगेटिभ आएकाहरुलाई प्रतिवद्धतापत्रमा हस्ताक्षर गराएर घर पठाउन थालेका छन्। दैलेखको नारायण नगरपालिकाले ‘म होम क्वारेन्टिनको मापदण्ड पुरा गरेर घरमा सुरक्षित बस्नेछु, निश्चित अवधि पुरा नहुँदासम्म कसैसँग पनि भेटघाट र घुरफिर गर्नेछैन्’ व्यवहोराको प्रतिवद्धतापत्रमा हस्ताक्षर गराएर घर पठाउने गरेको छ।  

नगरप्रमुख रत्नबहादुर खड्काले क्वारेन्टिनबाट घर पठाइए पनि उनीहरुलाई सुरक्षित रहने गरी कसम नै खुवाएर मात्र पठाउने गरिएको बताए। ‘भारतबाट फर्किएका सबैको पीसीआर परीक्षण संभव देखिएन्’, खड्काले भने, ‘विपद् व्यवस्थापन समितिको परिपत्र अनुसार १० दिनसम्म क्वारेन्टिनमा बसेकालाई आरडीटी जाँच गर्ने र रिपोर्ट नेगेटिभ आएका सबैलाई लिखित प्रतिवद्धतापत्रमा हस्ताक्षर गराएर घर पठाउने गरेका छौं।’यसरी प्रतिवद्धतापत्रमा हस्ताक्षर गराएर पठाएकाहरुलाई सम्वन्धीत वडाका जनप्रतिनिधिले पनि अनुगमन गर्नेछन्।

दुई पालिकामा निषेधाज्ञा

कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि जिल्ला प्रशासन कार्यालय दैलेखले नारायण र दुल्लु नगरपालिकामा निषेधाज्ञा जारी गरेको छ। प्रशासनले शुक्रबार साँझ छ बजेदेखि अर्को सुचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।  

‘अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवास्थलहरु शुक्रबारदेखि अर्को आदेश नभएसम्मका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) तथा संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारी गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले भने, ‘उलंघन गर्नेलाई कानुन अनुसार कारवाही गछौं।’

नारायण नगरपालिकाको पूर्वमा लोहोरे खोला, पश्चिममा छामगाढ भीरखेत, उत्तरमा छान्ना र दक्षिणमा चुप्रा बजारभित्र तथा दुल्लु नगरपालिकाको पूर्वमा माथिल्लो डुंगेश्वर चुप्रा शिरस्थान, पश्चिममा पादुकाखोला कर्णाली राजमार्ग, उत्तरमा भैरवी गाउँपालिका र दक्षिणमा तल्लो डुङ्गेश्वरभित्र निषेधाज्ञा जारी गरिएको हो।

एकै दिन १०० जना थपिए

कर्णालीमा तीन जना सुरक्षाकर्मीसहित एकै दिन १०० जना थप कोरोना संक्रमित भेटिएका छन्। कर्णाली प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा शुक्रबार एकै दिन एक सय जना कोरोना संक्रमित फेला परेका हुन्। योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या चार सय ८९ पुगेको छ। ति मध्ये कर्णालीका चार सय ७४ जजना छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआरका क्रममा ९७ जना र सुर्खेतमा गरिएको परीक्षणमा तीन जनाको रिपोर्ट पोजेटिभ आएको हो। नयाँ थपिएका मध्ये दोलखा जिल्लाको तामाकोशी गाउँपालिका–५ का २५ वर्षीय युवक, रामेछापको दोरम्वा गाउँपालिका–२ का २३ वर्षीय युवक र गोरखाको आरुघाट गाउँपालिका–२ का २५ वर्षीय युवक सुरक्षाकर्मी हुन्। उनीहरु तीनै जना जुम्ला जिल्लामा कार्यरत छन्। सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार शुक्रबार दैलेखका ९१, जुम्लाका तीन, सुर्खेत, जाजरकोट र हुम्लाका एक–एक जनामा कोरोना पुष्टि भएको हो।

कहाँ कति संक्रमित

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा कोरोना संक्रमितको संख्या चार सय ८९ जना पुगेको छ। ति मध्ये चार सय ७४ जना  कर्णालीका नागरिक हुन्। कर्णालीका १० जिल्ला मध्ये कोरोना संक्रमण आठ जिल्लामा पुगेको छ। स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. तिवारीका अनुसार डोल्पा र रुकुममा मात्रै कोरोना संक्रमित फेला परेका छैनन्।

मन्त्रालयको तथ्याङ्क अनुसार दैलेखमा ३०७, सुर्खेतमा ६३, सल्यानमा ५३, कालिकोटमा २५, जुम्लामा २२, मुगुमा दुई र हुम्ला र जाजरकोटमा एक–एक जना कोरोना संक्रमित फेला परेका छन्। यस्तै अछामका १०, बाजुरा, बझाङ, गोरखा, दोलखा र रामेछापका एक–एक जनामा पनि कोरोना पुष्टि भएको छ।

प्रकाशित: २३ जेष्ठ २०७७ १४:३८ शुक्रबार

कोरोनाभाइरस कोरोना सङ्क्रमण