२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सबै वडामा स्वास्थ्य चौकी बनाउँदै बाह्रदशी

झापा, बाह्रदशी गाउँपालिका–७ स्थित डाँडागाउँमा स्वास्थ्यचौकी निर्माण शुरु भएसँगै त्यस क्षेत्रका स्थानीयवासी हर्षित बनेका छन्। यसअघि स्थानीयवासी कनकाई नगरपालिकामा रहेको सुरुङ्गा  प्राथमिक स्वास्थ्य चौकी जाने गरेका थिए। गाउँपालिका–७ स्थित डाँगीवारीमा स्वास्थ्यचौकी रहे पनि विरिङ खोलाका कारण त्यस क्षेत्रका सर्वसाधारण सामान्य उपचारका लागिसमेत  कनकाई नगरपालिका धाउन बाध्य थिए। स्थानीय समाजसेवी डम्बरबहादुर निरौलाको स्मृतिमा उनको परिवारले आधारभूत स्वास्थ्य चौकी निर्माणका लागि डेढ कट्ठा जमिन प्रदान गरेपछि डाँडागाउँमा स्वास्थ्यचौकी निर्माण थालिएको स्थानीयवासी भीम बस्नेतले जानकारी दिए।  

एकचालीस लाख ५५ हजार ९२९ रुपैयाँ २८ पैसाको लागतमा निर्माण शुरु गरिएको हो।   गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले  आज सो स्वास्थ्यचौकीको शिलान्यास गर्दै  प्रत्येक वडामा स्वाथ्यचौकी निर्माण गर्दै सहजरुपमा स्वास्थ्य सेवा प्रदान गर्न गाउँपालिका लागिपरेको जानकारी दिए।  वडा नं १ स्थित भागुडुब्बा र बाह्रदशी–७ स्थित डाँडागाउँमा एकैपटक  स्वास्थ्यचौकी निर्माण शुरु गरिएको छ। यसअघि बाह्रदशी–६ मा स्वास्थ्यचौकी निर्माण भइसकेको छ भने वडा नं ५ मा पनि  निर्माण भइरहेको जनाइएको छ।  

विसं २०७७ पुस ९ गते निर्माण सम्पन्न गर्ने गरी समता/नेपाल पूर्वाधार जेभी बिर्तामोडले भवन निर्माणको काम शुरु गरेको छ। आफ्नै ठाउँमा स्वास्थ्य चौकी बन्दा बुढेसकालमा सहजता हुने भन्दै आफूले स्वास्थ्य चौकी निर्माणका लागि जमिन प्रदान गरेको बुद्धिमाया निरौलाले बताइन्।  गाउँपालिका वडा नं ७ लाई विरिङ खोलाले दुई भागमा विभाजन गरेपछि डाँडागाउँका सर्वसाधारण कनकाई नगरपालिकाको सुरुङ्गासम्म स्वास्थ्य सेवा र अन्य कामका लागि जाने गरेका छन्। गाउँपालिकाका अध्यक्ष राजवंशीको विशेष पहलमा सङ्घीय सरकारमार्फत बजेटको व्यवस्थापन गर्दै स्वास्थ्य चौकी निर्माण शुरु भएसँगै त्यस ठाउँका नागरिकले अब आफ्नै ठाउँमा स्वास्थ्य सेवा लिन सक्ने बाह्रदशी गाउँपालिका–७ का वडाध्यक्ष मित्र भट्टराईले जानकारी दिए।  

लकडाउन जारी रहँदा पनि आफ्नो ठाउँको विकास निर्माणका काममा गाउँपालिकाले विशेष पहल गरिरहेको भन्दै त्यस क्षेत्रका स्थानीयवासीले सहयोग पुर्‍याउँदै आएका छन्। गाउँपालिकामा अहिले विकास निर्माणका कामले तीव्रता पाएको छ। 

प्रकाशित: १९ जेष्ठ २०७७ ११:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App