३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

घोषणा पत्रमा नलेखिएको काममा जनप्रतिनिधि

कोरोना कहर

बाहिर जिल्लाबाट रोल्पा आएकालाई ब्यबस्थापन गर्दै नगर प्रमुख पुर्ण केसी । तस्बिरःदिनेश/नागरिक

चुनावी घोषणा पत्रमा कतै उल्लेख नगरिएको काममा दैनिक खटिनु पर्दा यहाँ जनप्रतिनिधिहरु दिक्क बनेका छन् । हिजो मतदातासंग भोट माग्दा अनि बार्षिक योजना तर्जुमा गर्दा कतै उल्लेख नै नगरिएको बिषयमा खर्चसहित खटिनु पर्दा उनीहरुलाई सकस भएको हो । चुनाब ताका न कोरोना थियो न त महामारी।

हरेक बर्ष योजना बनाउदा पनि सुनसान नै थियो । एकाएक बिश्वभर फैलिएको महामारी संक्रमण रोकथामका लागि ठूलो मात्रामा खर्च गर्नु परे पछि स्थानीय तहका जनप्रतिनिधि अलमलिएका हुन् । यतिबेला कोरोना कहर जनप्रतिनिधिका लागि फलामको च्युरा बनेको छ ।  

बाहिरी जिल्ला तथा भारतवाट आफ्नो क्षेत्रका स्थानीयलाई घरसम्म ल्याउने, १४ दिन क्वारेन्टिनमा खानासहितको बास अनि घर सम्म पठाउदा नै ठूलो खर्च बोकेका उनीहरु स्वास्थ्य ब्यबस्थापनमा पनि खर्चिलो बनेका छन् । आर्थिक बर्ष अन्तिम चरणमा छ । लकडाउनका कारण स्थानीय तह र अन्य सरकारी कार्यालयहरुले खुलेर काम गर्न पाएका छैनन् । जनताको अपेक्षा अनुसार काम गर्ने मनस्थितिमा रहेका जनप्रतिनिधिहरु कोरोना कहरमा रुमलिएपछि समस्या झनै थपिएको हो ।

‘अहिले आएको कोरोना महामारी बिश्व ब्यापी समस्या हो । यो बिषयमा हामीले न घोषणा पत्रमा चर्चा गरेका थियौ न त बार्षिक कार्यक्रममा नै कतै समाबेश छ । एकाएक आएको समस्याले नियमित कार्य प्रभाबित पार्नु स्वभाबिक हो ।’ रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसी भन्छन् ‘जे जति गरेका छौ सहज ढंगले राम्रै गर्ने प्रयास गरेका छौ ।’ उनी जस्तै त्रीबेणी गाउँपालिकाका प्रमुख शान्तकुमार वली पनि घोषणा पत्रमा र बार्षिक कार्यक्रममा कतै चर्चा समेत नगरेको बिषयमा काम गर्नु पर्दा अलि असजिलो भएको बताउछन् ।

कोरोना कहरका बिचमा खर्चिलो ब्यबस्थापनमा लागेका जनप्रतिनिधि संघीय सरकार र प्रदेश सरकारसंग सन्तुष्ट पनि छैनन् । सुनिलस्मृती गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्ती कोरोनाले सबै अस्तब्यस्त बनाएको बताउछन् । घोषणा पत्र र बार्षिक कार्यक्रममा समाबेश नभएको अकल्पनीय काममा रकम खर्चिर्नु पर्दा उनी पनि दिक्क छन् । ‘सर्बसाधारणमा स्थानीय तहमा टन्नै पैसा छ भन्ने धारणा छ तर संघले एक रुपैया दिएको छैन प्रदेशले १० लाख दिएको छ । स्थानीय तहहरु आर्थिक मारमा परेका छौ ।’ घर्ती भन्छन् ‘नयाँ काम गर्न त पाइएन पाइएन पुराना कार्यक्रम पनि सम्पन्न गर्न नसकिने अबस्था आयो ।’  

यतिबेला देश नै कोरोना महामारीसंग लडिरहेको छ । संचार माध्यममा दैनिक सुनिने कोरोनाका सवालमा जति स्थानयि तहहरु मरिमेटेर लागेका छन त्यति संघीय र प्रदेश सरकार सकृय रुपमा नलागेको गुनासो आउन थालेको छ । संघीय सरकारको कोरोना नियन्त्रण कोषमा जम्मा भएको अरब बढि रकम थन्किएको अबस्थामा स्थानीय सरकारलाई खर्च जुटाउन हम्मे हम्मे परिरहेको छ ।

प्रकाशित: १८ जेष्ठ २०७७ १४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App