१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

कोरोना संक्रमणको जोखिम, क्वारेन्टिन बसेकालाई घरबाटै खाना

घोराही उपमहानगरपालिका वडा नम्बर २ रामपुरकी बिन्ती शाहका भाई तीन दिन देखि क्वारेन्टिनमा छन् । भारतबाट केहि दिन अघि आएका भाईलाई साँझ बिहान खाना पुर्याउन बिन्ती आँफै क्वारेन्टिन पुग्छिन् । क्वारेन्टिनमा रहेका भाई सहित अन्य नागरिकको त्रासमा हुन्छिन् उनी ।  ‘घरबाटै खाना बोकेर जान्छु,’ उनले भनिन् ‘क्वारेन्टिनमा बसेका मान्छेहरूका कारण डर त लाग्छ नि, तर भाईलाई भोकै मर्न पनि दिनु भएन ।’ घोराही २ रामपुरमा रहेको गंगा माविमा रहेको यो क्वारेन्टिन स्थानीय तहले सञ्चालनमा ल्याएको हो । 

भारतीय सीमा क्षेत्रमा रोकिएका नागरिकहरूलाई भित्र्याउने र उनीहरूलाई सुरक्षित रुपमा राख्नका लागि वडा कार्यालयले यो क्वारेन्टिन सञ्चालनमा ल्याएको हो । क्वारेन्टिनमा रहेकाहरू कसैलाई पनि खानाको व्यवस्थापन भने भएको छैन । क्वारेन्टिनमा रहेका नागरिकका परिवारले नै साँझ विहान खाना बोकेर पुग्ने गरेका छन् । यसले क्वारेन्टिनबाटै कोरोना संक्रमणको खतरा झनै निम्त्याई दिएको छ । ‘खाना लगाएत साबुन पनि पठाईदिने गरेका छौँ,’ बिन्तीले भनिन् ‘सामान बोकेर भित्र जानु पर्यो, साह्रै डर लाग्छ ।’

रामपुर सुर्केडाँगीका सुनिल सुवेदीका भाई पनि रामपुर क्वारेन्टिनमा चार दिन देखि बसिरहेका छन् । भारतको मुम्बईबाट दाङ आईपुगेका सुवेदीका भाईका लागि पनि घरबाटै खाना पुर्याईदिनु पर्छ । साँझ विहान खाना बोकेर क्वारेन्टिन छिर्ने सुवेदीको परिवारलाई पनि कोरोना संक्रमणको त्रास बढिरहेको छ । ‘खाना बोकेर भित्र जार्नु पर्छ, यस्तो त्रासको बेलामा कोरोनाको संक्रमण हुने होकि भन्ने झनै डर लाग्छ,’ उनले भने ‘तर वडाले खानपानको व्यवस्थापन नगरिदिएपछि घरबाटै खाना पुर्याउनु पर्ने बाध्यता छ ।’ क्वारेन्टिनमा रहेकाहरूलाई उनीहरूको परिवारका सदस्यलेनै खाना पुर्याउनु पर्ने भएपछि स्थानीयमा कोरोना संक्रमणको त्रास बढेको छ । 

स्थानीयहरूले सरकारले नै खानपानको व्यवस्थापन गरिदिएर उनीहरूसंगको सम्पर्कमा कोहि पनि पुग्न नपाउने वातावरण तयार गर्नु पर्ने वताउँछन् । ‘अहिले क्वारेन्टिनमा भारतका विभिन्न स्थानबाट आएका नागरिकहरू बसिरहेका छन्, उनीहरूलाई परिवारका सदस्यले खाना पुर्याउन क्वारेन्टिन जानु पर्ने बाध्यता रहेको छ,’ रामपुरका एक स्थानीयले भने ‘उनीहरू क्वारेन्टिनमा आउजाउ गर्नाले कोरोना संक्रमणको जोखिम झनै बढेको छ,सरकारले नै क्वारेन्टिनभित्रै खानपानको व्यवस्थापन गरिदिए स्थानीयहरू सुरक्षित रुपमा बस्न पाउने थियौँ ।’

क्वारेन्टिनमा रहेका नागरिकका आफन्तीहरूले टपरी तथा प्लाष्टिकका भाँडामा खाना पुर्याउने गरेका छन् । यसैगरि उनीहरूले टाढै रहेर खाना छोडिदिने र क्वारेन्टिनमा रहेकाहरूले पछि खाना लिने गरेका छन् । तथापी क्वारेन्टिन आउजाउका कारण कोरोना संक्रमणको भने जोखिम रहने घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेले वताए । ‘प्लाष्टिक तथा टपरीमा खान पुर्याउन परिवारका सदस्यहरू आउनुहुन्छ,’ वडा अध्यक्ष पाण्डेले भने ‘भुईमा खाना छोडेर उहाँहरू बाहिर निस्कनु हुन्छ, तैपनि क्वारेन्टिनमा आउजाउ हुने र भीडभाड हुने भएकाले संक्रमणको जोखिम त रहन्छ नै ।’ 

घोराही उपमहानगरपालिकाले नै खानपानको व्यवस्थापन गरिदिनु पर्ने भएपनि त्यसो हुन नसकेको पाण्डेको भनाई छ । परिवारका सदस्यलेनै खाना पुर्याउन क्वारेन्टिन पुग्दा संक्रमणको जोखिम रहने भन्दै पाण्डेले आफ्नै व्यवस्थापनमा क्वारेन्टिन भित्रै खानाको मेस चलाउन थालेका छन् । ‘परिवारका सदस्यहरूनै खाना बोकेर आउनु पर्ने भएकाले अलिकती असहज अवस्था आउने होकि भन्ने लाग्यो, तर उपमहानगरले यसबारेमा कुनै निर्णय लिएन,’ पाण्डेले भने ‘सम्भावित खतरा टार्नका लागि पनि मैले आफ्नै व्यवस्थापनमा मेस सञ्चालन गरिदिएको छु ।’ मेसमा खाना पकाउनका लागि उनले केहि जनशक्ति खटाएका छन् ।

यता घोराही उपमहानगरपालिकाले केहि क्वारेन्टिनमा भित्रै खानपानका लागि मेस चलाएको भएपनि केहिमा भने परिवारका सदस्यले नै खाना पुर्याईदिने गरेको वताउँछ । तर खाना पुर्याउँदा संक्रमणको कुनै जोखिम नरहने गरि व्यवस्थापन गरिएको उपमहानगरको दाबी छ । ‘परिवारका सदस्यहरूले खाना क्वारेन्टिनमै पुर्याउँदा संक्रमणको कुनै खतरा हुन नपाउने गरि व्यवस्थापन मिलाएका छौँ,’ उपमहानगरका प्रवक्ता तथा वडा नम्बर १८ का वडा अध्यक्ष भरत अर्यालले भने ‘परिवारका सदस्य र क्वारेन्टिनमा बसेकाहरू विच सम्पर्क नहुने गरि व्यवस्थापन गरिएको छ ।’ सालको पातको टपरीमा मात्रै खाना पुर्याईदिने व्यवस्था मिलाईएको भन्दै आफ्नो वडाको बारेमा जानकारी दिँदै उनले थपे ‘टाढै खाना छोडेर परिवारका सदस्यहरू फिर्ता हुनुहुन्छ, अनि भित्र बसेकाहरू आएर खाना लैजानु हुन्छ, अनि खाना खाईसकेपछि टपरी क्वारेन्टिनमा बसेकाहरूले नै जमिनमा गाड्ने गर्नुहुन्छ ।’

अहिले घोराही उपमहानगरपालिकाका प्रत्यक वडामा राखिएका क्वारेन्टिनमा झण्डै सात सय नागरिक बस्दै आएका छन् । उनीहरू अधिकांश भारतबाट आएका हुन् । यता राज्य पक्षले नै क्वारेन्टिनमा बसेकाहरूलाई खानपानको व्यवस्थापन गरिदिनु पर्ने आवाज उठिरहेको छ । क्वारेन्टिनमै खाना पुर्याउनु जानुले समाजमा कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै पत्रकार बसुन्धरा गौतमले भनिन् ‘सरकारले उनीहरूको खानपानका लागि लगानी किन गर्न नसक्ने ? समाजलाई थप असुरक्षित बनाउनु भन्दा राज्यले सजगता अपनाउनु पर्ने हो तर त्यो देखिएन ।’

यसैगरि उपमहनगरपालिका अन्तर्गत बनाईएका क्वारेन्टिनहरू बस्नका लागि असुविधा रहेको भन्दै बिरोध भैरहेको छ । एउटै कोठामा धेरै जनालाई कोचेर राख्ने गरिएका कारण पनि संक्रमणको खतरा निकै रहेको स्थानीयहरू बताउँछन् । यसैगरि अहिलेको प्रचण्ड गर्मिमा केहि क्वारेन्टिनमा उनीहरूलाई टिनको छानो रहेका भवनमा राखिएको छ । 

प्रकाशित: १२ जेष्ठ २०७७ १४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App