४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

बस्तीबीचमा क्वारेन्टिन बनाउन थालेपछि आन्दोलन

भेरीगंगा नगरपालिकामा बस्तीको बीचमा क्वारेन्टिन स्थापना गर्न लागिएको भन्दै आन्दोलनमा उत्रिएका स्थानीयहरु । नगेन्द्र उपाध्याय / नागरिक

कर्णाली प्रदेश सरकारले भेरीगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र छिन्चु आसपासमा क्वारेन्टिन र स्क्रिनिङ सेन्टर स्थापना गर्ने निर्णय गरेपछि स्थानीयले आन्दोलन गरेका छन् । प्रदेश सरकारले भेरीगंगा नगरपालिकाको मदानेचौर, मेला लाग्ने चौर र शारदा माविमा क्वारेन्टिन र स्वास्थ्य चौकीमा स्क्रिनिङ सेन्टर स्थापना गर्ने निर्णय गरेको थियो । प्रदेश सरकारको निर्णयसँगै नेपाली सेनाले उल्लेखित ठाउँमा क्वारेन्टिन निर्माणको काम सुरु गरेको छ ।  

स्थानीय तिर्था वादीले बस्तीको बीचमा भारतबाट आएका नागरिकहरु राख्नका लागि क्वारेन्टिन  स्थापना गर्न लागिएकाले आफुहरु आन्दोलित भएको बताइन् । ‘कोरोनाको त्रास हामीलाई पनि छ, बस्तीको बीचमा भारतबाट आएका नागरिकहरुलाई राख्न दिँदौनौं,’ उनले भनिन्, ‘प्रदेश सरकारले आफ्नो निर्णय तत्काल सच्याउनुपर्छ ।’

स्थानीयहरुको विरोधका कारण मदानेचौरमा सेनाले बनाउँदै गरेको क्वारेन्टिनको काम स्थगित भएको छ । एक सय बेडको क्वारेन्टिन  निर्माण गर्न लागेको सेनाले स्थानीयको विरोधका कारण दुई वटा मात्रै टेन्ट स्थापना गरेको छ । आन्दोलनमा उत्रिएका स्थानीयहरु कोरोनाले भन्दा सेनाको गोलीले आफुहरु मर्न तयार रहेको बताउँछन् । ‘कोरोना त्रासले हाम्रा आफन्तहरु भारतमा छन्, अरु ठाउँका मानिसहरुलाई बस्तीको बीचमा हामी राख्न दिँदैनौं,’ उनले भनिन्, ‘कोरोना संक्रमणले मर्नुभन्दा बरु सेनाको गोली खाएर मर्न तयार छौं ।’

स्थानीय लालमति विकले कोरोना संक्रमण भएका जिल्ला र भारतबाट आएका आफन्तलाईसमेत बस्न नदिइरहेको बेला भारतबाट आउने प्रदेशभरीका नागरिकहरुलाई सरकारले बस्तीको बीचमा राख्न खोजेको आरोप लगाइन् । स्थानीयहरु प्रदेशको मुख्य नाका बबई अथवा मानव बस्ती नभएको एकान्त ठाउँमा क्वारेन्टाइन स्थापना गर्नुपर्ने बताउँछन् । स्थानीयहरुले क्वारेन्टाइन स्थापनाका लागि छिन्चु बजार नजिकैको जनजागृति सामुदायिक वन र रामजानकी सामुदायिक वन उपभोक्ता समूहको जमिन आफूहरु दिन तयार रहेको बताउँदै आएका छन् ।  

‘हामी विकल्पसहित आन्दोलनमा उत्रिएका छौं,’ कल्पना नेपालीले भनिन्, ‘बस्तीको बीचमा भने कुनैपनि हालतमा हामी क्वारेन्टिन  राख्न दिँदैनौं ।’ कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, सामाजिक विकास मन्त्री दल रावल, चार वटै सुरक्षा अंगका प्रदेश प्रमुख सम्मिलित अनुगमन समितिले भेरीगंगा नगरपालिका–१० मदानेचौर, वडा नं. १२ को मेलालाग्ने चौर र शारदा माविमा क्वारेन्टिन  र नगरपालिकाको कार्यालयसँगै जाडिएको स्वास्थ्य चौकीमा स्क्रिनिङ सेन्टर स्थापना गर्ने निर्णय गरेको थियो ।  

भारतमा रेल सेवा सुरु भएसँगै कर्णालीका नागरिकहरु घर फर्कनेक्रम सुरु भएको छ । तीन दिनको अवधिमा छ सयबढी नागरिकहरु कर्णाली प्रवेश गरेका छन् । एक साताको अवधिमा २५ देखि ३० हजार कर्णालीबासीहरु आउने अनुमान प्रदेश सरकारले गरेको छ । भारतबाट आउने नागरिकहरुलाई मदानेचौर, मेलालाग्ने चौर र शारदा माविमा राखेर उनीहरुको स्वास्थ्य परीक्षण गर्ने र त्यसैका आधारमा सम्वन्धीत पालिकाहरुमा पठाउने तयारी प्रदेश सरकारको थियो ।

प्रकाशित: ६ जेष्ठ २०७७ १२:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App